‘महोत्सव बिर्तामोडको गौरब र प्रतिष्ठा’

५ फाल्गुन २०७९, शुक्रबार मा प्रकाशित

व्यवसायिक क्षेत्रमा आर्थिक कारोबारले गति लिन नसक्दा निराश बनेका व्यापारी–व्यवसायीहरुलाई उत्साहित बनाउँदै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारदेखि ११ दिने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ सञ्चालन हुँदैछ । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट व्यवसायिक सहभागिता रहनेछ । व्यवसायीदेखि ठूला व्यापारी–व्यवसायी, उद्योगीका साथै शैक्षिक–स्वास्थ्य परामर्श केन्द्र, कृषि क्षेत्रमा भएका औद्योगीकिकरण र प्रविधिको प्रयोग, विभिन्न मनोरञ्जनात्मक खेल तामासा, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति र प्रदर्शनी लगायतको संयोजन रहेको ११ दिने मेलाका विषयमा केन्द्रीत रहेर बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीसंग सञ्चारकर्मी रेजिना गौतम र बिनोद पाण्डेले गरेको संक्षिप्त कुराकानी:

महोत्सवका तयारी कस्तो छ ?

– तयारी अन्तिम चरणमा पुगेको छ । भोलिदेखि हाम्रो महोत्सव शुरु हुँदैछ । शुरु हुनुपूर्व हामी यही बाणिज्य संघमा भेला हुनेछौं र बिहानको ११ बजेबाट झाँकीसहितको ¥याली निकाल्ने छौं ।

महोत्सवलाई आकर्षक बनाउन के–के तयारी गर्नुभएको छ ?

– ११ दिने महोत्सवको उद्घाटन गर्दैगर्दा त्यसलाई आकर्षक बनाउन जरुरी छ । सोही कुरालाई ध्यानमा राख्दै विभिन्न जातजातिको झाँकीसहितको प्रभातफेरी गर्न लागेका हौं । झापा सांस्कृतिक रुपमा पनि निकै अघि छ । विभिन्न २५ जातजातिको बसोबास रहेको झापामा त्यसको नेतृत्व आदिवासी जनजाति महासंघले गरेको छ । जातीय मौलिक परम्परा र भेषभुषासहितको झाँकी प्रदर्शनका लागि हामीले महासंघको नेतृत्वलाई जिम्मा दिए अनुसार उद्घाटनका दिनको शुरुवातमै आकर्षक झाँकी प्रदर्शन हुन्छ । त्यस सँगसंगै बिर्तामोडमा रहेका विभिन्न संघ–संस्थाको ब्यानरसहित उपस्थिति रहनेछ । त्यस्तै स्कूल पनि ब्यानरसहित उपस्थिति हुने तयारी छ । उद्घाटनमा लगभग १० हजारको सहभागिता हुने अपेक्षा गरेका छौं । महोत्सव आम बिर्तामोड, झापाबासी मात्र नभएर पूर्वकै प्रतिष्ठा पनि हो ।

१० हजार जनाको सहभागिताले मुख्य राजमार्गमा यातायात अवरुद्ध हुँदैन ?

–यातायात व्यवस्थापनको कुरामा ट्राफिकसँग कुरा भएको छ । हामीले उद्घाटनमा यति सहभागी हुन्छन् भन्ने जानकारी गराएका छौं । त्यो उहाँहरुले कसरी मिलाउनुपर्छ, मिलाउँछौं भन्नु भएको छ ।
ठूला र प्रतिष्ठित कम्पनीहरु जोेडिएका छन् कि छैनन् ?

– ठूला कम्पनीहरु जोडिनु भएको छ । बिर्तामोडको भविष्यको लागि बिर्तामोडको उन्नतिका लागि प्रतिष्ठित कम्पनीहरुको हामीलाई साथ छ । जस्तो मुख्य प्रायोजकका रुपमा एनसेल छ भने सेन्चुरी मसलाले प्रायोजन गरेको छ । साथै सहप्रायोजकमा गोर्खा ब्रुअरी, सिंगापुर बेभ्रेज, सेन्चुरी फुड एण्ड प्याकेजिङ, नेपाल लिंकर्स रहेका छन् । त्यसैगरी सहयोगी संस्थाहरुमा पनि पुराना र ठूला संघ–संस्थाहरु जोडिएका छन् । जस्तै सहारा नेपाल (साकोस), त्रिवेणी ग्रुप, सीताराम मिल्क, नबिल बैंक, हेरिटेज कार्पेट, इक्यान, क्यान झापा, लक्ष्मी ग्रुप, ग्लोबल आइएमइ, एक्सेल डेभलपमेन्ट, एनआइसीएशिया लगायतका बैंक सहयोगी संस्थाका रुपमा छन् भने खगेन्द्र काष्ठ फर्निचर उद्योग, मुक्तिश्री प्रालि, सांग्रिला चप्पल, खुकुरी रम, डाइ ग्रुप, लण्डन पप, टोकला चिया जस्ता व्यापारिक संस्थाहरु सहयोगी बनेर आएको अवगत गराउँछु । त्यस्तै खल्ती, सौर्य एयर लायन्स, एनटीएस, सुनमाई पानी, किङ्सबेरी होटल, बेबी आइसक्रिम लगायतका संघ–संस्थाहरु साझेदारका रुपमा जोडिएका छन् । संगसंगै संरक्षकमा बिर्तामोड नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, मेची डिष्ट्रिब्युटर्स एशोसिएशन रहेका छन् ।

चारवर्ष अघि आयोजित मेलाभन्दा योपटक दर्शक अवलोकनकर्ताले के फरकपन पाउँछन् ?

– धेरै नयाँ छ । चारवर्ष अघिको महोत्सवमा हेङ्गर थिएन । हेङ्गरको प्रयोग गरेर महोत्सव गरिराखेका छौं । जर्मनी टेक्नोलोजी प्रविधि हो यो । फरक–फरक किसिमका खेल छन् । पूर्वाञ्चलमा अहिलेसम्मकै सबैभन्दा ठूलो पिङ छ । विभिन्न खेल–तमासा, दैनिक फरक–फरक राष्ट्रिय कलाकारको प्रस्तुति, स्थानीय कलाकारको प्रस्तुति रहने छ । राष्ट्रिय कलाकारहरु उत्साहका साथ आउने हुनुभएको छ । यो बिर्तामोडलाई उहाँहरुले गरेको माया पनि हो ।

आर्थिक संकटका बेलामा महोत्सव आयोजना गर्नुभएको छ, यो व्यवसायीलाई उत्साहित बनाउने योजना हो ?

– व्यवसायीहरुमा निराशा बढेको छ । त्यही निराशालाई आशामा परिणत गर्नका लागि नै महोत्सवको आयोजना गरिएको हो । महोत्सवमार्फत पश्चिम दार्चुलादेखि पूर्व ताप्लेजुङसम्म जोड्दैछौं । व्यवसायिक सफलताका कुरा संघर्षका कुरा आदान–प्रदान पनि हुनेछ । पूर्वमा उत्पादित सामग्रीबारे पश्चिममा र पश्चिमका पूर्वमा ल्याएर विक्री गर्न सक्ने वातावरण निर्माण हुनेछ । त्यतिमात्र होइन यो मेलाले पूर्व–पश्चिम जोड्नुका साथै हाम्रा सबैभन्दा नजिकको व्यापारिक सम्बन्ध भएको भारत, बंगलादेश, पाकिस्तान लगायतका देशबाट पनि सहभागी हुने हुँदा व्यापारिक आइडियाबारे पनि शेयर हुनेछ । जसले आगामी दिनमा व्यापार–व्यवसाय क्षेत्रमा कसरी अघि बढ्न र बढाउन सकिन्छ भन्ने कुरालाई ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौं ।

उद्घाटनमा प्रमुख अतिथिसहित भिआइपीको उपस्थिति ?

– महोत्सवको उद्घाटन यसै क्षेत्रबाट निर्वाचित भइ सभामुख समेत बन्न सफल देवराज घिमिरेले गर्नुहुनेछ । यसै क्षेत्रका हुनुहुन्छ उपसभामुख, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल, उद्योगी–व्यवसायी, देशभरका बिग हाउसबाट ४० जनाभन्दा बढी आउनुहुन्छ । उहाँहरुका लागि आवश्यक व्यवस्थापनको बन्दोबस्त गरिसकेका छौं ।

महोत्सवमा स्थानीयसहित तीन तहका सरकारको सहभागिता र सहयोगको कस्तो पाउनु भएको छ ?

– बिर्तामोड नगरपालिका मुख्य आयोजक नै रहेको छ । नगरपालिकामा हामीले आर्थिक सहयोग पनि माग गरेका छौं । सहयोग गर्ने बचन पनि दिनुभएको छ । नगरपालिकामा बजेट कम भएकोले हो । उहाँहरुले हामीलाई सपोर्ट गरी नै हाल्नुहुन्छ । प्रदेश सरकारमा पनि केही माग गरेका छौं । सपोर्ट हुन्छ भन्ने कुरामा हामी आशावादी पनि छौं ।

सुरक्षा व्यवस्था कत्तिको मजबुद छ ?

– क्यान झापा र इक्यानको सहयोगमा नयाँ प्रविधिको सीसी क्यामेरा राखेका छौं । जुन क्यामेराबाट महोत्सवमा भएका गतिविधिहरु इलाका प्रहरी कार्यालयबाट हेर्न सकिन्छ । प्रविधिको प्रयोग गरेर हुने सुरक्षाको प्रबन्ध यो भयो भने जनपद र सशस्त्र प्रहरी खटिनुहुनेछ । संगसंगै आयोजकले पनि केही सेक्युरिटी गार्डलाई खटाउने छ भने स्वयम्सेवक पनि हुनेछन् । कुनै पनि किसिमको सुरक्षा चुनौति हुने छैन । ढुक्क हुन हामी सबैलाई अनुरोध पनि गर्दछौं ।

साथै सबै उद्यमी–व्यवसायीसहित आम नागरिकलाई यो बिर्तामोडको भविष्यको लागि हो भन्ने अनुरोध गर्दै सबैलाई महोत्सवमा उपस्थित भएर सफल बनाइदिन अनुरोध गर्दछु । यहाँ सिक्किम, दार्जीलिङ, आसाम, डुवर्सबाट पनि आमन्त्रण गरेका छौं । महोत्सवमा सबैलाई समेट्ने तरिकाले आयोजना गरेका छौं । तसर्थ महोत्सवमा उपस्थित भएर नयाँ अनुभव लिनुहुन फेरि पनि अनुरोध गर्दछु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here