जलकन्यामा गंगेश्वर शिवालयको मन्दिर निर्माण हुने

0
261

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१०स्थित जलकन्या मन्दिर परिसरमा निर्माण हुने गंगेश्वर शिवालय मन्दिरको सोमबार एक कार्यक्रमकोबिच शिलान्यास गरिएको छ ।

वैदिक सनातन धर्मको संरक्षण तथा सम्वद्र्धन गर्दै उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको उक्त मन्दिर निर्माण स्थलमा भूमिपुजन, शिलान्यास तथा वास्तु घडा स्थापना गरिएको हो ।

स्थानीय जलकन्या किर्तन मण्डलीको अगुवाइमा सुरु गरिएको मन्दिर निर्माणको कुल लागत अनुमानित २० लाख रुपैयाँ रहेको मण्डलीका सल्लाहकार शिव अधिकारीले जानकारी दिए । गत तिहारमा सम्पन्न भएको देउसीभैलीबाट संकलन भएको पाँच लाख रुपैयाँले हाल मन्दिर निर्माणको कार्य सुरु गरिएको र बाँकी स्रोतको लागि दाताहरुसँग समन्वय गरिने सल्लाहकार अधिकारीले बताए ।

मण्डलीका अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि माता झुमादेवी बस्नेत र विशेष अतिथि अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलबाट शिलान्यासको कार्य सम्पन्न भएको थियो ।

मन्दिर व्यवस्थापन समितिका सचिव एवम् मण्डलीका सल्लाहकार ओमप्रकाश भट्टराईले मन्दिरको पृष्ठभूमिसहित स्वागत गरेको कार्यक्रममा अर्जुनधारा–१०का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, धामका मूल अर्चक सिग्देल, समितिका उपाध्यक्ष चन्द्रशेखर दाहाललगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा समितिका उपाध्यक्ष दाहालले मन्दिर निर्माण गर्न २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

१५.५ लम्बाई र १५.५ चौडाईको क्षेत्रफलमा निर्माण हुने उक्त मन्दिर प्यागोडा शैलीको हुने बताइएको छ । मण्डलीका सल्लाहकार अधिकारीका अनुसार तीन महिनाभित्र मन्दिर निर्माणको कार्य सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने मण्डलीको लक्ष्य रहेको छ ।

आवश्यक बजेट अभावमा मन्दिर निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन मण्डलीले कार्यक्रममार्फत् सबै दाताहरुसँग आव्हान् गरेको छ । उक्त कार्यक्रमको सञ्चालन मण्डलीका साधारण सदस्य रुद्र खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here