तराईमा आठ दशमलव ५२ प्रतिशतले महँगी बढ्यो

0
303

काठमाडौँ, 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२ प्रतिशत बराबरको मूल्य वृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा सात दशमलव ५६ प्रतिशत, तराईमा आठ दशमलव ५२ प्रतिशत, पहाडमा आठ दशमलव शून्य तीन प्रतिशत र हिमालमा छ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

विसं २०७८ कात्तिक महिनामा यी क्षेत्रमा क्रमश: छ दशमलव १४ प्रतिशत, पाँच दशमलव ४२ प्रतिशत, सात दशमलव १४ प्रतिशत र पाँच प्रतिशत मुद्रास्फीति रहेको थियो ।

विसं २०७९ को कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव शून्य आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव शून्य चार प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५ दशमलव ९७ प्रतिशत, सूर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव १९ प्रतिशत र मदिराजन्य पेयपदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलव ७१ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशत, घरायसी उपयोगका वस्तुको आठ दशमलव ४९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको आठ दशमलव ३३ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here