अरुणोदय साकोसको १० औं सभा सम्पन्न

0
207

अर्जुनधारा।

झापाको बिर्तामोड–५ स्थित अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

बिर्तामोडस्थित अग्रसेन भवनको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद नेपालको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले उद्घाटन गरेका थिए ।

सभामा संस्थाका अध्यक्ष नेपालले गत आर्थिक वर्ष ०७८/०७९को वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक इन्द्रकमल खनालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ९२ लाख २२ हजार चार सय रुपैयाँ, निक्षेप संकलन १७ करोड ९४ लाख २७ हजार पाँच सय ५६ रुपैयाँ ९८ पैसा, कर्जा लगानी छ करोड ५६ लाख ७१ हजार एक सय ४५ रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा संस्थाको जम्मा आम्दानी ९७ लाख पाँच हजार तीन सय ९८ रुपैयाँ दुई पैसा, जम्मा खर्च ९० लाख २२ हजार ४५ रुपैयाँ ४३ पैसा र नाफा छ लाख ४८ हजार पाँच सय ४९ रुपैयाँ रहेको छ । त्यस्तै चालु आर्थिक वर्ष ०७९/०८०को लागि अनुमानित ७२ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट सभामा पेश गरिएको थियो ।

सोही सभामा असल ऋणीतर्फ डिकबहादुर वि.क., उत्कृष्ट बचतकर्तातर्फ ओमप्रकाश निरौला, उत्कृष्ट बालबचतकर्तातर्फ निश्चल लोक्ताम लिम्बू, उत्कृष्ट कर्मचारी भीमा बराल र पूर्व कार्यालय प्रमुख बालकृष्ण दाहाललाई सम्मानित गरिएको थियो ।

त्यस्तै गत शैक्षिक वर्ष २०७८को एसईई परीक्षामा शेयर सदस्यका सन्तानहरुमध्ये उत्कृष्ट जीपीए ल्याउन सफल छात्रतर्फ प्रद्युम्न ढकाल(३.७०) र छात्रा सुम्मिना कार्की (३.२०)लाई प्रशंसा पत्रसहित नगद पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

सोही सभाको बन्दसत्रले संस्था सञ्चालक समितिको रिक्त सदस्य पदमा बिर्तामोड निवासी लीला शिवाकोटी, धितो मूल्याङ्न उपसमितिको रिक्त सदस्य पदमा बुद्धशान्ति निवासी रोहित थापा र गत आर्थिक वर्षमा गठन भएको पाँच सदस्यीय अर्जुनधारा सेवा केन्द्र सञ्चालक समितिलाई अनुमोदन गरेको अध्यक्ष नेपालले जानकारी दिए ।

बिर्तामोड नगर सभा सदस्य दुर्गाप्रसाद शिवाकोटी, बिर्तामोड नगर सहकारी शाखाका प्रमुख डिल्लीप्रसाद दाहाल, देवभूमि विद्यालयका संस्थापक सुमन शर्मा जम्मरकट्टेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका उपाध्यक्ष विशाल क्षेत्रीले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव दिपक तिम्सिनाले र पूर्व कार्यालय प्रमुख दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here