‘कोशी’ साझा नाम बन्नुपर्छ

0
135

प्रदेश सभाको पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको औपचारिक शुरूवात भएको ६२औं दिनमा बुधबार प्रदेश नं. १ ले ‘कोशी’ नाम पाएको छ । चौथो मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न सफल भएका छन् । एमालेले अघि सारेको यो नाममा कांग्रेस, राप्रपा र माओवादी केन्द्र पनि सहमत भए । साना अन्य दलले किराँत–लिम्बुवान–सगरमाथा नाम अघि सारेका थिए । तर, प्रदेशसभाको बहुमत कोशीको पक्षमा उभियो । प्रदेश नामकरण दुई तिहाइभन्दा बढी मतले पारित भएको छ र प्रस्तावका पक्षमा ९३ सदस्यीय प्रदेश सभाका ८२ मत परेको छ । विपक्षमा भने जम्मा चार मत परेको थियो भने छ सांसद अनुपस्थित थिए ।

प्रदेशले आफ्नो नामकरण प्रदेश सभाबाट आफैंले गर्नुपर्नै दायित्व पूरा गर्न यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारका रूपमा हिमालदेखि पहाड र तराईको भू–भागमा कोशी नदी प्रवाहको क्षेत्रभित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको भनी सत्तापक्षले प्रस्ताव राखेको थियो भने नेपाली कांग्रेस, राप्रपा र माओवादी केन्द्रले समर्थन गरेका थिए । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा (एस) का राजेन्द्र राई मुख्यमन्त्री हुँदा नामकरण सम्भव भएको थिएन । नामकरण मुख्य रूपमा संसदको दायित्व भए पनि केन्द्रीय गठबन्धनमा राष्ट्रपति चुनावले खटपट ल्याएकै बेला माओवादी, कांग्रेस र राप्रपाको समर्थन जुटाएर नाम राख्न सफल भएकाले यसको मुख्य जस मुख्यमन्त्री हिक्मत कार्कीले पाएका छन् ।

कोशी प्रदेश गौरवान्वित नाम हो । कोशी जलाधारको गर्भ गृहको जगमा पूर्वी नेपाल भूखण्डको प्रदेश नामकरण हुनु इतिहास र सभ्यताको उषाकालदेखिको नेपाल महात्म्यको समुचित सम्बोधन हो । जलाधार मानव सभ्यताको प्राण हो । समस्त चराचर जीवजगत्को रक्षा, अस्तित्व र विकासको अविच्छिन्न श्रृंखला यसैसँग गाँसिएको छ । आज जलाधार मानव सभ्यताको प्राण हो भन्ने गुरुत्व र मर्म बुझ्न सक्नुको परिणाम प्रदेश नं. १ ‘कोशी प्रदेश’का रूपमा सम्बोधित हुन पुगेको छ । २५,९०५ वर्ग कि.मि. क्षेत्रफल, १४ वटा जिल्ला, ८८ गाउँपालिका, ४६ नगरपालिका, दुई उपमहानगरपालिका र एउटा महानगरपालिका गरी एक हजार एक सय ५७ वार्डसहित एक सय ३७ वटा स्थानीय तह भएको कोशी प्रदेश सबैको साझा नाम बन्न जरुरी छ । लामो समयसम्म प्रदेशको नामकरण गर्न नसकेर आलोचना खेपिरहेको र ‘प्रदेश नं. १’ बाट काम चलाइरहेको पृष्ठभूमिमा ‘कोशी प्रदेश’ नामकरण हुनु सुखद् छ । यस सफलताका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश सभाका सबै सदस्यहरूलाई हार्दिक बधाई !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here