विनोद सापकोटा,
झिलझिले ।

झोडा क्षेत्र देखिनै सुख्खा ग्रस्त रहेको झापाको शिवसताक्षी ९ संगमचोकका किसानले खेतिका लागि सिचाई सुविधा पाएका छन् ।
समृद्ध तराई मधेश सिचाई विशेष कार्यक्रम अन्तर्गत किसानले सिचाईँ सुविधा पाएका हुन् । आठ महिना सुख्खा रहने सो ठाँउमा सिचाईका लागि आकाशे पानी बाहेकको विकल्प थिएन । ‘आकाशबाट पानी परे मात्र माटो चिसो देखिने गरेको थियो,’ स्थानिय हरिमाया फुयाँलले भनिन, ‘जग्गामा सिंचाई सुविधा भएपछि अब यहाँका किसानले धान सहित मकै, गहुँ, फापर, तोरी लगायतका बाली लगाउँछन् ।’
सुख्खाका कारण एक फसल धान मात्र दुखले उत्पादन हुने गरेको स्थानियले बताए । पर्याप्त पानी आकाशबाट पर्यो भने मात्र धान फल्ने फुयँलले बताईन् । हरियो साग सब्जी पनि अब गाँउमा उत्पादन हुने भएपछि उनि निक्कै खुसी देखिन्थिन् ।
संगमचोकका अधिकाँस खेतमा सुख्खाका कारण कोदोपनि फल्दैन । कोदो पनि नफल्ने ठाँउमा अन्य बाली उत्पादन हुने कुरै भएन । सिचाँईको प्रवन्ध नहुदा यहाँ कोदोपनि नफलेको स्थानिय भीम दाहालले बताए । वर्षातका बेला आकाशे भरमा धान खेती हुन्छ । तर पर्याप्त पानी नपरे खेत बाँझै हुने गरेको फुयाँलले बताए । उनका अनुसार संगमचोक आसपासका गाँउमा कम्तिमा १ सयको हाराहारीमा किसानका घर छन् । ‘सबैको वर्षेनीको समस्या सिचाई र पीउने पानी नै हो,’ उनले भने ।
संगमचोकका स्थानियले एक घन्टाको दुरीमा रहेको कुवाबाट पीउने पानी ल्याएर अझैपनि उपभोग गर्ने गरेका छन् । कुवामा पुग्न राजमार्ग छेउका स्थानियलाई एक घन्टा समय लाग्छ । विहान ३ बजे उठेर पानी लिन पुगिएन भने दिनभर पानीको जोहो हुदैन ।
कुवामा एक सय भन्दा धेरै मानिस पानी लिन पुग्छन । साइकलमा डोको झुन्ड्याएर पानी लिन नगए उपाय नहुने अर्का स्थानिय मानवहादुर फुँयलले बताए । उनले भने, ‘अब यहि पानीलाई प्रशोधन गरेर पीउन योग्य बनाउनुको विकल्प गाँउले संग छैन ।’
समृद्ध तराई मधेश सिचाई विशेष कार्यक्रम अन्तर्गत संगमचोकका किसानले सिचाईँ सुविधा पाउन यस क्षेत्रका सांसद एलपी साँवाले गुन लगाएको स्थानिय मेदनी दंगालले बताए । उनले भने, ‘साँवाले ‘काकाकुल’ संगमबस्तीको पानीको समस्याको बारेमा पहल नगरेको भए यहाँको सिचाईँ समस्या जस्ताको त्यस्तै रहने थियो ।’
६० लाखको लागतमा एक वर्ष अघि सिचाईँको यो योजना गाँउमा साँवाले ल्याएका थिए । स्थानिय मानवहादुर फुँयालले डिप बोरिङका लागि ५ धुर जग्गा दान गरेपछि डिप ट्युवेल जल सिचाईँको यो योजनाले मुर्तरुप पाएको हो ।
‘सांसद साँवाले पाँच वर्ष अघिनै संगमबस्तीमा पानीको समस्या पुरा गर्ने बताएका थिए । पहिलो पटक सांसद पदमा निर्वाचित हुँदा यहाँका स्थानियले पानीको समस्या समाधान गर्न साँवालाई पटक पटक अनुरोध गरेका थिए,’ स्थानिय दलवहादुर न्यौपानेले भने ‘०७९ सालको संघिय निर्वाचनमा पुन साँवाले पार्टीबाट सांसद पदको उम्मेदवारको रुपमा टिकट पाए ।
मत माग्न गाउँमा पसेका साँवासंग स्थानिय निक्कै आक्रमक बनेका थिए । रिसाएका स्थानियले साँवालाई मतनै हालेनन् । साँवा संग चुर भएर रिसाएका स्थानिय आज देखि खुसीले गद्गद् भए । न्यौपानेले भने, ‘साँवाकै पहलमा यो योजनाले मुर्तरुप पाएपछि यहाँका स्थानिय अहिले उनि संग खुसी छन् ।’
यो योजनाबाट संगम बस्तीका १ सय किसानका ६० विगाह जग्गा सिंचित हुने छ । यसका लागि खेतखेतमा पानीको पाईप पुगिसकेको छ भने ५० केभिए क्षमताको ट्रान्सफर्ममिटर जडान भईसकेको दंगालले बताए ।
स्थानिय किसानले पानी उपभोग कसरी गर्ने र यसको महसुल कसरी भुक्तान गर्ने विषयमा भने कार्यविधी निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष मेदनी दंगालले जानकारी दिएका छन् । उपभोक्ताले आयोजनाको रेखदेखका लागि एक जना कर्मचारी पनि राखेको छ । उनको आर्थिक सुविधा गाँउले मिलेर भुक्तान गर्नेछन् ।
सांसद साँवाले झापा ४ मा मात्र यो योजना ४ ठाँउमा संचालन भएको बताए । तर, संगम सिंचाई उपभोक्ता तथा वितरण समितिका अध्यक्ष दंगालको नियमित खवरदारीका कारण समयमै यो योजना सम्पन्न भएर पानी जमिन बाहिर आउन सफल भएको सांसद साँवाले बताए ।
शिवसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्राले पनि समितिको सक्रियताका कारण समयमै निर्माण सम्पन्न भएको बताए । उनले भने,‘ संगमचोकका स्थानियले सिचाईसुविधा पाउँदा तपाईहरु जति खुसी हुनुहुन्छ त्यति नै म पनि छु । अब, यहाँका स्थानियलाई पीउने पानीको प्रवन्ध गर्न नगरपालिकाले विशेष कार्यक्रम बनाएर अघि बढ्ने छ ।’































