‘पत्रकार अध्ययनशील हुनुपर्छ’

१० माघ २०७९, मंगलवार मा प्रकाशित

एकजना प्रशिद्ध विद्वानले भनेका छन्– राम्रो पत्रकार बन्ने सबैभन्दा उत्तम सूत्र हो– अध्ययन, अध्ययन र अध्ययन । समाजमा कुनै जानकारी वा सूचनाको प्रसङ्ग आएमा त्यसबारे पत्रकारप्रति अपेक्षा राख्ने प्रचलन छ । पत्रकार सबै विषयका जानकार हुने मान्यताका कारण पनि पत्रकारप्रति यस्तो अपेक्षा राख्ने गरिएको पाइएको हो ।

उपरोक्त तथ्यबाट के स्पष्ट हुन्छ भने एउटा योग्य पत्रकार कसरी बन्न सकिन्छ भन्ने जिज्ञासा राख्ने जो कोहीले सर्वप्रथम अध्ययन गर्नुपर्छ । त्यस्तै विज्ञहरुले एउटा पत्रकारमा सम्बन्धित विषयक्षेत्रको गहन र बृहत् ज्ञानको जरुरत हुने बताएका छन् । अझ एउटा पत्रकारमा २० प्रकारका विषय विशेषज्ञ बराबर जानकारी वा ज्ञान आवश्यक छ भन्ने गरिएको समेत छ । यसरी पत्रकारमा हुनुपर्ने सबैभन्दा ठूलो तथा पहिलो गुण अध्ययनशील स्वभाव नै हो भन्न सकिन्छ । अर्थात् एउटा कुशल, असल र दक्ष पत्रकार बन्न सदा अध्ययनशील हुनुपर्ने स्पष्ट हुन्छ ।

यसैतर्फ मार्गदर्शन तथा प्रेरित गर्ने उद्देश्यका साथ केही दिनअघि झापामा जिल्लाका पत्रकारिता क्षेत्रका नव प्रवेशी तथा क्रियाशील सञ्चारकर्मीहरु बीच एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कुनै पनि क्षेत्रमा दक्ष, निपुण, योग्य बन्न तत् सम्बन्धी ज्ञान, सीप हासिल गर्न सम्बन्धित विषय वा क्षेत्रका अनुभव प्राप्त विज्ञ, ज्ञाताको शिक्षा वा प्रशिक्षण महत्वपूर्ण मार्गदर्शन र प्रेरणाको स्रोतको रुपमा रहन्छ । कुनै पनि क्षेत्रमा सफल बन्न निष्ठा, रुची, इच्छाशक्ति अनिवार्य छ भने ठोस उपलब्धि प्राप्त गर्न विधिविधान (विधिपूर्वक)को पालना अपरिहार्य छ । अर्थात् कुनै पनि क्षेत्रको ज्ञान, सीप, दक्षता हासिल गर्न निष्ठा र विधिको अबलम्बन अपरिहार्य छ । यसतर्फ ध्यान केन्द्रित गर्ने विधिका रुपमा पनि लिन सकिन्छ यस प्रकारको प्रशिक्षण वा कार्यक्रमलाई । जसले लक्षित उद्देश्य हासिल गर्न मार्ग प्रशस्त वा मार्गनिर्देशन गर्दछ ।

यसै सन्दर्भमा सञ्चार क्षेत्रसँग सम्बन्धित पत्रकारिता पेशाका नवप्रवेशी तथा प्रशिक्षणबाट वञ्चित केही क्रियाशील सञ्चारकर्मीको उत्साहजनक सहभागिता रहेको नेपाल पत्रकार महासंघ झापाको अग्रसरतामा बिर्तामोडमा सम्पन्न उक्त कार्यक्रम महत्वपूर्ण तथा फलदायी रहेको ठानिएको छ । झापा शाखाको नेतृत्वले आफ्नो कार्यकाल सम्मालेपछि यसप्रकारका कार्यक्रमलाई महत्व दिएर झापाली पत्रकारिता तथा पत्रकारको हितकारी कार्य गर्दै अघि बढाउनु निश्चय नै सञ्चारकर्ममा आबद्ध रहेकाहरुका लागि खुशी र गर्वको विषय पनि हो ।

कुराभन्दा पनि काममा जोड दिने महासंघको नेतृत्वको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जानु र उसका गतिविधिले संकेत गर्दै गएको तथ्यलाई कसैले पनि नकार्न मिल्दैन । उक्त प्रशिक्षणमा अझ पिछाडिएका समुदाय तथा जातिलाई प्राथमिकताका साथ अवसर प्रदान गर्नु अर्को राम्रो पक्ष थियो । यसपटक प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय समेतले आयोजकका रुपमा अग्रसरता देखाउनु र यस क्षेत्रको उत्थानमा सहभागी हुनुले थप ऊर्जा र हौसला बढ्नु स्वभाविक छ ।

पत्रकारको भौतिक तथा पेशागत सुरक्षासँगै क्षमता अभिवृद्धिका कार्यक्रम ल्याएर प्रदेश १ कै उत्कृष्ट शाखाका रुपमा रहेको केन्द्रीय प्रतिनिधि र प्रदेशका पत्रकार नेताहरुले उद्घोष गर्दै आएको देखिएबाट पनि यस क्षेत्रमा अपेक्षित भावनामा आशाको सञ्चार गराएको छ भन्दा अत्युक्ति नहोला ।

कार्यक्रमको उद्घाटनका क्रममा स्वागत तथा औचित्वमाथि प्रकाश पार्दै महासंघ अध्यक्ष एकराज गिरीद्वारा यहाँ चर्चा गर्न खोजिएको विषय अध्ययन माथि जोड दिँदै अभिव्यक्त विचार मार्मिक तथा मननीय थियो । अध्यक्ष गिरीले पत्रकारले अध्ययन गर्नुपर्छ अनि मात्र हामीले राम्रोसँग पत्रकारिता गर्न सक्छौं । हामीमा अध्ययन भएन, खोज अनुसन्धान भएन भने नागरिकले पत्याउने छैनन् भनेर पेशागत विश्वासनीयता, प्रतिष्ठाका लागि पत्रकार अध्ययनशील बन्नैपर्नमा जोड दिएका थिए । अहिले मिडियालाई फेसबुक÷सामाजिक सञ्जालले चुनौति थपेको र प्रतिष्पर्धा गर्न समेत कठीन हुँदै गइरहेको अवस्थामा लगनशील भई गहन अध्ययन तथा खोजपूर्ण ढंगले सशक्तरुपमा अघि बढ्नुपर्ने बताएका थिए । पठन संस्कृति हराउँदै जानु चिन्ताको विषय भएको भन्दै उनले फेसबुकमा खर्चने समय खोज अनुसन्धान र अध्ययनमा व्यतीत गर्नु जरुरी भइसकेको बताएका थिए ।

पत्रकारलाई अध्ययनशील बनाउने योजनामा समेत महासंघ लागीपरेको उल्लेख गर्दै उनले महासंघले निकट भविष्यमा ई–लाइब्रेरीको सञ्चालन गर्ने तयारीमा जुटेको जानकारी गराएका थिए । पुस्तक खोजेर पढ्न, ई–पुस्तक हेर्न, खोजमा कति ध्यान दिन्छौं, हामी जुन पेशामा छौं त्यसलाई कति व्यवसायिक बनाउन सकेका छौं वा टाइमपासका रुपमा लिँदैछौं यसतर्फ गम्भीर बन्न ध्यनाकर्षण समेत गरेका थिए । पत्रकारिताको मर्यादा र गरिमा बढाउनका लागि पनि कार्यक्रमले मद्दत पु¥याउने बताएका थिए । लामो अनुभव, लगनशीलता तथा समर्पण भाव यी पत्रकार नेताका यी भनाइ केवल प्रशंसाका लागि उल्लेख गरिएको नभई अहिले पत्रकारहरुमा खस्कँदै गएको दक्षता र क्षमता अभिबृद्धि गर्न प्रेरक बन्न सक्छ भन्नेतर्फ संकेत गर्न खोजिएको हो ।

महासंघले राम्रो लेख्ने पत्रकारले राम्रो आयआर्जन गरिरहेको र मेहनती राम्रो लेख्ने पत्रकारका लागि लेखनवृत्तिका लागि विभिन्न निकायसँग सहकार्यको प्रयास भइरहेको तथा एउटै रिपोर्टमा ३५ हजारसम्म पारिश्रमिक प्राप्त गर्न पत्रकार सक्षम भइरहेको कार्यक्रममा अध्यक्ष गिरी, प्रमुख अतिथि महासंघका पूर्व अध्यक्ष भीम नेम्वाङ, मन्त्रलायका योजना महाशाखा प्रमुख गौतमराज अमात्य लगायतका क्षमता अभिवृद्धिका प्रयासमा जोड दिने अभिव्यक्त विचारबाट कठिनाईलाई आशावादीले अवसरमा बदल्न सक्ने भनाइलाई चरितार्थ गर्न अब सबै सञ्चारकर्मीहरु जागृत हुनुपर्ने देखिन्छ ।

सम्बद्ध निकायले मूल्य–मान्यता र सिद्धान्तको ख्याल गर्दै पत्रकारिता क्षेत्रको गरिमा उच्च राख्न आचारसंहिताको पालना र क्षमता अभिवृद्धिमा जोड दिइरहेको उनीहरुको भनाइ रहेकाले कर्तव्य र दायित्व सबैले भुल्न भने हुँदैन ।

कुनै क्षेत्रमा सफल बन्ने उपायबारे खप्तड स्वामीले भनेका छन्– सफलताका लागि तीन कुरा आवश्यक छ– तीव्र इच्छा, पूर्ण विश्वास र नियमपूर्ण अभ्यास । इच्छाशक्तिसँगै अध्ययनले आत्मविश्वास र पत्रकारिताको निरन्तर अभयासतर्फ सक्रियता वृद्धि हुने हुन्छ । उक्त प्रशिक्षण कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो अनुभव र अभ्यासका साथ समर्पित प्रशिक्षकहरु केशव भट्टराई, उमाकान्त खनाल, गणेशबहादुर कार्की र डिकेश लामाका पत्रकारिता ज्ञान, सीपको रोचक र खरो प्रस्तुतिले गुरुमन्त्रका रुपमा प्रशिक्षार्थीले ग्रहण गर्दै निकै उत्साहित र अमिट छाप छाडेको पाइयो ।

ज्ञान आर्जनको सरल विधि प्रशिक्षण लिनु, सुन्नु, हेर्नु भएको र बुद्धिमानले एकपटक सुनेको कहिल्यै बिर्सदैनन् भने कतिपय अनुभवसिद्ध भनाइबाट कतिपय गुरुमन्त्रका रुपमा आजीवन रहने विश्वास पनि सकिन्छ । प्रशिक्षार्थीका प्रतिक्रिया र भनाइले पनि कृतज्ञता र निरन्तरताको इच्छा प्रभावका रुयमा लिन सकिन्छ । अन्त्यमा, यस्ता कार्यक्रमलाई महत्व दिँदै समन्वय गर्दै लक्षित उद्देश्य हासिल गर्न र सबैको अपेक्षा पूरा गरोस् । यो पनि नबिर्सौं– अध्ययन, खोज र तथ्यले मानिसलाई सत्यसम्म पु¥याउनेछ र सफल बनाउनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here