यसकारण जरुरी छ स्ववियु निर्वाचन

0
195

कुनै अनपेक्षित घटना नभए २०७९ चैत ५ मा स्ववियु निर्वाचन हुनेछ । मिनी संसद मानिएको स्ववियु निर्वाचनले राजनीतिक दलको प्रभाव मापन पनि गर्दछ । राजनीतिक दललाई प्रतिबन्ध लगाइएको बेला स्ववियु परिवर्तनका पक्षधरको आन्दोलनको आधार थलो नै थियो । अहिले स्ववियुको साख पछिल्ला वर्षहरुमा खस्कँदो छ । २०६५ सालपछि निर्वाचन नै नियमित नहँदा स्ववियुको साख खस्किएको हो । अहिले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी गरेको छ । त्रिविको सक्रियतासँगै सबै विद्यार्थी संगठनमा स्ववियु निर्वाचनको तयारीमा जुटेका छन् ।

स्ववियु निर्वाचनलाई कुनै समय नेता उत्पादन हुने नर्सरी मानिन्थ्यो र हो पनि । आमरुपमा प्रभावशाली विद्यार्थीहरुले यसको नेतृत्व गर्थे । स्ववियु निर्वाचनको चर्चा शुरु हुने बित्तिकै घटना पनि हुन थालेका छन् । यस्तो हुनु राम्रो होइन । स्ववियुबाट विद्यार्थीका मुद्दाहरुका लागि पहल गरिने बाटो फेरिएको छ । हिजो र आजमा फरक छ । यो सबैले बुझेकै पाटो हो । विद्यार्थी संगठनहरु स्ववियुको निर्वाचनमा होमिइसकेको छन् । स्ववियु निर्वाचन नहुँदा विद्यार्थीका हकहितका बारेमा बोल्ने संस्था नभएकोले उनीहरू साझा संस्था चुनावमा होमिएका हुन् ।

प्रशासनिक ढिलासुस्ती छ । समग्रमा शैक्षिक उन्नयन, क्याम्पस प्रशासनको वृद्धि विकासका लागि स्ववियु अनिवार्य संस्था हो । त्यो संस्थाको अनुपस्थितिले सारा शैक्षिक संस्थाहरु धराशायी बनेका छन् ।
स्ववियु नभएपछि ठगेर खान पाइन्छ भन्ने प्रशासक र त्यहाँ कार्यरत कर्मचारीहरुको भावनाका कारण स्ववियुको बदनाम भएको छ । तर, यो विद्यार्थीका गुनासो सुन्ने र सम्बन्धित ठाउँ पु¥याउनुका साथै दबाब दिने संस्था हो । स्ववियुको अस्तित्व माथि प्रश्न उठेको अवस्थामा आन्तरिक तयारी गरेर भए पनि स्ववियु निर्वाचन नगरिनुको विकल्प छैन । फरक–फरक विद्यार्थी संगठनहरु प्रतिस्पर्धा गरेर आफू नेतृत्वको लागि तयार हुने ठाउँ हो –स्ववियु । शैक्षिक मुद्दामा काम गर्ने ठाउँ पनि हो । त्यसकारण स्ववियु निर्वाचन एकदमै जरुरी छ ।

स्ववियु निर्वाचन नहुँदा शैक्षिक मुद्दा र विद्यार्थी राजनीति कमजोर भएको छ । स्ववियु एउटा मात्र संगठनको विषय नभई आम विद्यार्थीको चासो र चिन्ताको क्षेत्र हो । निर्वाचनमा सबै विद्यार्थी संगठन सकारात्मक हुनुपर्छ । किनकि स्ववियु विद्यार्थीको हकहितका लागि स्ववियु निर्वाचन जरुरी भएको छ । लामो समय स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको पक्षमा आवाज उठाउनुपर्ने कुरा, विद्यार्थीको पक्षमा संघर्ष गर्ने कुरा नै बन्देज भएको जस्तै अवस्था छ । बेथिति र विसंगतिहरुको अन्त्यको निमित्त संघर्ष गर्ने र विद्यार्थीका लागि पनि आवाज उठाउने साझा थलो स्ववियु हो ।

फेरि स्मरण गरौं– राजनीतिक दल प्रतिबन्धित हुँदा उनीहरूले स्ववियु मार्फत नै दलको काम गर्थे यो चाहिँ बिर्सन नहुने कुरा हो । शैक्षिक अधिकार र विद्यार्थीको हकहितमा लड्ने थलो स्ववियु नै हो । स्ववियु चुनावले राजनीतिप्रति युवा पुस्ताको आकर्षण बढाउँछ । राजनीतिलाई सही ठाउँमा ल्याउनका लागि पनि स्ववियु निर्वाचन जरुरी छ । त्यसकारण सबै विद्यार्थी संगठन मिलेर चैत ५ मा नै स्ववियु निर्वाचन सम्पन्न गर्नै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here