विद्यालय पोशाकमा विद्यार्थीलाई प्रवेश निःशुल्क, संघ–संस्थसंग छलफल चल्दै

0
187

बिर्तामोड ।

आगामी फागुन ५ गतेबाट सञ्चालन हुन लागेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीब्र बनाइएको छ । महोत्सवलाई प्रदेश–१ सबैभन्दा ठूलो बनाउने उद्धेश्यले विभिन्न संघ–संस्थाासंग छलफल तथा परामर्शलाई अघि बढाइएको महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सवमा झण्डै ४५ करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य लिइएको छ । नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायीलाई सहभागी गराउँदै हुन लगेको महोत्सवलाई ब्यवस्थित बनाउन बिर्तामोडका विभिन्न संघ– संस्थासंग परामर्श जारी रहेको संयोजक न्यौपानेले बताए ।

उनका अनुसार नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) झापाकका सचिव हरिकृष्ण पाठक, बिर्तामोड नगर अध्यक्ष उत्तम खनालसहितको टोलीसंग भएको छलफल तथा परामर्शमा विद्यार्थीलाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएको छ ।

महोत्सवमा सरकारी तथा नीजि र आवासिय विद्यालयहरुले विद्यालयको पोशाकमा शिक्षकको रोहबरमा विद्यार्थीको नाम र संख्या खुलाएर पत्रचार गरिएमा प्रत्येक विद्यालयलाई दिनको एक पटक बिहान १० बजेदेखि २ बजेसम्म प्रवेश निःशुल्क गरिएको संयोजक न्यौपानेले जानकारी दिए ।

हरेक दिन जासो छलफल र परामर्शलाई अघि बढाइरहेको महोत्सव आयोजक मूल समितिका सचिव कुशल खतिवडाले बताए । यसैक्रममा महोत्सव अवधिमा भर हुन सक्ने जमघट तथा पर्ने प्रभावका विषयमा महोत्सव स्थल नजिनकै रहेका सातभन्दा धेरै टोल विकास समितिसंग शनिबार छलफल तथा परामर्श गर्दै आवश्यक सुझाव संकलन गरेको सचिव खतिवडाले जानकारी दिए ।

फागुन ५ गतेदेखि १५ गतेसम्म आयोजना बिर्तामोड–२ को चारपाने र रामचोकको मध्य भागमा सञ्चालन हुने बताइएको छ । महोत्सव स्थललाई सम्याउने काम सकिएको र अन्य काम पनि अघि बढेको बताइएको छ ।

त्यस्तै महोत्सव मूल आयोजक समितिले होलसेल मदिरा ब्यवसायी संघका अध्यक्ष प्रकाश बस्नेतसहितको टोलिसंग छलफल गरेको छ । महोत्सवलाई उत्कृष्ट बनाउन के गर्न सकिन्छ भन्दै बैकर्श एसोशिएसन बिर्तामोडका अध्यक्ष सुवास श्रेष्ठसहितको टिमसंग छलफल गरिएको बताइएको छ ।

तीन लाख दर्शकले अवलोकन गर्नुका साथै २ सय ५० वटा स्टलहरु रहने महोत्सवले दोस्रो र तेस्रो मुलुकसँगको निर्यात व्यापारलाई बढावा दिने, आन्तरिक व्यापारलाई चलायमान गराउने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलहरुको प्रचारप्रसार गर्ने अपेक्षा गरिएको छ । समितिले नेपाल आदीवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डप चौधरी, चेम्बर अफ कमर्शका अध्यक्ष ओमकृष्ण बिमली, बीरता लेडी जेसीजकी अध्यक्ष संगिता गिरी लगायतका टोलीसंग छलफल र परामर्श गर्दै महोत्सवलाई ऐतिहासिक बनाउने विषयामा राय सुझाव मागेको छ ।

महोत्सवको स्टलहरु आधुनिक, लेमिनेटेड पार्टिसनसहितको र अक्टोनर्म र डोम डिजाइनको स्टल रहने महोत्सवका व्यवस्थापक ललित सिंखडाले जानकारी दिए । उनले स्टलका दुईवटा ह्यांगर हुने बताएका छन् । आधुकि तरिकाले महोत्सव स्थललाई सजावट गरिने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ ।

महोत्सव स्थलमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार भागमा विभाजन गरेर काम अघि बढाएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

महोत्सवको मूल प्रवेशद्वारमा मुक्तिचोकको आकृति राखिने, सेल्फी जोन निर्माण गरिने बताइएको छ । महोत्सवमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, औद्योगिक उपकरण, कृषि तथा जडीबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, जुत्ताचप्पल, हस्तकला तथा तयारी पोशाक आदि महोत्सवमा राखिने जनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश १ सँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको हो ।

संघले यसअघि २०७५ साल माघ ११देखि २३ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरेको थियो । महोत्सवलाई व्यवस्थित गर्नका लागि २० भन्दाबढी उपसमितिहरु ग्ठन गरेर काम अघि बढाइएको बिर्तामोड उद्योग वाणिज्य संघका महासतिव एवम् अनुगमन समितिका संयोजक अर्जुनकुमार मैनालीले बताए । अध्यक्षसहितको टोलीले राजधानीमा विभिन्न संघ–संस्थासंग भेटघाट र परामर्शलाई तिब्र बनाउदैं अतिथीहरुलाई निमन्त्रणा गर्ने काम गरिएको बताइएको छ ।

कोरोना कहर र आर्थिक मन्दीका कारण व्यपार भइनरहेका बेला हुन लगेको अन्तराष्ट्रिय औद्योगिक महोत्सवलाई व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको व्यवसायीहरुको भनाई छ । महोत्सवमा झापाासहित इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा तथा भारतबाट समेत पर्यटकहरु आउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here