आइएनजी इम्प्याक्ट पब्लिकेसनद्वारा झापामा विद्यार्थी र अभिभावक ठगिँदै

0
2

झापा, झापाका पुस्तक तथा स्टेसनरी व्यवसायीहरूले विद्यालय तहका पाठ्यपुस्तक बिक्री वितरणमा भइरहेको मनपरीप्रति कडा आपत्ति जनाएका छन्। झापा पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घले आइएनजी इम्प्याक्ट पब्लिकेसन, काठमाडौंद्वारा प्रकाशित पाठ्यपुस्तकहरू न्यूनतम व्यावसायिक सुविधा समेत नपुग्ने गरी स्थानीय अधिकृत विक्रेतामार्फत बिक्री गरिएको भन्दै यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको हो।

सङ्घले विज्ञप्ति जारी गर्दै यस्तो कार्यले स्थापित व्यवसायिक अभ्यास, सरकारद्वारा निर्धारण गरिएको न्यूनतम मापदण्ड तथा बजार प्रणालीको ठाडै उल्लङ्घन गरेको ठहर गरेको छ। “दशकौँदेखि कायम रहेको पुस्तक व्यवसायको मान्यता र मर्यादाविपरीत यस्तो अव्यवस्थित बिक्री वितरण अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ।

सङ्घले स्पष्ट चेतावनी दिँदै २४ घण्टाभित्र बिक्री प्रणाली सुधार नगरे झापाभरका व्यवसायीले उक्त प्रकाशनका पाठ्यपुस्तक बिक्री वितरण पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ। साथै, निर्णयविपरीत कसैले पनि बिक्री गरेमा सङ्घको आचारसंहिता अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

यसैबीच, केही विद्यालयहरूमा समेत उक्त प्रकाशनका पुस्तकहरू जबर्जस्ती प्रवर्द्धन गरिएको गुनासो आएको भन्दै सङ्घले स्थानीय तहलाई समेत सक्रिय अनुगमन गर्न आग्रह गरेको छ। गैरकानुनी गतिविधिमा संलग्न विद्यालयमाथि कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायलाई सङ्घले दबाब दिएको छ।

विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क असुल्ने तथा QR कोडमार्फत रकम उठाउने जस्ता गतिविधि उपभोक्तामाथिको ठाडो शोषण भएको भन्दै सङ्घले यसको पनि कडा विरोध गरेको छ।

सङ्घका अध्यक्ष विनोद सापकोटा र सचिव चूडामणि घिमिरे द्वारा जारी विज्ञप्तिमा व्यवसायीको अधिकार, सम्मान र दीर्घकालीन व्यवसायिक मर्यादामाथि प्रत्यक्ष प्रहार हुने कुनै पनि कदम सह्य नहुने उल्लेख गरिएको छ। सङ्घले सम्बन्धित सबै पक्षलाई तत्काल निर्णय सच्याएर व्यवस्थित, पारदर्शी र मर्यादित व्यवसायिक वातावरण कायम गर्न कडा आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here