शनिश्चरे बहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिता र आत्मरक्षा तालिम

0
181

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ स्थित शनिश्चरे बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न भएको आन्तरिक भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो वर्ष र महिलातर्फ पहिलो–दोस्रो वर्ष विजयी भएका छन् ।

क्याम्पस अन्र्तगत रहेको अतिरिक्त क्रियाक्लाप समितिको आयोजना र स्टुडेन्ट क्वालिटी सर्कलको सहआयोजनामा आयोजित उक्त प्रतियोगितामा पुरुषतर्फ तेस्रो वर्ष र महिलातर्फ तेस्रो–चौथो वर्षलाई पराजित गर्दै दुवै टोली विजयी भएको हो ।

बेस्ट अफ थ्री अन्र्तगत भएको खेलमा पुरुषतर्फ २५–२०, २१–२५ र २७–२५ तथा महिलातर्फ २५–२१, २६–२४ र २५–१७ नतिजा प्राप्त भएको बताइएको छ । प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी उपविजेता तेस्रो वर्षका गोपाल भट्टराई र महिलातर्फ विजयी पहिलो–दोस्रो वर्षकी समिक्षा राई भएका थिए ।

प्रतियोगिताका विजेता तथा उपविजेता हुने खेलाडीहरुलाई प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष हेमराज खरेल, सदस्यहरु महेश ढकाल, मोहनलाल पौडेली र भूवनेश्वर शिवाकोटी, क्याम्पस प्रमुख मोहन ओली, समितिका संयोजक एवम् पूर्व क्याम्पस प्रमुख नारायणप्रसाद पौडेललगायतले शिल्ड, प्रमाण पत्र र मायाको चिनो प्रदान गरेका थिए ।

समितिको कार्यक्रम तालिका अनुसार दुई दिन सम्म सञ्चालन गरिएको सोही कार्यक्रम अन्र्तगत यौनजन्य हिंसाहरुको न्यूनिकरण गर्ने उद्देश्यले छात्राहरुको लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको थियो ।

करातेकी प्रशिक्षक पिंकी बर्मन र तेक्वान्दोकी प्रशिक्षक लक्ष्मी राजवंशीले सहजिकरण गरेको तालिममा ६८ जनाको सहभागिता रहेको क्याम्पस प्रमुख ओलीले जानकारी दिए ।

समितिका संयोजक पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति दीनेश बाँस्कोटा, पूर्व सहायक क्याम्पस प्रमुख तेजश्वी पौडेललगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन समितिका सहसंयोजक जीवन तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here