काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीमबहादुर रावललाई पार्टीबाट निष्काशनको तयारी गरेका छन् ।
रावलले पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै गएको चुनावमा टिकटसमेत नदिएका ओलीले अब पार्टीबाटै निष्काशन गर्ने तयारी गरेका हुन् । ओलीले सार्वजनिक कार्यक्रममै पार्टीविरोधी गतिविधि गर्ने, नेतृत्वको विरोध गर्ने तथा चुनावमा अन्तर्घात गर्नेलाई फ्याकेर पार्टीलाई बलियो बनाउनुपर्ने बताउँदै आएका छन् । उनले भीम रावललाई पटक पटक निशाना साध्दै आएका छन् ।
रावलले ५० वर्ष रगत पसिना बगाएको पार्टी कसैको लहडमा नछोड्ने बताइरहँदा ओली अब निष्काशन गरेर अघि बढ्ने निष्कर्षमा पुगेको नेताहरु बताउँछन् । यसैकारण ओलीले रावललाई निरन्तर किनारा लगाउने, बाइकट गर्ने गर्दै आएका छन् । हालै ओलीले उपाध्यक्ष विष्णु पौडेललाई मिसन ग्रासरुटमा अछाम पठाएर रावलको गृहजिल्लामा उनको पकड तोड्ने प्रयास गरेका थिए । तर सम्भव भएन ।
पौडेलले ओलीकै लाइनमा अछाम पुगेर रावललाई लल्कारेका छन् । रावलले पनि एमालेले अति गरे विकल्प खोज्ने चेतावनी दिएका छन् । सके रावललाई एमाले छोड्न बाध्य पार्ने र नभए अनुशासनको कारवाही गरेर निष्काशन गर्ने ओली समूहको रणनीति रहेको बुझिएको छ ।


























