नकारात्मकता हटाऊ

0
170

प्रत्येक दिन प्रकाशित हुने नक्कली वस्तु, नक्कली लाइसेन्स, नक्कली चिकित्सक, चक्कली चालक गुणतस्तरहीन भौतिक संरचनाको निर्माण, ठगी, लुटपाट जस्ता समाचारले नेपाली जीवन नै नकारात्मक हुन थालेको आभाष हुन्छ । यस्तै नकारात्मक समाचार हेर्दा र पढ्दा नकारात्मक बन्दै गएको मानसिकतालाई सकारात्मक बनाउन लाग्छ फेरि अर्को आन्दोलनको खाँचो छ । राजधानी काठमाडौंदेखि तराईका शहरहरुसम्म फैलिएको यो रोगले महामारीको रुप नलियोस् सम्बद्ध पक्षले सचेतता अपनाउन जरुरी छ । सरकारले सवारी चालक अनुमतिपत्र परिमार्जन गरी ‘स्मार्ट’ बनाउन थालेको पनि निक्कै भयो । यसको वितरण सामान्य र नियमित हुन नसकिरहेको अवस्थामा नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु उपत्यकाकै विभिन्न ठाउँमा बसोबास गर्ने तीन जनाले किर्ते गरी स्मार्ट लाइसेन्स वितरण गरिरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई फरक–फरक मितिमा फरक–फरक ठाउँबाट पक्राउ गरेको थियो । सवारी यात्रालाई भरपर्दो र सुरक्षित बनाउन लागू गरिएको लाइसेन्स प्रक्रिया झन्झटिलो र जटिल बनेपछि सेवाग्राहीले सजिलो बाटो रोज्छन् शायद । त्यही अवस्थालाई अवसरमा बदल्ने लोभले अपराध मानसिकतालाई ‘मलजल’ गर्ने काम गर्छ । परिणाममा सवारी चालक, सवारी यात्री, पैदलयात्री लगायत धेरैको जीवन जोखिममा पर्छ । त्यसै पनि सडकको अवस्था र सवारी चापका कारण प्रत्येक वर्ष दुर्घटना बढिरहेको छ, यस्तोमा नक्कली लाइसेन्सका भरमा सवारी गुडाउने गर्दा हुने मानवीय, आर्थिक तथा भौतिक क्षतिको अनुमान गर्नै सकिन्नँ ।

यस्तै नक्कली नोटको कारोबार पनि त्यत्तिकै बिस्तार हुन थालेको प्रहरीको तथ्यांकले देखाउँछ । नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोडबाट नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ ग¥यो । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भारत जाने तयारीमा रहेका एकजना भारतीय नागरिक प्रतिबन्धित भारतीय नोटसहित पक्राउ परे । यस्तै नक्कली ठगी तथा लुटपाटका घटना पनि निरन्तर हुन थालेका छन् । वैदेशिक रोजगारीको लोभ जगाएर रकम ठगी गर्ने व्यक्ति र गिरोह पनि त्यत्तिकै सक्रिय भइरहेको प्रहरी अनुसन्धानले नै देखाएको छ । यस्ता नकारात्मक सोचाइ, गराइ र व्यवहार हटाउन राज्यले सचेतना कार्यक्रम गरेर मात्र पुग्दैन । विद्रुप हुँदै गएको नकारात्मकताको मनोरोगलाई मनोग्रन्थीबाट हटाउन छुट्टै कानून निर्माण गरी कठोर दण्डको व्यवस्था गर्न जरुरी छ । त्यसै अनुसार कार्यान्वयनकै तहमा पुगेर अपराध मानसिकता उन्मुलन गर्ने दृढता देखाउनुपर्छ । त्यसो हुन सकेन भने यस्ता ठगीका अपराधहरु झनै बढेर जानेछ, जसको प्रभावबाट कोही जोगिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here