आयुर्वेद उपचारको नाममा भ्रामक प्रचार, प्रशासनको ध्यानाकर्षण

0
176

बिर्तामोड ।

अबैध आयुर्वेदिक औषधि बेचविखन गर्ने तथा आयुर्वेद उपचारको नाममा भ्रामक प्रचार गर्नेलाई कार्वाही गर्न नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र आयुर्वेद औषधि व्यवसायी संघ झापाले माग गरेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरिएको हो । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज झापाको तर्फबाट अध्यक्ष गोपाल सुवेदी र नेपाल आयुर्वेद औषधि व्यवसायी संघ झापाको तर्फबाट अध्यक्ष नर्वदा भट्टराईसहितको प्रतिनिधि टोलीले ज्ञापन–पत्र बुझाएको हो ।

नेपालको सीमावर्ती भारतीय क्षेत्रमा अवैध रुपमा उपचार केन्द्रका नाममा सञ्चालित केन्द्रहरुबाट नेपालीको स्वास्थ्यमाथि खेलवाड हुनुका साथै ठगी भइरहेको जनाइएको छ । सीमावर्ती भारतीय बजारमा अबैधानिक रुपमा खोलिएका विभिन्न नाम गरेका आयुर्बेद उपचार केन्द्रहरुमा ग्यारेन्टीका साथ उपचार निको नभए पैसा फिर्ता भनी झापा जिल्लाका विभिन्न शहर, बजार, गाउँमा भ्रामक पर्चा बाँड्ने, भित्ताहरुमा टाँस्ने, सञ्चारमाध्यमबाट खुलेआम प्रचारप्रसार गर्ने, नेपाली एजेन्टहरुलाई प्रति विरामी कमिशन दिई विरामीहरुलार्ई अनेक प्रलोभनमा पारी चर्को रकम असुली गर्ने कार्य दैनिक भइरहेको जनाइएको छ ।

त्यस्तो गतिविधिबाट मानव स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गम्भीर खेलवाड भइरहेको साथै आयुर्बेदिक औषधिका नाममा भारतीय औषधिहरु जुन नेपाल औषधि ब्यवस्था विभागमा दर्ता नभएका गैरकानूनी रुपमा वाथ, दम, रक्सी छुटाउने, मोटाउने, भिटामिन, खाना रुचाउने भनी झोलामा बोकेर गाउँ– गाउँमा गई मोटो रकम लिई अनेक भ्रामक आश्वासन दिई विरामीहरुलाई ठगी रकम असुली भएपछि फरार तथा अलपत्र पार्ने तथा उपचार गरिएका रोगहरु अझ जटिल बनेर क्यान्सरमा परिणत भर्ई जनधनको क्षति भइरहेको भन्दै नेपाल आयुर्बेद स्वास्थ्यकर्मी समाज झापा तथा नेपाल आयुर्र्बेद औषधि व्यवसायी संघले चिन्ता व्यक्त गरेको छ ।

यस्ता भ्रामक प्रचार तथा अबैध औषधिको खुलेआम बेचविखनको कारण झापा जिल्लामा लाखौं रकम लगानी गरेर नेपाल सरकारको स्वीकृति लिई संञ्चालनमा रहेका आयुर्बेद अस्पताल, क्लिनिक सेन्टर, आयुर्वेद औषधिका खुद्रा तथा थोक व्यवसायीहरुलाई क्षति भएको पनि जनाइएको छ ।

यस्ता छन् ५ बुँदे माग :

१. आयुर्वेदको नाममा हुँदै गरेका गलत तथा भ्रामक प्रचारप्रसार अविलम्ब रोकियोस् ।

२. खुलेआम रुपमा अबैध आयुर्बेदिक औषधिहरु झोलामा बेचविखन गर्ने समूह तथा व्यक्तिहरुलाई कानून बमोजिम कार्बाहीको दायरामा ल्याइयोस् ।

३. आयुर्वेद औषधि व्यवसायहरुलाई सम्मानजनक व्यवसाय गर्ने वातावरण तथा लगानी धरासायी बनाउन भएका विविध गैरकानूनी औषधिको विक्री वितरणमा रोक लागाइयोस् ।

४. सञ्चारमाध्यमबाट प्रसारित भ्रामक विज्ञापन तथा पत्रिकामा दैनिक आयुर्वेदका नाममा छापिने भ्रामक विज्ञापनहरु जनस्वास्थ्य सेवा ऐन २०७५ (२) विपरित कसैले विज्ञापन गरेको पाइएमा सजाय सोही ऐनको दफा ५३ को (घ) बमोजिम सजायको भागीदार बनाइयोस् ।

५. भारतीय सीमामा खोलिएका अवैध उपचार केन्द्रहरुको नाममा नेपालको सीमाभित्र भित्तामा टाँसिने ग्यारेन्टीसहितका भ्रामक पम्प्लेट, पर्चा लगायतका सामाग्री नेपालमा प्रतिवन्ध लागाइयोस् ।

जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४५ (२) मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने कानूनी ब्यवस्था हुदाँ हुँदै पनि सिमामा भइरहेको त्यस्तो गतिविधिमाथि कडा निगरानी र कार्वाही गर्नुपर्ने उनीहरुको जोड छ ।

पटक–पटक आयुर्वेदको हकहितको लागि विभिन्न माग पत्र, ज्ञापन पत्र, ध्यानाकर्षण–पत्र सम्बन्धित सरोकारबालासँग पेश गरे पनि आयुर्वेद क्षेत्र अन्तर्गत पर्ने आयुर्वेद औषधि व्यवसायहरु सँधै उपेक्षित भएको उनीहरुको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here