चार पार्टी एकीकरण, लिङ्देन निष्कासित

0
118

झापा ।

दश बुँदे सहमति गर्दै छुट्टाछुट्टै चार वटा पार्टीबीच एकीकरण भएको छ ।

झापाको बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो ।

पहिचानका मुद्दालाई एकढिक्का भएर अगाडि बढाउने उद्देश्यका साथ चारपार्टी एकीकरण गर्दै नागरिक उन्मुक्ति पार्टी (एकीकृत) घोषणा गरिएको संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीका प्रदेश संयोजक जीवन धामी चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, कोचिला एकता संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी र नागरिक सशक्तिकरणका लागि जागरण अभियानका सदस्य दामोदर पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा नागरिक उन्मुक्ति पार्टी एकीकृत बनाउने घोषणा गरिएको हो ।

प्रदेशको संख्या निर्धारणको आधारमा प्रदेश प्रतिकका रुपमा ताराहरु रहने गरी नयाँ झण्डा निर्माण गर्ने, कार्य विधान मस्यौदा समितिले पार्टीको झण्डा टुङ्गो लगाउने सहमति भएको छ भने पार्टीको चुनाव चिन्ह ढकिया राख्ने तथा शासकीय स्वरुप आलङ्कारिक राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने सहमति भएको छ । चार पार्टीबीच गत फागुन १८ गते भएको पाँच बुँदे सहमतिलाई समावेश गर्ने तथा पार्टी साहित्यमा सामुदायिक समाजवादलाई अवलम्वन गर्ने सहमति भएको छ ।

राज्य पुनर्संरचना गरी पहिचानका आधारमा १० प्लस एक १ लाई आधारसूत्र मानेर राज्य समिति कार्यकारी अधिकार सम्पन्न बनाउन भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता महाधिवेशनमा लैजाने चार पार्टीबीच सहमति भएको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट प्रस्तावित पदाधिकारी तथा सदस्यहरुमा संघीय अध्यक्ष ज्ञानबहादुर गुरुङ रहेका छन् । त्यस्तै उपाध्यक्षत्रयमा अम्वरबहादुर लिम्बू (एवी पन्धाक), अशोक चेम्जोङ र इन्द्रकुमारी लिम्बू (इन्दिरा), महासचिवमा दिलकुमार लावती, सहसचिवत्रयमा त्रिनारायण राजवंशी, पदम अधिकारी, ङिमारिजी शेर्पा रहेका छन् ।

त्यस्तै अतिरिक्त विभागीय प्रमुख सहित केन्द्रीय सदस्यहरुमा पूर्णकला लिम्बू (तेयुङ) , रमेश गजमेर, विष्णुकुमार लिम्बू (सेसेहाङ), लक्ष्मीप्रसाद मावो, गजेन्द्रमान चेम्जोङ फ्याक, विक्रम बराइली, दामोदर पाण्डे (प्रवेश), धनबहादुर पन्धाक सुब्बा, सुष्मा कन्दङ्वा, भक्तबहादुर लिम्बू, उपेन्द्र मावो, अमरवहादुर लिम्बू ‘अमर’, चन्द्रराज आङ्दाम्वे रहेका छन् । पार्टीका केन्द्रीय सदस्य यथावत रहने सहमति भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

यसैबीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकलाई पद मुक्त गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अध्यक्ष लिङ्देनबिरुद्व विभिन्न ४४ बुँदे अभियोग लगाउँदै पार्टीबाट निष्काशन गरिएको संघीय अध्यक्ष गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here