कोशी प्रदेश नामाकरण गरिएको विरोधमा पथरी र बेलबारीमा फोनिजको प्रदर्शन

0
150

पथरीशनिश्चरे,

कोशी प्रदेश नाम राखिएको प्रति विरोध गर्दै आज मोरङको पथरी र बेलबारीमा प्रदर्शन भएको छ ।

बेलबारीमा नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) मोरङ र पथरीशनिश्चरेमा आदिबासी जनजाति नगर समन्वय समितिले छुट्टछुट्टै विरोध प्रदर्शन गरेका हुन् । बक्ताहरुले कोशी प्रदेश नामको पक्षमा भोट लगाएर पद र प्रतिष्ठाको लोभमा आफ्नै बाउको गुप्ताङ छेदन सरह काम गरेका बताएका छन् ।

कोशी खारिज गरेर प्रदेशको नाम किरात लिम्बुवान कोचिला राख्नुपर्ने तर्क प्रस्तुत गर्दै कार्यक्रमको प्रमुख अतिथि कमन देवान, प्रदेश समितिको निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, प्रदेश ईन्चार्ज भक्तशेर लिम्बू, केन्द्रीय सदस्यद्वय देवेन्द्र खापुङ, सुजता लिम्बू, प्रदेश कोषाध्यक्ष प्रेम देवान लगायतले विचार व्यक्त गर्नु भएको थियो ।

फोनिज जिल्ला अध्यक्ष दिवेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रम सचिव अनिल श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । बक्ताहरुले कार्यक्रममा जनताले जिताएर पठाएका प्रतिनिधिहरुले प्रदेशको नाममा समान्य विवेक प्रयोग नगर्नु दुःख लाग्दो बिषय भएको बताउनु भएको थियो ।

आजै पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा विरोध प्रदर्शन भएको छ । संगठनको नगर अध्यक्ष देवेन्द्र वनेमको नेतृत्वमा कोशी प्रदेश खारिज गर, किरात लिम्बुवान प्रदेश घोषणा गर लगायतको प्लेकार्ड बोकेर नारा जुलुस गरेका थिए ।

कार्यक्रममा नगर सचिव निता कुलुङ राई, राजेन्द्र गुरुङ, टुंगकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । बेलबारीमा मुख्य सडकमा र पथरीको रत्न चोकमा विरोध प्रदर्शन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here