राष्ट्रिय एकताका प्रतिक राष्ट्रनिर्माता पृथ्वीनारायण शाह

0
340

गोरखाबाट प्रकाशित शुरुवात दैनिकमा उल्लेख भए अनुसार मंगलबार गोरखा नगरपालिका र नेपाली सेनाको रिपुमर्दन गणले पत्रकार सम्मेलन गरी पुस २७ मा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई झण्डोत्तोलन तथा विगुलद्वारा बिजयध्वनीसहित सलामी अर्पण कार्यक्रमको थालनी गर्ने भएको छ । यसले इतिहासको जगेर्नासँगै वाह्य तथा आन्तरिक पर्यटनलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

लामो इतिहास बोकेको प्राचीन मुलुक नेपालमा शाह वंशीय राजाभन्दा अघि गोपाल, अभीर, किरात, लिच्छवि र मल्लवंशी राजाहरुको शासन रहेको इतिहास पढ्न पाइन्छ । केन्द्रीय शासनको कमजोरीबाट फाइदा उठाई थुमहरुले स्वतन्त्र भएको घोषणा गर्ने चलनले राज्यको सीमामा एकरुपता रहन नसकेको देखिए पनि नेपालको बाटो हुँदै दक्षिणी मुलुकहरुको भ्रमण गर्ने चिनीयायात्री युवानचाङको यात्रा वृत्तान्तले नेपाल वर्तमानको आकारभन्दा धेरै सानो नरहेको भनेको छ । मौर्यसम्राट समुद्रगुप्तबाट (९३५ई.)मा उत्तरप्रदेश प्रयागको स्तम्भ लेखमा आसामदेखि कुमाउँसम्मको भू–भाग नेपालकै रहेको उल्लेख छ ।
४६४ ई.को चाँगुनारायण शिलालेखबाट प्रामाणिक लिच्छवीराजा मानदेवले पूर्वका सामन्तहरुलाई दमन गरी गण्डकी तरेर मल्लपुरी समेतका राज्य एकीकरण गरेका थिए । पछि यक्ष मल्ल(१४८५÷१५३८)ले ५३ वर्षको आफ्नो शासनकालमा ‘नरपतिजयचर्या टीका’ नामको ग्रन्थमा उल्लेख भए अनुसार मिथिला, मगध र गया बिजय गरेको र कर्कपेट्रिकका अनुसार उत्तरमा शिकारजोङसम्म यिनको राज्य पैmलिएको थियो, भनेको छ ।

ईशाको ११औंसम्ममा मुलुक तीन भागमा टुक्रियो, पश्चिम कर्णाली क्षेत्र खस मल्ल राज्य, दक्षिण कर्णाटवंशी नान्यदेवको सिम्रौनगढ राज्य र उपत्यका नेपाल मण्डल, तर टुक्र्याई यतिमै शान्त रहेन, यस वर्गीकरणसँगै बाइसी–चौबिसी र थुमहरुले आफू स्वतन्त्र भएको घोषणा गरे, अझ टुक्रिँदै गयो । ती सबै टुक्राहरु मध्ये चौबिसी राज्य लम्जुङको छिमेकी गोरखा चाहिँ सानो र कमजोर हो । तापनि राजा पृथ्वीनारायण शाहको अदम्य साहस र एकीकरण अभियानको अठोटको अगाडि सानो हुन पाएन । यस स्तम्भकारले पनि पुस महिनामा गोरखा दरबारको दर्शन गर्ने सौभाग्य प्राप्त गर्न सके हर्ष लागेको छ ।

राजा पृथ्वीनारायण शाहका १२ बर्र्षीय साइँला भाइ दलमर्दन शाह, जसलाई ‘तँ केटाकेटी छस् लडाइँमा जानु हुँदैन घर जा’ –भनिएका बालकले सिपाही चढेको नौकामा लुक्दै त्रिशुली तरेर पहिलो नुवाकोट युद्धको अन्त्य गराइ दिए । उनको हातको तरवारबाट नुवाकोट सेना प्रमुख उमराव शंखमणि राणा ई.सं.१७४४ को २६ सेप्टेम्बर शनिबार बिहानको पहिलो युद्धमा मारिँदा यस एकीकरण अभियानको ‘जेठी तरवार’ उनैको भएको घोषणालाई इतिहासले उल्लेख गरेको छ । सेना प्रमुखको मृत्यु हुनाले भएको भागदौडमा धेरै मल्ल सेना मारिएपछि सहजै नुवाकोट बिजय भएको थियो ।

विद्वान ज्योतिषी कुलानन्द जैसी (ढकाल)को साइत, गोरखाली जनताको राजाप्रतिको श्रद्धा, विश्वास र सहयोगका कारण नुवाकोटसँगै उपत्यका वरिपरिका मकवानपुर, कीर्तिपुर सहितका धेरै राज्यहरु बिजय हुँदै गए । कीर्तिपुर बिजयपछि झस्किएका कान्तिपुरका राजा जयप्रकाश मल्लले अंग्रेजसँग सहयोगको याचना गरे । तत्काल गोर्खाली फौजसँग युद्ध गर्न टिप्राको लडाइँका बिजयी योद्धा कप्तान किनलकको नेतृत्वमा २४०० फौज सिन्धुलीगढीको पौवागढीमा पसिना पुछ्दै उकालो चढ्दै आउँदै थियो । राजा पृथ्वीनारायण शाहको आदेशमा वीरभद्र उपाध्याय र शिकारी बंशुगुरुंग नेतृत्वको पाँच सय जतिको गोरखाली फौजको सिस्नो र अरिङ्गालो गोलोसहितको अप्रत्याशित आक्रमणबाट अत्तालिएर भाग्दा एक हजार छ सय अंग्रेज फौज मरे, जसमा केही हातहतियारसहित तीन सय बन्दुक गोरखाली फौजलाई प्राप्त भएको थियो ।

त्यसपछि वि.स. १८२५ कार्तिक १३ गते आइतबार मध्यरातमा इन्द्रजात्रा पर्व मनाइरहेका समयमा गोर्खाली फौजले तीनतिरबाट गरेको कान्तिपुरको आक्रमणमा नर देवीतर्पmको फौजको नेतृत्व स्वयम् राजा पृथ्वीनारायण शाहले गरेका थिए । दरबार घेरेको चार घण्टामा सामान्य झडपपछि नै बिजय प्राप्तगरी पृथ्वीनारायण शाह हनुमानढोकाको न्हुछेदरबार अगाडिको डबलीमा राखिएको कान्तिपुरको राज सिंहासनमा बसे । ललितपुरका राजा गद्दी छाडेर भागेकाले पाटन युद्ध नगरी प्राप्त भयो । यो बिजयको झण्डै एक बर्षपछि राजा पृथ्वीनारायण शाहका कान्छो भाइ शुरप्रताप शाह, सेना प्रमुख वंशराज पाँडे र केहरसिंह बस्नेत नेतृत्वको एक हजार पाँच सय गोरखाली फौजको अत्यासपूर्ण आक्रमणबाट राजा रणजीत मल्लले युद्धको तेस्रो दिन दरवारको झ्यालबाट आफ्नो पगरी देखाएर आत्मसमर्पण जनाउँदा भक्तपुर समेतको बिजय भई उपत्यका एकसूत्रमा बाँधियो, एउटा सिङ्गो राज्य भयो र शाहकालको एकीकरण अभियानमा नेपालको पहिलो र महत्वपूर्ण बिजयले पूर्णता पायोे ।

पृथ्वीनारायण शाहले चाहेको भए यो विजित मुलुकको नाम नेपाल नराखी यक्षमल्लका छोराहरुले भैंm भाइहरुलाई बाँडेर सबैलाई खुशी बनाउन सक्थे, तर त्यसो नगरी राज्य फेरि टुक्रिन नपाओस् भनि दह्रो नियम स्थापित गरिदिए । युद्धभूमि मै जीवन न्यौछावर गर्नुपर्दा सन्तानहरुको शिक्षादीक्षामा ध्यान पुग्न सकेन, फलस्वरुप छोरा प्रतापसिंह शाह अयोग्य शासक हुन पुगे । नाति राजेन्द्र बिक्रमको पनि शिक्षादीक्षा राम्रो हुन सकेन, पनाति रणबहादुर शाह पनि अयोग्य नै भए ।

यता ज्यान पातमाथि राखेर युद्ध लडेका तर अन्तिम कालसम्म पनि राज्यको भाग नपाएका भाइहरु यिनीसँग क्रुद्ध भएका थिए, एकपटक ज्योतिषी कुलानन्दले साइत नदिएका बेला सल्लाह बिना हतारिएर युद्धमा होमिँदा कालु पाण्डे जस्ता दूरद्रष्टा सहयोगी गुमाउन पुगे, आफू पनि शत्रूपक्षको घेरामा परे । जतिसुकै पीडा व्यहोर्नु परेको भए पनि उनको चिन्तन, स्वभाव र आचरणमा स्वार्थ कहिल्यै पलाउन सकेन । ई. पु. ३५६ तिर सानो मुलुक मेसोडोनियाका गोरिल्ला युद्ध निपुण विश्वविजेता अलेक्जेण्डर र पृथ्वीनारायण शाह दुबैमा केही समानता देखिन्छन् । १) दुबैको राज्य सानो थियो, २), दुबैको सेना सानो थियो, ३) दुबैसँग आधुनिक हातहतियारको अभाव थियो… । तापनि अदम्य साहस र गुरिल्ला युद्ध निपुणताले पराजय नभोगी अघि बढिरहे ।

नुवाकोटको पहिलो युद्ध बिजय गर्दैगर्दा पृथ्वीनारायण शाह २१ बर्ष लाग्दै थिए । यिनका सेनापती कालु पाण्डे ३१ बर्ष, यता भिमसिंह थापाका छोरा सरदार अमरसिंह थापा १८ बर्षको उमेरबाट नै युद्धमा होमिएका थिए । १२ बर्र्षीय साइँला भाइ दलमर्दन शाहको हातको तरवारबाट नुवाकोट सेनाप्रमुख शंखमणि राणा नै मारिए । यसरी युवा जोस–जाँगरबाट एकीकरण भएको नेपालको ताला–चाबी र सञ्चालन प्रक्रिया अब शिक्षित युवाहरुको दरिलो काँधमा सुम्पनुपर्छ, यो अपरिहार्य छ । विश्वका कैयौं मुलुकहरु– फ्रान्स, फिनलैन्ड, कोष्टारीका, भूटान लगायतका मुलुकहरुमा शिक्षित युवाहरुको नेतृत्व बढ्दै जाँदा विकासका लहरहरु तीव्रता साथ अघि बढिरहेका छन् ।

पृथ्वीनारायण शाहले वि.सं.१८३१ माघे सक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्रलक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइरहे । नेपाल एकीकरण अभियानको पूर्णबिराम चाहिँ यिनका पनाति राजा गिर्वाणयुद्ध विक्रम शाहका पालामा भएको एंग्लो(नेपाल युद्ध–१८१४–१८१६) भनिन्छ । वि.सं. १८७३ सालमा सुगौलीको सन्धी नहुञ्जेलसम्म पूरा ७२ वर्षसम्म एकीकरण अभियान चलिरह्यो ।

राष्ट्रिय एकताका प्रतिक, राष्ट्रनिर्मातालाई मुलुकले सम्झनुपर्नेमा विगतका केही बर्ष सम्झेको देखिएन, यस्तो अवस्था अब फेरि दोहोरिन दिनुहुँदैन । यसै महान एकीकरणको सफलताको कारण आज हामी विश्वसामु स्वाभिमानी नेपालीका रुपमा परिचित हुने अवसरबाट गौरवान्वित हुन सकिरहेका छौं । नेपालका हाल विद्यमान दलहरुले पनि आन्तरिक संगठन व्यवस्थापनमा र नेतृत्व चयनमा शैक्षिक मापदण्ड निर्धारण गर्नुपर्छ । समाजसेवामा तल्लिन विकासप्रेमी इमान्दार शिक्षित व्यक्तित्वहरुलाई आकर्षित गराउनुपर्छ । सांसद पदलाई स्नातकोत्तर तह हुनैपर्ने बाध्यकारी व्यवस्था अवलम्वन गर्नुपर्छ, यो नै नेपाल एकीकरणका श्रद्धेय व्यक्तित्व, राष्ट्रिय एकताका प्रतिक, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here