श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णय

0
92

काठमाडौँ, 

सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताए ।मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताए।

मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गरे । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले हिन्दू धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिए ।

उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ ।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहेका छन् ।

समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताए। मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दू विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताए ।

कोषको प्रस्तावित गुरुयोजनाअनुरुप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उनले उल्लेख गरे । समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनअनुरुप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here