अर्जुनधारा नगर विकास बहुउद्देश्यीयको प्रथम साधारण सभा सम्पन्न

२३ पुष २०७९, शनिबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

अर्जुनधारा–७स्थित सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष प्रत्युष आजाद रानाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सभामा समितिका अध्यक्ष रानाले संस्थाको गत आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक विनोद आचार्यले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा शेयर सदस्यका लागि सहकारी एवम् अगुवा कृषकका लागि अभिमुखिकरण तालिम, धानको मूल तथा उन्नत विउ, विजन खरिद र वितरण, वडा इकाई स्तरमा तदर्थ समिति गठन र परिचालन, पकेट कार्यक्रम सञ्चालन, पशुपन्छी विमा कार्यक्रम, कृषि प्राविधिक सेवा तथा वाली संरक्षण कार्यक्रम सञ्चालन भएको उल्लेख गरिएको छ ।

त्यसैगरी संस्था सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधिको निर्माण, कृषि उपकरणको खरिद र व्यवस्थापन, कृषि उत्पादन वृद्धिका लागि आवश्यक पर्ने मल खादको व्यवस्थापन, निक्षेप संकलन तथा शेयर सदस्य विस्तारको लागि कर्मचारी परिचालनलगायतको कार्यक्रम सञ्चालन गरेको छ । जम्मा शेयर पूँजी ३४ लाख २९ हजार आठ सय रहेको संस्थाले गत आर्थिक वर्षको जम्मा आम्दानी ६० लाख १४ हजार एक सय ८६ रुपैयाँ छ पैसा रहेको छ ।

सभामा झापा जिल्ला सहकारी संघ लेखा समितिका सदस्य प्रेमसागर सापकोटा, नेपाली काँग्रेसका नगर सभापति हेमराज खरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष नारद तामाङ, वडाध्यक्षद्वय गोविन्दप्रसाद खतिवडा र हरिशचन्द्र बाँस्तोला, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिकी सदस्य देवकला प्रसाईंले स्वागत गरेको उक्त सभाको सञ्चालन उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here