बाह्रदशीमा ‘दाइजो कायमै’ (फोटो फिचर सहित )

0
174

बाह्रदशी , बाह्रदशी गाउँपालिका– ४का अध्यक्ष महताब आलमले समाजमा अहिले पनि बालविवाह र दाइजो प्रथा नहटेको
बताएका छन् ।
बाह्रदशी गाउँपालिकाको १२औं गाउँसभामा बोल्दै वडाध्यक्ष आलमले कानूनतः बालविवाह र दाइजो प्रथा उन्मुलन भए पनि नियमनकारी निकायले नियमन नगर्दा अहिले पनि बाल विवाह र दाइजो प्रथा नहटेको बताए ।
अध्यक्ष आलमले आफ्नै वडामा दाइजो प्रथा कायम रहेको स्वीकार्दै गाउँपालिकाले कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने– मेरै वडामा बालविवाह र दाइजो प्रथा अहिले पनि व्याप्त छ, रोक्नका लागि प्रयास गरिए पनि सफल हुन सकिरहेको छैन ।
जसका लागि गाउँपालिकाले विशेष कदम चाल्न जरुरी छ । वडाबाट विवाह गरेर भारत जान लागेकी एक चेलीलाई दाइजोमा मोटरसाइकल उपहार दिएको म झलझली सम्झिरहेको छु– आलमले भने– कुरा छिनोफानो भइसक्यो, मोटरसाइकल दाइजो नदिउँ, विवाह रोकिने चिन्ता, दिउँ हैसियत छैन । यस्तो अवस्थामा गाउँलेले चन्दा उठाएर मोटरसाइकल दाइजोमा दिएको सुनेको छु । यस खाले प्रथा रोक्न गाउँपालिकाले दरिलो कदम उठाउन आवश्यक छ ।
अध्यक्ष महतावले समाजमा अहिले पनि बालविवाह व्याप्त रहेको र दाइजो प्रथाका कारण धेरै मानिस पीडित भएको उल्लेख गर्दै यस्तो प्रथा रोक्न गाउँपालिकाले विशेष पहलकदमी गर्न जरुरी रहेको भन्दै यसका लागि सबै ज्टुनपर्ने बताए । उनले गाउँपालिकाभित्र रहेका वेथिति र बिसंगति रोक्न माग गरेका छन् । शिक्षा क्षेत्रमा बेथितिको
चाङ रहेको भन्दै शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि मात्र सक्रिय नभइ कर्मचारीलाई सक्रिय बनाउनुपर्ने बताए ।
बाह्रदशी गाउँपालिकाको वडा नं. ४ र वडा नं. ५मा रहेका जनज्योति र फूलबारी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको भन्दै शैक्षिक गुणस्तर सुधारका लागि पहल शुरु गर्न उनले आग्रह गरे । उनले सामुदायिक विद्यालयको जमिन अतिक्रमणको क्रम बढेको र त्यसलाई रोक्न ठोस् कदम चाल्नुपर्ने धारणा राखे । बर्षौ अघि सामुदायिक जग्गामा घर–टहरा बनाएर बसेकाहरुले ठेक्का वापत न्यून शुल्क बुझाउँदै आएको र त्यसलाई परिमार्जन गर्दै समय सुहाउँदो ठेक्का बुझाउन आग्रह गरे ।
गाउँसभामा बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाँईले गाउँसभा सञ्चालन कार्यविधि ऐन २०७५को दफा ३ बमोजिम सभाको १२औं अधिवेशन शुरु भएको घोषणा गरेका थिए । उनले गाउँसभा पुस २२ गतेसम्म सञ्चालन हुने र विभिन्न ऐन तथा कार्यविधिहरु जारी गर्ने विषयमा जानकारी दिएका थिए । गाउँपालिकाले हालसम्म १३वटा ऐन जारी गरेको र दुई वटा निर्देशिका तथा तीन वटा नियमावली र नौ वटा कार्यविधि जारी भएको बताए ।
गाउँसभामा वडा नं. ४ का अध्यक्ष आलमले प्रस्ताव गरेको कार्यक्रममा बलबहादुर बानियाँले समर्थन जनाएका थिए । गंगाराम धितालले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेको कार्यक्रममा बिजय अधिकारी, हेमलाल दाहाल, राधिका भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै वडासदस्य तथा गाउँसभा सदस्य युवराज ढकालले कृषकका लागि वडा–वडामै अनिवार्य रुपमा कृषि कार्ड वितरण गरिनुपर्ने बताए ।
उनले बाह्रदर्शी गाउँपालिकामा विद्युत्को समस्या रहेको र सबै वडामा विद्युत् पु¥याउँदै भोल्टेज अप–डाउन हुने समस्याको समाधान गरिनुपर्ने धारणा राखे । वीऊ– विजन गुणस्तरीय नहुनु र प्रभावकारी कार्यान्वयन नहुनुले कृषकमा समस्या आएको भन्दै कृषि विमाको व्यवस्थापनका लागि ढकालले आग्रह गरे । त्यस्तै अधिकांश इजाजत नलिई मेडिकल सेन्टर सञ्चालनमा रहेकाले तिनीहरुलाई नियमन गर्दै कार्वाही प्रक्रिया अगाडि बढाउनुपर्ने ढकालको भनाइ छ । कृषि क्षेत्रमा मल वीऊको समस्या व्याप्त रहेको र समस्या हल गर्न गाउँपालिका अध्यक्ष चम्लागाँईले पहल गर्नुपर्ने बताएका छन् । योसँगै हात्ती नियन्त्रणका क्षेत्रमा काम गर्न समेत जुट्नुपर्ने उनको भनाइ छ ।
यता परिषद् सदस्य बिजय अधिकारीले बिद्यालय सुधार, कृषि क्षेत्रमा सुधार, सडक कालोपत्रेका क्रममा देखिएको समस्या समाधानका विषयमा आवाज उठाएका थिए । त्यस्तै परिषद् सदस्य हेमलाल दाहालले औषधि वितरण, ज्येष्ठ नागरिकका समस्या र गरीब समुदायका विषयमा आवाज उठाएका थिए ।
परिषद् सदस्य राधिका भट्टराईले वीऊविजन वितरणमा प्रभावकारिता नभएको भन्दै गुणस्तरीय वीऊविजन वितरणका लागि आवाज उठाएकी थिइन् । परिषद् सदस्य मिलन संग्रौला लगायतले १२औं गाउँसभामा धारणा राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा सिनियर अनमी सुस्मिता मैनाली, कम्प्युटर अपरेटर खड्गनारायण राजवंशी, पर्शुराम राजवंशी, शान्तिकुमार श्रेष्ठ, शिला कटुवाललाई सम्मान गरिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष शान्ता शिवाकोटी खरेल ले गाउँ अधिवेशन सफलताको शुभकामना दिएकी थिइन् । पालिकाले हालसम्म १३ वटा ऐन, ९ वटा कार्यविधि, ३ वटा नियमावली र दुई वटा निर्देशिका कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष चम्लागाँईले बताए ।

(फोटो फिचर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here