अपहरित युवक १० दिनपछि मुक्त

0
164

बिर्तामोड ।

प्रहरीको सक्रियताका कारण अपहरणमा परेका बिर्तामोडका एक युवक सकुशल मुक्त भएका छन् ।

झापाको बिर्तामोड–२का १९ बर्षीय राजीव बस्नेत गतमाघ ५ गते अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् । प्रदेश नं. १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उनको खोजी शुरु भएको थियो ।

साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

उनको अपहरण गरेर फिरौती मागेपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै भारतको मणिपुर प्रहरीसँग समन्वय शुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रुपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना शर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जंगल छेउमा छाडेको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए ।

अपहरणमा संलग्न रहेको आशंकामा एक जनलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको र नेपाल तथा भारतमा रहेका अपहरणमा संलग्नहरुको पहिचान भइसकेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए । उनले भने– अपहरणमा संलग्नहरुको गिरोह निक्कै ठूलो छ, यिनीहरुको पहिचान भएसँगै हामीले खोजीलाई तीब्र बनाएका छौं । घरायसी लेनदेनका कारण किशोर अपहरणमा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नहरुले ४० करोड भारतीय रुपैयाँ फिरौती माग गरेको जनाइएको छ ।

यसरी भएको थियो अपहरणको योजना

मणिपुरका राजु भण्डारीले बिर्तामोडका कमल बस्नेतसँग लेनदेन रहेको भन्दै उनलाई प्रभावमा पारेर रकम असुल गर्ने योजना बनाउँछन् । उनकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाउँछन् । सोही क्रममा प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका दिपीका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरुले योजना सफल भएमा जनही २५÷२५ लाख रुपैयाँ दिएर बिदेश पठाइदिने आशा देखाउँछन् ।

विगत छ महिनादेखि योजना बनाएर उनीहरु बस्नेत परिवारलाई निशानामा राखिरहेका हुन्छन् । सोही क्रममा १९ बर्षीय राजीवलाई अपहरण गर्न सजिलो हुने भएकाले प्रतीक्षाको घरमा रहेका दिपीका र कौशिका उनको नजिक हुन्छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरेर उनीहरु सोही क्रममा माघ ४ गते सालबारीको झिलमा घुमफिर गर्न जान्छन् ।

उनीहरु माघ ५ गते एक रातसँगै श्रीअन्तु जाने योजना बनाउँछन् । सोही योजना अनुसार राजीव घरबाट श्रीअन्तु जाने भन्दै निस्किएका थिए । उनीहरु निस्किए लगत्तै युवतीलाई प्रयोग गरेर अपहरणमा संलग्नहरुले बस्नेतलाई बोलेरो गाडीमा राखेर नेपालकै कुनै एक भूभागमा लगेर बन्धक बनाएर मणिपुरी र नेपाली भाषामा फिरौती रकम माग्न शुरु गर्छन् ।

प्रहरीसँगको तालमेल नमिल्दा अपहरणमा संलग्न एक युवा फरार भए पनि उनको मोटरसाइकल प्रहरीले पक्राउ गर्न सफल भयो । अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भयो । उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए ।

अपहरणमा भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीब्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।

नेपाल र भारतीय प्रहरीको सहयोगमा आपराधिक गतिविधिमा संलग्नहरुलाई छिट्टै पक्राउ गर्न सफल हुने प्रहरीले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here