परिवर्तनको अनुभूति कहिले !

0
211

दल गठन गरेर राजनीतिमा आएका पूर्व सञ्चारकर्मी रवि लामिछाने अहिले दल र जनताको केन्द्रमा छन् । दर्ता गरेको छ महिना पनि नहुँदै आम निर्वाचनमा सहभागी भएको उनी नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेर थ्रेस होल्ड समेत कटाएर अरु सात जनालाई प्रतिनिधिसभामा दर्बिलो उपस्थिति जनाएको छ । राजनीतिक क्षेत्रमा इतिहास निर्माण गरेको उनी र उनको दलबिरुद्ध ठूला दलहरु ‘न्वारनदेखिको बल’ लगाएर प्रतिरोध गर्न उभिए पनि उसको बेगलाई रोक्न असमर्थ भए । अझ उनी आफूले सर्वाधिक ठूलो मतान्तरले विजय प्राप्त गर्ने इतिहास रचेका कारण पुरातन र परम्परावादी शक्तिहरु अझै उनकै पछि लागेका छन् ।
पटक–पटक कानूनी अडचन लगाउने प्रयास बिफल पार्दै निर्वाचन लडेर जितेका लामिछानेबिरुद्ध युवराज पौडेल, रविराज बसौला र नानीबाबु खत्रीले रिट दर्ता गराएका छन् । अहिलेसम्मका गतिविधिलाई मध्यनजर गर्दा निवेदकहरु माध्यम मात्र हुन सक्ने अनुमान गर्न सकिन्छ । उनीहरुले दायर गरेको रिटमा लामिछानेलाई सांसद पदको शपथ लिन रोक्न माग गरिएको छ । लामिछानेको राष्ट्रियताप्रति प्रश्न उठाउँदै उनको दलसँगको आबद्धता नै खारेज गर्न माग गरेका अधिवक्ताहरुको माग अनुसार फैसला हुन सक्यो भने देशकै जनसंख्या झण्डै आधा घट्ने छ । किनकि नागरिकता विवाद हुँदाहुँदै कतिपय नेताहरु पटक–पटक मन्त्री भइसकेको र नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिद्वारा स्थगित गरिएको सन्दर्भ पनि लामिछाने प्रकरणले एकपटक पुनर्जाग्रत गर्ने अनुमान गर्न सकिन्छ ।
लामिछाने सर्वाधिक बढी समय बोलेर विश्वमै इतिहास रच्ने सञ्चारकर्मी हुन् । विदेशी नागरिकता त्यागेर मातृभूमिकै सेवा गर्छु भनेर घोषणा गरी स्वेदश फर्किएका आशलाग्दो युवा लामिछानेले आफ्नो ज्ञान, सिप, क्षमता, कुशलता र सामथ्र्य देश सेवामा लगाउँछु भन्नु अपराध पनि होइन शायद । देशमा हुर्किएको विकृति, विसंगति र त्यसले उत्पन्न गरेको वितृष्णाको परिणामले झण्डै बाह्र लाख नेपालीको आशा र भरोसा बन्न सफल उनीबिरुद्धको षडयन्त्र असफल हुन्छ भन्न सकिन्नँ । किनकि काजी भीम मल्ल र प्रधानमन्त्री भीमसेन थापाका धर्मपत्नीले नै श्राप दिएको देश हो जहाँ उनीहरुले ‘भलो चिताउने को भलो नहोस्’ भनेकै थिए । राजनीतिको आवरणमा अराजनीतिक, अनैतिक र आपराधिक गतिविधि क्षम्य हुने र सम्मानित हुने संस्कृति बन्दै गएका समय लामिछानेहरु परास्त हुँदा अनौठो मान्नु पर्दैन । त्यस्तो बेला आमजनता नै सजग र सचेत हुन जरुरी छ । अन्यथा देश र जनताले चाहेको परिवर्तनको अनुभूति यो जुनीमा सम्भव छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here