इलामको फाकफोकथुम गाउँपालिका जिल्लाकै बिकट गाउँपालिकाका रूपमा हेरिन्छ । यहाँ अहिले सम्म कालो पत्रे त पुगेको छैन नै यहाँको खोलामा हाल सम्म एउटा पक्की पुल पनि निर्माण भएको छैन । बर्खाको समयमा घण्टौँ सम्मको यात्रापछि मात्र कालोपत्रे सडकमा पुगिन्छ । बर्खाको समयमा यातायात सञ्चालन नभएको कारण समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन् । सडक त खनिए तर हिउँदका लागि मात्र सहज छ । अहिले पनि यहाँका सबै ठाउँमा बिजुली पुग्न सकेको छैन । यो पालिका संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्बाङले लामो समय देखि चुनाव जितिरहेको क्षेत्रमा पर्दछ । सेवा सुविधाकै लागि यहाँबाट धेरै जसो मानिस तराई क्षेत्रमा बँसाईसर्न थालेका छन् । पालिकाको समग्र विकास र आगामी योजनाको विषयलाई लिएर फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालसँग भगीरथ भण्डारीले गरेको कुराकानी :
पालिकामा के कस्ता कामहरू सञ्चालन गरिरहनु भएको छ ?
निर्वाचन अगाडि हामीलाई जिताउन गरेका कबुलहरू जेजे थिए तिनै मुद्धाहरुलाई योजनाको रूपमा काम गरिरहेका छौ । पहिलो प्राथमिकता भनेको गाउँपालिका कार्यालयबाट जिल्ला सदरमुकाम आउने बाटोलाई अल वेदर बनाउने भन्ने छ त्यहीअनुसार र वडाबाट गाउँपालिका केन्द्र सम्म सहज रूपमा यातायातको सुविधा होस भन्ने हिसाबले त्यो कार्यक्रमलाई प्रमुख मुद्राका साथ अगाडी सारेका छौ । र अर्को भनेको यस क्षेत्रको आम्दानीको ठुलो श्रोत भनेको पशुपालन, कृषि हो यसलाई अझ व्यावसायिक र बढी प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा काम गरिरहेका छौ । चुनावको वेला हामीले गर्छौ भनेका विषयमा केन्द्रित भएर काम गरिरहेका छौ । पालिकाको विकास लक्षलाई भेट्ने गरी आवधिक योजनाहरू बनेका थिएनन् अहिले आवधिक योजना बनाउने अन्तिम चरणमा पुगेका छौ । हामीसँग कच्ची सडक खनिएका छन् कति छन् भन्ने यकिन छैनन्, हामी सडकको गुरु योजना बनाउँदै छौ । अहिले सबैभन्दा धेरै गाउँपालिकाको तथ्याकंको काम गरिरहेका छौ । सँग सँगै भौतिक संरचनाहरूमा बाटोहरूको काम गरिरहेका छौ, तीन चार वर्ष अघि पालिकामा अस्पताल बनाउने सङ्घीय सरकारले ल्याएको अवधारणा यहाँ सुरु हुन सकेको थिएन अहिले १५ शैयाको अस्पताल निर्माणमा ठेकका लागिसकेको छ । गाउँपालिकाको प्रशासकीय भवन थिएन भवन बनाउनका लागि भर्खरै सहमति भइसकेको छ ठेक्काको चरणमा पुगेका छौ र हामीले गरेका बाचा अनुसार नै काम गरिरहेका छौ । पालिकाको सबै क्षेत्रमा विद्युत् विस्तारका लागि पनि ठेक्का लागेर काम सुरु भइसकेको छ । पालिकाले बेरुजुलाई पनि क मगर्ने गरी कामलाई अगाडी बढाईरहेका छौ ।
बाह्रमासे सडक सञ्चालन गर्ने गरी के काम भइरहेको छ ?
यसका लागि हामीले गाउँपालिकाको केन्द्रबाट जिल्ला सदरमुकाम र प्रशासनिक सेवा केन्द्र मंगलबारे आउनका लागि बाटोलाई बाह्रै महिना चल्नका लागि बनाउनु पर्छ भनेर हामी लागेका छौ । त्यो अनुसार पालिका केन्द्र रहेको आमचोकबाट कोल्बोटे हुँदै राँके निस्कने बाटो र आमचोकबाट कोल्बोटे, एकतप्पाहुँदै मङ्गलवारे पुग्ने बाटोलाई सकेसम्म यस वर्ष बर्खामा पनि गाडी कद्नेगरिको अवस्थामा पु¥याउनेगरी लागि परेका छौ । त्यसका लागि अहिले सोलिङ, ग्राभेलका काम भइरहेका छन् । तर विडम्बना भन्नुपर्छ इलाम जिल्लालाई चा रखोल भनिन्छ, चार खोल मध्ये एक खोल चाहि फाकफोकथुममा पर्छ र इलाम जिल्लामा एउटा पनि मोटर बेल पुल नभएको गाउँपालिका फाकफोकथुमनै हो । बाटो चाहिँ अलवेदर बनाउँछौ तर अहिले पक्की पुल बनाएर गाडिकुदाई हाल्ने गरीको त्यो क्षमता छैन । स्रोत व्यवस्थापन गर्दा पनि अहिले प्राविधिक पनि छैन, सस्तो दरले गर्नका लागि स्थानीय श्रोत साधन पनि छैन, अहिले त होम पाइपबाट गाडी चल्दै छन् । त्यसैले खोलाकै कारणले रोकियो भने मात्रै नत्र बाहै महिना गाडी कुद्ने गरीको हुन्छ । खोलामा होमपाईप बगाएन भने यसै वर्ष आमचोक पुग्न गम्बुट लगाउनु पर्दैन । पुल निर्माणका लागि पनि डिपिआर गरेर प्रदेशमा पठाइसकेका छौ ।
यहाँको मुख्य व्यवसाय कृषि र पशुपालन हो, कृषिलाई उत्पादन मुखी बनाउन के कस्ता योजना छन् ?
यहाँ कृषि सँगै सबैभन्दा बढी पशुपालन व्यवसाय सञ्चालनमा छन् । यहाँका नागरीकको प्रमुख आम्दानी भनेको पशुपालन हो । यो व्यवसाय जसरी फस्टाएर गएको छ यसलाई यही हिसाबले कायम राख्दै अझ व्यवस्थित बनाउनु पर्छ भन्ने हिसाबले हामी लागेका छौ । र अहिले बाहिरबाट आउने पशुमार्फत रोगहरू भित्रिन नदिन कस्तो किसिमको कार्यक्रम गर्ने भनेर तयारी गरिरहेका छौ ।
विशेषत खोरेँत रोगबाट बचाउन सकिएन र यहाँ उत्पादन भएको दूधमा परीक्षण गर्दा खोरेँत देखियो भने यहाँको दूध, घ्यू, छुर्पीहरूको निकासी रोकिन सक्छ त्यो रोकियो भने ठुलो बेहाल आउन सक्छ त्यसले गर्दा हामी अहिले बाहिरबाट आएका पशुलाई खोरेँत परीक्षण नगरी, क्वारेन्टाईनमा नराखी पशुहरूलाई ल्याउन नदिने भनेर कार्यक्रम बनाउँदै छौ । यो सँगै खोपका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । कृषि क्षेत्रलाई व्यवस्थित बनाउन के गर्ने भनेर यहाँका सहकारी, व्यवसायी सँग के गर्दा प्रभावकारी हुन्छ भनेर व्यापक छलफल गरिरहेका छौ । हतारमा निर्णय गर्नु भन्दा कृषक सँगै छलफल गरेर काम थाल्दा प्रभावकारी हुने भएकाले लगानी खेर जान नदिने गरी छलफलका चरणहरूमा लागेका छौ । यस क्षेत्रमा वोटबिरुवा र फलफूलको नर्सरी कालागि वन कार्यालय सँग पनि छलफल अघि बढाएका छौ । यसमा जग्गा व्यवस्थापनका लागि लागिरहेका छौ नर्सरीमा भएका बिरुवा यहाँका किसानलाई नै वितरण गरिने छ । लोक प्रियताका लागि वितरण मुखी कार्यक्रम छैनन् तर दीर्घकालीन रूपका कार्यक्रमलाई अघि सारेका छौ ।
काम गर्न के के चुनौती छन् ? कर्मचारी सँगको तालमेल मिलेको छ कि छैन ?
बाधा त छैनन् तर जन प्रतिनिधि चाहिँ जनता सँग जोडिएर चुनाव जिते आएको हुँदो रहेछ त्यो कारण जनताको आकंक्षा अनुसार चल्न खोज्छौ । कर्मचारी लोकसेवा पास गरेर आएको जागिर सँग जोडिएर आएको हुँदो रहेछ । उसलाई भएन भने त्यत्रो ठुलो मतलब भएन तर हामीलाई भएन भने भोलि जनतालेनै कार्वाही गर्छन् तर कर्मचारीलाई आलोचना आयो भने सरुवा भएर जाँदा पनि हुन्छ तर जनप्रतिनिधिले त त्यही काम गर्ने हो त्यो कारण कामको स्पिट चाहिँ नमिल्दो रहेछ । कर्मचारीले असहयोग गर्ने प्रवृति अहिले सम्म छैन तर कामको स्पिट चाहिँ नमिलेको अवस्था छ ।
कर्मचारी र जनप्रतिनिधि मिलेर भ्रष्टाचार त भएको छैन ?
कतिपय ठाउँमा कर्मचारी र जनप्रतिनिधि मिलेर रकमको चलखेल गरेको समाचार आईरहेका छन् तर फाकफोकथुम गाउँपालिकामा यस्तो छैन । कर्मचारीले कर्मचारीको काम गर्ने जनप्रतिनिधिले जनप्रतिनिधिको काम गर्ने हो । कर्मचारीले गर्ने काममा जनप्रतिनिधिको आवश्यक निगरानी छ अनावश्यक हस्तक्षेप पनि छैन र भएका कार्यक्रममा जनप्रतिनिधि जनप्रतिनिधिकै हिसाबले अगाडी छ र त्यसमा मलाई लाग्छ दुवै पटिबाट दबाब छैन । पालिका नीति र नियममा रहेर काम अघि बढेको हुँदा मिलेमतोको काम अहिले पनि छैन र अबका दिनमा पनि हुँदैन ।
ग्रामीण क्षेत्रबाट सुविधा सम्पन्न ठाउँमा बसाई सराइको अवस्था बढ्दो छ, यहाँको अवस्था कस्तो छ ?
बसाँई सरेर जानेको सङ्ख्या त अत्यधिक छ । यसमा दुई वटा कारण छन् । हिजो हाम्रोमा नगदे वालिको रूपमा अलैँची राम्रो फल्ने र मूल्य राम्रो पाएपछि यहाँका धेरै जसोले झापा मोरङतिर केही न केही जग्गा किनेका छन् । अर्को अहिले मानिस कसरी पैसा धेरै कमाउने भन्ने सोच्ने र विदेश गयो भने चाहिँ पैसा कमाई हालिन्छकी भनेर उमेर पुग्ने बित्तिकै विदेश जाने र युवा जति सबै विदेशमा भएपछि उसको परिवारचाहिँ विदेशबाट पैसा आउँछ भनेर एउटा नानी पठाउने नाममा, अर्को उतै केही न केही व्यवसाय गर्ने भन्ने सोचले बसाई सराई बढिरहेको छ । तर एउटा राम्रो पक्ष के छ भने बसाई सरेर गाएका करिब ८० प्रतिशत मानिसले जग्गा बेचेका छैनन् । त्यसले गर्दा भोलि यहाँका सेवा सुविधा राम्रो भयो भने, कृषिलाई व्यवसायीकरण गर्न सक्यौ, विदेशमा जस्तै यहाँ हाम्रो पनि उत्पादन हुन्छ र उत्पादन भएको चिज बिक्छ भन्ने कुराको ग्यारेन्टी भयो भने फर्किएर अउँछन भन्ने आशा चाहिँ छ । अहिले आम्दानी चाहिँ पहाडको पनि लिने तर बस्न चाहिँ तराईतिर बस्ने गरेको अवस्था छ । कतिले त नगदे बालीको धाएर खेती गर्ने गरेका स्थिति पनि छ ।
आगामी दिनका योजना कसरी अघि बढाउनु भएको छ ?
अहिले हामी सबैभन्दा बढी कृषिमा कसरी व्यवसायीकरण गर्ने भन्ने हो मिन भने मुख्य आम्दानीको श्रोत नै पशुपालन र कृषि हो । अरू यातायातका कुरा भनेको भौतिक पूर्वाधार निर्माण हा, पूर्वाधार सँगसँगै मान्छेलाई त्यहाँ टिकाई राख्न भात खाने बाटो त बनाउनु परो, आम्दानीको श्रोत त बनाउनु परो । त्यो भनेको पहिलो पशुपालन नै हो । यसलाई अझ व्यवसायीकरण गर्न कसरी सकिन्छ भनेर उन्नत जातका घाँसहरू कसरी लगाउन सकिन्छ, थोरै घाँसले धेरै पशुपालन गर्न के गर्नुपर्छ भन्ने अध्ययन पनि गछौ । कृषिमा नगदेबाली लगाउनका लागि प्रोत्साहन गरियो भने पनि आम्दानी गर्ने बाटो भयो भने मान्छे भोलि फर्केर आउन सक्ने हुन्छ । यहाँको अत्यन्त उर्वर भूमि छ यसलाइ बाँझो राख्न नदिनका लागि हामी कार्यक्रमहरू तयार गर्छौ ।
अर्थतन्त्र कमजोर भएको भन्दै अहिले बजेट कटौती भइरहेको छ । आगामी योजनालाई कसरी अघि बढाउनु हुन्छ ?
सङ्घीय सरकारको नितिका आधारमा प्रदेश र स्थानीय सरकारको बजेट निर्धारण गर्छ । त्यही नीतिमा टेकेर हामी पनि सबै क्षेत्रमा समेट्ने गरी बजेट विनियोजन गरेर अघि बढ्छौ । पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्ने छ । यहाँको उत्पादन बाहिर पु¥याउनका लागि पहल भइरहेको छ । यहाँको उत्पादन भएको वस्तु अन्तर्राष्ट्रिय बजारमा लैजाने गरीको जहिले सम्म सङ्घीय सरकारले त्यो कार्यक्रम बनाउँदैन अथवा अन्य देशबाटै मात्र सामान ल्याइरहने र छिमेकी सँग जहिले सम्म घुँडा टेकी रहन्छ त्यतिन्जेलेसम्म हाम्रो अर्थतन्त्र सुधार भएर जाँदैन । अहिले पनि भएको त्यही छ । यही उत्पादन हुनुपर्ने गोल भेडा त बाहिरबाट ल्याउँदा विषादी परीक्षण गर्न हिम्मत गर्न सक्दैन सङ्घीय सरकार भने स्थानीय सरकारको पहुँचभन्दा बाहिरको कुरा हो ।
स्थानीय सरकारले जतिसुकै ठुला कुरा गरे पनि यस्तो काम गर्न सकिँदैन । विषादी प्रयोग गरेका वस्तु सस्तोमा आउँछन् तर यहाँ उत्पादन भएको अर्ग्यानिक वस्तु चाहिँ त्यसै लागत बढी हुन्छ । अगार्नीक चिज बाहिर लैजान सङ्घीय सरकारले मार्केट खोजी दिने हो भने यहाँको अर्थतन्त्र सुधार हुन सक्छ । यहाँ उत्पादन भनेको, अदुवा,अलैँची कुचो, जस्ता वस्तु उत्पादन गरेर बाहिर बेने हो त्यसका लागि मार्केटकै आवश्यकता रहेको छ यसका लागि पहल गरिरहेका छौ । दिन दिनै बजेट घटेर आइरहँदा सोचे जस्तो काम त नहोला तर कामको सुरुवात भएका छन् ।