जनकल्याण प्रतिष्ठानको सम्मानयोग्य सेवा

0
114

विश्वका हरेक देशको आ–आफ्नै किसिमको परिचय, पहिचान र विशेषता हुन्छ । त्यस्तै धर्म, जाति र भूगोलका आधारमा पनि ती देशमा बस्ने नागरिकको विशिष्टता हुन्छ । नेपाल भूगोलले सानो भएर पनि जातीय, धार्मिक तथा सामाजिक विविधताले विश्वमै चिनिएको देश हो । तर, पछिल्लो कालमा आफ्नो परम्परागत भाषा, धर्म, संस्कार, संस्कृति र सामाजिक मूल्यमान्यताको अनुशरणमा कमी आइरहेको अनुभूति भइरहेको छ । नयाँपुस्तामा पुख्र्यौली परम्परा र संस्कारप्रतिको अनाकर्षणले नेपाल र नेपालीको विशिष्ट पहिचान हराउने खतरा बढेको छ । यही तथ्यलाई अनुभूत गरेर होला शायद जनकल्याण प्रतिष्ठानले झापा लगायत देशका छयालीस जिल्लामा धर्म, संस्कृति, नैतिकता, संस्कार तथा सदाचारका कक्षाहरु सञ्चालन गरिरहेको छ ।

प्रतिष्ठानले सत्ताइस वर्षअघि धादिङको एउटा गाउँमा स्कूल जाने उमेर समूहका अठ्ठाइस जना विद्यार्थीलाई नैतिकता, सदाचारिता, धर्म र संस्कारका बारेमा सचेतना प्रवाह गर्न थालेको थियो । त्यही प्रतिष्ठानले अहिले झापामा मात्रै पच्चीस स्थानमा संस्थागतरुपमै अनौपचारिक कक्षा सञ्चालन गरिरहेको छ । संस्कारयुक्त शिक्षा प्रदान गर्न एकल अभियान चलाइरहेको प्रतिष्ठानका झापा अध्यक्ष शंकर भट्टराईले जानकारी दिएका छन् । पछिल्लो पुस्तामा आधुनिकताको प्रभावमा परम्परागत मूल्य र मान्यता ह्रास आइरहेको छ । यस्तोमा मानिसको सबैभन्दा ठूलो गुण नैतिक आचारण हो त्यसैले सर्वोच्च प्राणीको विशेषताको रक्षा गर्न सक्छ ।

सदाचार हराउँदै गएका बेला प्रतिष्ठानको अभियानले कलिला बालबालिकालाई नैतिकतासँगै संस्कार, भाषा, गणित, ज्ञान–विज्ञान, हस्तकला, स्वास्थ्य एवम् शारीरिक शिक्षाको महत्वका बारेमा सचेत र व्यवहारकुशल बनाउन सकियो भने त्यो समाजको दिगो विकासको पक्षमा हुन्छ । पश्चिमी शिक्षा, संस्कार, संस्कृति र धर्मले थिच्दै लगेको समय हाम्रो भविष्यका रुपमा रहेका बालबालिकालाई संस्कारयुक्त बनाउन सकिए नेपालको मौलिकता र मौलिक पहिचानको पनि संरक्षण हुन्छ । औपचारिक शिक्षा कै रुपमा प्रदान गर्न थालिएको यो अभियानसँग सम्बद्ध सबै स्याबासीका पात्र छन्, त्यसैले अभियान पूर्णरुपले सफल हुनुपर्छ । यसले मात्र हाम्रा विशिष्टतामाथि भइरहेको अतिक्रमण र विचलन रोक्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here