लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन

0
180

नवलपुर,

लघुवित्त वित्तीय संस्थाविरुद्ध विभिन्न भ्रम फैलाइएको भन्दै नागरिकलाई यसबारे बुझाउन राष्ट्रव्यापीरुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिएको छ ।

विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं लघुवित्त बैंकर्स सङ्घका पूर्वअध्यक्ष वसन्तराज लम्सालले लघुवित्त विरुद्ध फैलिएको हल्ला निराधार भएकाले नागरिकलाई यथार्थ बुझाउन अभियान सुरु गरिएको बताउनुभयो । कोरोनापछिको आर्थिक मन्दीले ऋण तिर्न गाह्रो हुँदा भ्रम फैलाइएको उल्लेख गर्दै उहाँले सङ्घ र सेवाग्राही जिम्मेवार नबनेको स्थानमा मात्र समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो ।

लघुवित्तले नियमविपरीत कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह पनि गर्नुभयो । लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भनेर गलत प्रचार गरिएकाले अहिले लघुवित्तले वर्षिकरुपमा बढीमा १५ प्रतिशत ब्याजदर र एक दशमलव पाँच प्रतिशत सेवा शुल्कमात्रै लिएको पूर्वअध्यक्ष लम्सालले जिकिर गर्नुभयो ।

“हामीलाई राष्ट्र बैंकले नियमन र निर्देशन गर्दै आएको छ” उहाँले भन्नुभयो, “लघुवित्तले वार्षिकरूपमा १५ प्रतिशत ब्याजदर र एक दशमलव पाँच प्रतिशत प्रतिशत सेवा शुल्क लिन पाउँछ । त्योभन्दा बढी ब्याजदर र सेवा शुल्क लिएको भए हामीलाई खबर गर्नु त्यस्ता संस्थाविरुद्ध कारबाही प्रक्रियामा हामी नै जान्छौँ ।”

लघुवित्तले ऋणीलाई ऋण दिने बेलामा बीमा कम्पनीसँगको सहकार्यमा बीमा गरिदिने र त्यसबारे ऋणीलाई जानकारी हुने पूर्वअध्यक्ष लम्सालको भनाइ थियो । “हामीले समुदायमा ऋण प्रवाह गरेका हुन्छौँ, बिनाधितो ऋण दिन्छौँ, कुनै भवितव्य परे ऋणीको परिवारलाई राहत हुन्छ भनेर हामीले बीमा गर्ने गरेका हौँ” उहाँले भन्नुभयो, “बीमा गर्दाको शुल्कबारे ऋणीहरूलाई हामीले बुझाउने गरेका छौँ ।” अहिलेको अवस्थामा अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्तले लिने ऋणको व्याज कम रहेको जनाउँदै उहाँले सदस्यलाई घरमै पुगेर सेवा प्रदान गर्नुपर्दा वार्षिकरुपमा १५ प्रतिशत ब्याजदर लिनुपरेको बताउनुभयो ।

लघुवित्त वित्तीय संस्थाकै कारण ग्रामीण क्षेत्रका महिलालाई उद्यमी बनाउन सफल भएको, सङ्घको सञ्जाल विस्तार गरी गाउँठाउँमै गुनासो सुन्नेर समाधान गर्ने व्यवस्था मिलाउन लागिएको, यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले अध्ययन गरी समाधान गर्न समिति गठन गरिसकेकोले त्यहाँ छलफल हुने पूर्वअध्यक्ष लम्सालले जानकारी गराउनुभयो ।

लघुवित्त वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा रहेका स्थानीय तहमा शाखा कार्यालय खोली ६४ वटा लघुवित्त वित्तीय संस्थामार्फत घरदैलोमै वित्तीय सेवा पु¥याउँदै आएका छन् । साठी लाख घरधुरीले १३ लाख समूहमार्फत काम गर्दै आएको सङ्घले जनाएको छ ।

महिलालाई वित्तीय साक्षरता, महिला सशक्तीकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको बताइएकोे छ । सङ्घले देशका ७७ वटै जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान सुरुआत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here