राजनीतिक स्थिरता आजको आवश्यकता

0
131

प्रत्येक निर्वाचनका बेला राजनीतिक समीकरण बदलिनु नेपालको विशेषता जस्तै भएको छ । संसद विघटन गरे लगत्तै बनेको समीकरण संसदको निर्वाचनमा फेरिएर नयाँ गठबन्धनको सरकार गठन भयो । त्यसको चार महिना अर्थात् फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा फेरि नयाँ समीकरण बनिएको छ । यद्यपि सरकार गठन गर्दाका रास्वपा, राप्रपा समर्थन फिर्ता लिएर–नलिएर सरकारबाट फिर्ता भइसकेका छन् । यस अवस्थामा सरकारबाट पछिल्लो पटक बाहिरिएको नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने रणनीति अख्तियार गरेको छ । राजनीतिक वृत्तमा चुनावका लागि एउटा, प्रधानमन्त्री चयन गर्दा अर्को र राष्ट्रपतिको निर्वाचनमा झन अर्कै समीकरण बनाउने दलहरुको व्यवहार केबल सत्ता लिप्साको परिणाम हो भन्दा अतिशयोक्ति नहुने उदाहरण बनिएको छ ।

देश गणतन्त्र र संघीयताको यात्रामा हिँडेको धेरै भइसक्यो । त्यसलाई संस्थागत गर्दै राजनीतिक स्थिरता र भौतिक विकासको लक्ष्यमा हिँड्नु मूलधारका राजनीतिक दलहरुको एकमात्र अर्जुनदृष्टि हुनुपर्ने हो । तर, अझै पनि दलहरु सत्ता खोसाखोस कै लक्ष्य र गन्तव्यमा प्रतिष्पर्धा गर्दैछन् । राजनीतिले स्थिरताको बाटो नसमाइकन विकास वा समृद्धिको यात्राले गन्तव्य भेट्न सक्दैन । स्थिर राजनीतिक प्रणाली नभएकैले छिमेकी र विदेशी शक्तिहरु आ–आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यका साथ चलखेल गर्छन् र त्यसा ेभइरहेकै पनि छ । कुटनीतिक क्षेत्रका विदेशीहरुको बाक्लो आवागमन र हाम्रा नेतृत्व वर्गसँगको भेटघाटले राजनीतिमा षडयन्त्र र नैतिकताविहीन खेल भइरहेको जो कसैले बुझेका छन् ।

यस्तै खेलोफड्को, जालझेल र षडयन्त्रको राजनीतिक गतिविधिका बीच भएको राष्ट्रपतिको निर्वाचनले दुईमध्ये एक जनालाई राष्ट्रपति बनाउने नै छ । संविधानले संविधानको संरक्षक, राष्ट्रको अभिभावक तथा आलंकारिक भने पनि व्यवहारले प्रमुख शक्ति केन्द्र बनाएको राष्ट्रपतिको पद र व्यक्ति ‘तालुकवाला’ दलको आदेश पालक मात्र बनिँदै आएको, सात जना प्रदेशपति, सातै जना मुख्यमन्त्री, प्रधानमन्त्री, मन्त्री वा राष्ट्रपति जो जति निर्वाचित भएका छन् र हुन्छन् तिनको पहिलो उत्तरदायित्व दलप्रति नै देखिएकोले जनअपेक्षा पूरा हुने सम्भावना पनि छैन । यस्तोमा जिम्मेवार दलहरुले राजनीतिक उपलब्धीलाई व्यवस्थित र संस्थागत गर्दै प्रणालीप्रति विश्वास गर्ने वातावरण तयार गर्नुपर्छ । सम्पन्न निर्वाचन र त्यसको परिणाम त्यही लक्ष्यतर्फ उन्मुख हुन सकोस् र राष्ट्रले राजनीतिक स्थिरता प्राप्त गर्ने वातावरण पाओस् यही नै आजको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here