सहाराको प्रतिवेदन सार्वजनिक : २०८० मा वासलात एक खर्बको बनाइने

0
174

झापा ।

विश्वबजारमा परेको आर्थिकमन्दी र बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव कायमै रहेको अवस्थामा पनि सहारा नेपालले आफ्ना सदस्यको बचतको पूर्ण सुरक्षा प्रदान गर्दै सहज रुपमा ऋण लगानी गर्दै आएको जनाएको छ ।

संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ बलियो बनाउने लक्ष्य अनुरुप ‘मिसन २०८०’ रणनीतिक योजना निर्माण गर्दै एक खर्बको वासलात बनाउने जनाएको छ । संस्थाको २६औं वार्षिक साधारणसभाको अवसरमा शुक्रवार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहकारीका ७९ वटा सेवा केन्द्रमा एक लाख ९७ हजार ७८ जना शेयर सदस्य पुगेको बताए ।

सहारा नेपाल सहकारी संस्था पूँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले मुलुककै सबैभन्दा ठूलो र उत्कृष्ट सहकारी संस्था भएको गिरीले बताएका छन् । सहकारीले आर्थिक वर्ष २०७८÷०७९मा ४९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसबाट सदस्यलाई लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट ३० करोड १५ लाख वितरण गरिने संस्थाका कार्यकारी निर्देशक गिरीले बताए । संस्थाको शेयर पुँजी १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ रहेको र जगेडा कोष १ अर्ब ११ करोड ११ लाख रुपैयाँको रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संस्थाको २०७९ असार मसान्तसम्मको वासलात १५ अर्ब ३८ करोड रुपैयाँ पुगेको बताइएको छ । त्यस्तै अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख, लगानीमा रहेको ऋण १३ अर्ब, भौतिक सम्पत्ति ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको गिरीले जानकारी दिए । संस्थाले चालू आर्थिक वर्षभित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासलात बनाउँदै ६२ करोड नाफा कमाउने प्रक्ष्येपण गरेको बताइएको छ ।

संस्थाले विगतका सदस्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमहरु विश्वस्तरमा सञ्जाल निर्माण गर्ने, रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल गर्ने, सामाजिक व्यवसाय सञ्चालन गर्ने र अतिविपन्न गरीबलाई माथि ल्याउन पहल गर्ने जस्ता कार्यक्रम प्रस्ताव गरेको छ ।

यस वर्ष आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबुत बनाउने हिसाबले कार्यक्रम अघि सारिएको जनाइएको छ । संस्थाले प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै एटिएम, ट्याब्लेट, मोबाइल एप्स सेवा, क्यूआर कोड र एसएमएस बैंकिङ सेवा सञ्चालन गरेको संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले बताए । महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपनिर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here