अमेरिकी जासुसी संस्था सिआइए प्रमुखको नेपाल भ्रमण रोकिदा किन असन्तुष्ट छन सुरक्षा निकाय ?

0
75

काठमाण्डौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि सुरक्षा निकायहरू असन्तुष्ट देखिएका छन्।

स्रोतका अनुसार सिआइए प्रमुख बर्न्सको भ्रमणमा रोक लगाइएको विषयमा नेपाली सेनाले असन्तुष्टि जनाएको छ। सिआइए प्रमुख बन्र्सलाई नेपाल आउन रोक लगाउँदा अमेरिकाले दिँदै आएको सैन्य सहयोग, संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको उपस्थिति जस्ता विषयमा असर पर्न सक्ने भन्दै नेपाली सेनाले आपत्ति जनाएको हो।

‘संयुक्त राष्ट्रसंघमा नेपालको राम्रो उपस्थिति छ। अमेरिकाले पनि नेपाली सेना र सुरक्षा अंगलाई विभिन्न प्रकारका तालिमको अवसर उपलब्ध गराउँदै आएको छ। सिआइए प्रमुख औपचारिक रूपमा नेपाल आउन खोज्दा सुरक्षा दिनुको साटो नआउन भन्नुले राम्रो सन्देश गएन’, नेपाली सेनाबाट अवकाशप्राप्त एक रथीले भने।

राष्ट्रिय अनुसन्धान विभागका एक पूर्वप्रमुखले पनि सिआइए प्रमुख नेपाल भ्रमणमा आउँदैमा यहाँका सबै सूचना उनले बोकेर जान्छन् भन्ने भ्रम पाल्नु गलत भएको बताए। सिआइए प्रमुखको भ्रमणले दुई देशका सुरक्षा अधिकारीहरूबीचको सम्बन्ध प्रगाढ हुने भए पनि सरकारले सम्बन्ध बढाउने विषयमै रोक लगाएको ती पूर्वप्रमुखले बताए।

त्यसो त सिआइए प्रमुख बर्न्सको भ्रमणका बेला अमेरिकी सेनाको जहाजमा २ हजार थान हतियार र अत्याधुनिक गाडीसमेत ल्याउन लागिएकोे थियो। बर्न्सको भ्रमणसँग ती हतियार पनि उतै रोकिएका छन्। बन्र्सको जहाजसँगै ल्याउन लागिएका हतियार नेपाली सेनाले खरिद गरेको स्रोतको दाबी छ।

‘सिआइए प्रमुख विलियम्स जोसेफ बर्न्सले नेपाल सरकार समक्ष फागुन ३ गते बेलुकी ६:३० बजे काठमाडौं अवतरण हुने र ४ गते दिउँसो १: १५ बजे फर्कने कार्यतालिका पेस गरेका गरेका थिए’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सिआइए प्रमुखले भ्रमण गर्ने अवस्था छैन भनेर स्वीकृति नदिन निर्देशन दिएपछि मुख्यसचिव शंकरदास बैरागीले भ्रमण रोक्न परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए।

सन् २०२१ मा सिआइएको प्रमुखमा नियुक्त बर्न्स अमेरिकामा प्रभाव राख्ने शक्तिशाली व्यक्तिमा पर्छन्। उनको भ्रमण रोकिएपछि अमेरिकाबाट हुने अर्को उच्चस्तरीय भ्रमण पनि रोकिएको स्रोतको दाबी छ। अमेरिकाबाट यसअघि राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड, युएसआइडी प्रमुख सामन्थ पावर र दक्षिण एसिया मामिला ब्युरोकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तरको भ्रमण भइसकेको अवस्थामा सिआइएका प्रमुखको भ्रमण रोकेर प्रधानमन्त्री दाहालले कूटनीतिक क्षेत्रमा अपरिपक्व काम गरेको टिप्पणी जानकारहरूको छ। नागरिक न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here