अव्यवहारिक नीतिका कारण पेट्रोलियम व्यवसायीहरु पलायन हुने अवस्था– प्रधान

0
107

बिर्तामोड ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले सरकारको अव्यवहारिक नीतिका कारण पेट्रोलियम व्यवसायीहरु पलायन हुने अवस्था आएको बताएका छन् ।

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको १५औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनलाई सोमबार बिर्तामोडमा सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले पेट्रोलियम पदार्थको मूल्य समायोजन वैज्ञानिक हुन नसक्दा व्यवसायीहरु मारमा परेको बताए ।

उनले भने– ‘लगानी अनुसारको प्रतिफलको अवस्था छैन, सरकारले झ्याल–ढोका बन्द गरेर व्यवसाय गर भनिरहेको अवस्था छ ।’ अहिले व्यवसायीहरुले सेवामात्र गरिरहेको र व्यवसायीको सहायक व्यवसायले पेट्रोलियम व्यवसाय थामिएको उनले जिकिर गरे । उनले व्यवसायीका समस्या सम्बोधन गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण समेत गराए ।

एसोसिएसनका अध्यक्ष नवीन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एसोसिएसनका सल्लाहाकार श्रीप्रसाद मैनाली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष प्रेमप्रसाद दाहाल, ट्याङ्कर संघका अध्यक्ष तोकप्रसाद दुलालले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विनोद बस्नेतले र स्वागत पूर्वअध्यक्ष लयप्रसाद भण्डारीले गरेका थिए ।

अध्यक्ष कोइरालाले संस्था तथा व्यवसायीका हितका लागि विभिन्न कार्यक्रम अघि सारेका छन् । कोइरालाले व्यवसायीको लगानी सुरक्षित गर्नका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

साधारणसभाको बन्दसत्रले अध्यक्ष कोइरालाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, महासचिव बस्नेतद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष अमित सरियाद्वारा आर्थिक प्रतिवेदन सर्वसम्मतरुपले पारित गरेको छ । एसोसिएसन अन्तर्गत झापा, इलाम, पाँचथर, ताप्लेजुङका ५९ पेट्रोलपम्पका सञ्चालक आबद्ध छन् ।

कोइराला पुनः निर्विरोध अध्यक्ष

नवीन कोइराला

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा पुनः नवीन कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

आगामी तीन वर्षे कार्यकालका लागि कोइराला पुनः निर्विरोध निर्वाचित भएका हुन् । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा टीकाराम पिठाकोटे र उपाध्यक्षमा भुपालराज कटुवाल निर्विरोध चयन भएका छन् भने महासचिवमा विनोद बस्नेत पनि निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा विनोद चापागाँई, कोषाध्यक्षमा अमित सरिया, सहकोषाध्यक्षमा मदनकुमार राई र सदस्यहरुमा उत्तम श्रेष्ठ, हरिप्रसाद घिमिरे, बालकुमार भण्डारी र सुभास गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here