मुट्ठीदानको भरमा मानव सेवा आश्रम

४ चैत्र २०७९, शनिबार मा प्रकाशित

गलकोट,

पछिल्लो समय मानव सेवा आश्रम बागलुङमा आश्रित सहयोगापेक्षी तथा बेसहारा सडक मानवहरुको सङ्ख्यामा वृद्धि भएको छ ।

दाताको भरमा चल्दै आएको आश्रममा आश्रितको सङ्ख्या बढ्दै गएपछि आवास व्यवस्थापनमा समस्या भएपछि केही आश्रितलाई पोखरा शाखामा पु¥याइएको छ । एक साताअघि मात्रै मानव सेवा आश्रमबाट ११ जना आश्रितलाई मानवसेवा आश्रम पोखरा शाखामा स्थानान्तरण गरिएको छ ।

पुण्य तिथि, जन्मदिन, चौरासी पूजा र व्रतबन्ध जस्ता सामाजिक तथा धार्मिक कार्यका अवसरमा प्रदान गरेको खाद्यान्न र नगदबाट धानिँदै आएको मानव सेवा आश्रममा पछिल्लो समय आश्रितको सङ्ख्यामा समेत वृद्धि भएपछि आवासको समस्या देखिएको छ ।

बागलुङ नगरपालिका–३ स्थित अस्थायी टहरामा सञ्चालित बागलुङ शाखा साँघुरो भएपछि एक हप्ताअघि मात्रै पाँच महिला र छ पुरुषलाई पोखरा शाखामा स्थानान्तरण गरिएको मानव सेवा आश्रम बागलुङ शाखाका संयोजक विपना तामाङले जानकारी दिनुभयो ।

“अहिले सञ्चालित मानव सेवा आश्रम साँघुरो भइरहेको छ, नयाँ भवन बागलुङ–४ निरयघाटमा बनिरहेको छ, तर तत्कालका लागि आवास असुविधा भएर ११ जनालाई पोखरा पठाएका छौँ”, तामाङले भन्नुभयो, “बागलुङमा अहिलेसम्म आश्रमले खाद्यान्न खरिद गर्न परेको छैन, यहाँका सहयोगी दाताको भरमा आश्रम सञ्चालित छ, अहिलेसम्म आश्रममा जन्मदिन, पुण्य तिथि र विभिन्न सामाजिक कार्यमा प्राप्त हुने खाद्यान्न तथा नगद सहयोगले आश्रममा पुगेको छ ।”

आश्रममा रहेका आश्रितको औषधि उपचारका लागि भने अहिले समस्या भइरहेको आश्रमले जनाएको छ । अहिले मानव सेवा आश्रम बागलुङ शाखामा ४२ सहयोगापेक्षी बेसहारा सडक मानवलाई आश्रय दिएको आश्रमले जनाएको छ । त्यसमध्ये सबैभन्दा बढी बौद्धिक र शारीरिक अपाङ्गता भएका रहेका छन् । अहिले भवन निर्माणका लागि बागलुङका १० पालिका र गण्डकी प्रदेश सरकारबाट समेत सहयोग आइरहेको छ । बागलुङ–४ निरयघाटस्थित आश्रम निर्माणले गति लिइसकेको छ । आश्रम भवन निर्माणपछि आश्रममा धेरैभन्दा धेरै सहयोगापेक्षी बेसहारा सडक मानवलाई आश्रित गर्न सकिनेछ ।

विसं २०७३ मा स्थानीय पाँचजनाको पहलमा सुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकता पाउँदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ । अहिले आश्रममा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले नियमित रुपमा सहयोग गरिरहेका छन् । आश्रम मुट्ठीदानबाट सञ्चालित छ । नगरपालिकाको पहलमा व्यवस्थापन गरी सात रोपनी जग्गामा अहिले आश्रमको भवन बनिरहेको आश्रमका अभिभावक ओमबहादुर खड्काले बताउनुभयो ।

खड्काले बागलुङवासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मार्दै आफ्नो क्षमता बढाइरहेको जनाउँदै आफ्नै भवनसमेत तीव्र गतिमा बनिरहेको बताउनुभयो । आश्रमले रु १२ करोड लागतमा दुई वर्षदेखि सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ ।

भवनको अहिले ‘बी’ ब्लकको दुई तला र ‘सी’ ब्लक भवनको दुई तला र ‘ए’ ब्लक भवनको पहिलो तला निर्माण भइसकेको खड्काले बताउनुभयो । मानव सेवा आश्रमले आर्थिक वर्ष २०७८÷७९ मा गण्डकी प्रदेश सरकार, स्थानीय पालिका र विभिन्न व्यक्ति तथा संस्थाबाट सङ्कलित रु ९८ लाख ४६ हजार सङ्कलन गरेर भवन निर्माणमा खर्चेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा प्रदेशबाट रु ५० लाख, बागलुङ नगरपालिकाबाट रु आठ लाख, जैमिनी नगरपालिकाबाट रु एक लाख ५० हजार, बडिगाड गाउँपालिकाबाट रु १२ लाख, ताराखोला गाउँपालिकाबाट रु १२ लाख, बरेङ गाउँपालिकाबाट रु छ लाख, बेनी नगरपालिकाबाट रु चार लाख र गलकोट नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भएर काम भइरहेको छ ।

प्रदेश सरकारबाट भवन निर्माण नसकिँदासम्म निरन्तर रुपमा रु ५० लाख विनियोजन भइरहेको आश्रमले जनाएको छ । आश्रमले भवन निर्माणमा मात्रै सरकारी निकाय र दाताको सहयोगबाट रु तीन करोड बढी रकम खर्च गरिसकेको छ । केही वर्षमै आश्रमले सुविधा सम्पन्न भवन, तालिम हल, योगा कक्ष, नर्सिङ सेन्टर, पार्किङ तथा प्राङ्गण निर्माण गर्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here