तरकारीको भाउले किसान चिन्तित

0
126

मोरङ ।

लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् ।

टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् । अघिल्लो साल प्रति किलो रु. ६० सम्ममा बिक्री भएको सिमीको यो साल भने २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्थानीय कृषक डम्बरकुमारी कार्की बताउँछन् ।

उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको संख्या बढ्दो छ । सिञ्चाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन् । तरकारी खेतीबाटै मनग्ये आम्दानी गर्दै आइएकामा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरुको भनाइ छ ।

नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ । लेटाङमा रहेका पाँच वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन् ।

वार्षिक रु. १०/१० करोड माथिको टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन । टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताउँछन् ।

समयमै बीऊ मल र बजार नपाउँदा किसान चिन्तित बन्दै गएका छन् । त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ । समयमै मल बीउ, आकाशेपानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बू बताउँछन् ।

उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला सहर काठमाडौँ र पोखरामा माग बढी हुने गरेको छ । जाँतेमा करिब पाँच सय हेक्टर जमिनमा एक हजार पाँच सय हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन् । समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here