सामुदायिक विद्यालयमा आकर्षण बढ्दै

0
106

इलाम ।

गुणस्तर शिक्षा पाउने प्रलोभनमा धेरै अभिभावकले सामुदायिक विद्यालयलाई छोडेर आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने चलन बढेको छ । तर, ठिक यसको विपरीत बनेको छ इलामको पश्चिमी भेगमा रहेको फाकफोकथुम गाउँपालिका ५ नम्बर वडास्थित लुम्देमा अवस्थित जलकन्या आधारभूत विद्यालय ।

जहाँ ५ कक्षासम्म पठनपाठन हुने गर्दछ । हाल नयाँ शैक्षिक शत्रको शुरुवातमै एक सय २० जनाभन्दा बढी विद्यार्थी संख्या पुगेका छन् । देशभरका कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुँदा त्यहाँ जागिर खाने शिक्षकले विद्यालय जाउँ कि नजाउँ ? भनेर अरेमरे पर्दै विद्यालय पुग्ने र हाजिर गरेर दिन कटाउन मुस्किल बनिरहेको अधिकांश खबरहरु सार्वजानिक भइरहेका छन् ।

यता, उही सेवासुविधा प्राप्त गर्ने जलकन्या आविका शिक्षकहरु भने विद्यार्थी पढाउन र गुणस्तर शिक्षा दिन भ्याइ–नभ्याइ छ । उनीहरुलाई कुनै दिन फुर्सद छैन । यो केवल उनीहरुले आफ्नो स्वार्थको लागि नभई विद्यार्थीको सुनौलो भविष्य निर्माण गर्न र सामुदायिक विद्यालयको शानलाई जगेर्ना गर्नु रहेको छ । यही किसिमले सामुदायिक विद्यालयमा मेहनत र लगानी गर्ने हो भने निजी विद्यालयहरूसँग प्रतिस्पर्धाको कुनै जरुरी पर्दैन आफै सामुदायिक विद्यालयमा आमनागरिकको आकर्षण बढ्ने एउटा मार्गचित्र यस विद्यालयले तय गरेको बुद्धिजीवीहरु बताउँछन् ।

फाकफोकथुम गाउँपालिकामा ४१ वटा सामुदायिक र एक गुम्बा शिक्षा गरी जम्मा ४२ वटा विद्यालय छन् । जसमध्ये यस विद्यालयको सबै गतिविधिलाई मूल्याङ्कन गरेर २०७५ सालमा गाउँपालिकाले सर्वोत्कष्ट विद्यालयका रुपमा पुरस्कृत गरेको थियो ।

२०७८ सालमा जिल्ला विकास समन्वयबाट पनि नमूना विद्यालय घोषण गर्दै सम्मान गरिसकेको छ । गुणस्तर शिक्षा प्रदान गर्न सफल यो विद्यालय पालिकाभित्रको उदाहरणीय मात्र नभई जिल्लाकै नमूना विद्यालयको रुपमा परिचित बनेपछि यहाँ पढ्न आउने विद्यार्थीको आकर्षण बढ्न थालेको विद्यालयका प्रधानध्यापक अशोक चौहानले जानकारी दिए ।

दिनहुँ विद्यार्थीको चाप बढेसँगै विगतदेखि प्राप्त गरेको शैक्षिक गुणस्तरलाई थामेर राख्न निक्कै चुनौति थपिएको उनको भनाइ छ । यस संस्थामा हाल चार जनाको दरबन्दी शिक्षक, बालबिकासका लागि तीन जना शिक्षक, निजी स्रोतबाट एक शिक्षक र एक कार्यालय सहयोगी छन् ।

विद्यालयले हाँसिल गरेको उपलब्धीलाई बचाउन अझै काजमा एक शिक्षक उपलब्ध गराई दिन पालिकामा आग्रह गरिएको उनले जानकारी दिए । शिक्षकहरुको तलबबाट केही रकम जम्मा गरेर एक निजी स्रोतका शिक्षकलाई सामान्य तलब खुवाउँदै आएको व्यथा उनले सुनाए । विगत केही वर्षयता यस विद्यालयको नजिँकैमा चल्दै आएका दुईवटा निजी विद्यालयका विद्यार्थी पनि यसै संस्थामा आउन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको हो ।

२०२० सालमा स्थापना भएको यो शैक्षिक संस्था विद्यार्थी संख्या न्यून भएका कारण २०७२ सालमा अन्य विद्यालयसँग गाभिने गरि छनौटमा परेको थियो । तर, विद्यालय परिवार, स्थानीय र सरोकारवालाको अथक प्रयासबाट संस्था जोगाएर राख्न सफल भएपश्चात् विद्यालयले आफ्नो उचाई बढाएको छ । यस संस्थामा पढ्ने विद्यार्थीहरु प्रायः सबै विषयमा अब्बल रहेको बताइएको छ । उनीहरुले राम्रो अंग्रेजी व्याकरण जान्ने मात्रै होइन शुद्धसँग स्तर अनुसारको अंग्रेजी बोल्न पनि सक्ने पालिकाका शिक्षा शाखा प्रमुख मतापसिं लिम्बूले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले गाउँपालिकाले यसै आर्थिक वर्षमा शिक्षा नियमावली निर्माण गरेको जानकारी गराउँदै सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने नीति तय गरेको बताए । शैक्षिक सत्रको शुरुबाटै निरन्तर अनुगमन गरिने उनको भनाइ छ ।

बजार क्षेत्रमा रहेका निजी विद्यालयका कारण केही आधारभूत विद्यालयमा विद्यार्थी संख्या शून्य रहेता पनि अन्य विद्यालयहरुमा यसैगरी विद्यार्थीको आकर्षण वृद्धि गर्न अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिसँग गाउँपालिकाको स्रोतसाधनले भ्याएसम्म विद्यालयलाई आवश्यकता अनुसारको साथ र सहयोगका लागि पालिकाले पहल गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here