नेपालको पर्यटन उद्योग र यसको संघीयता

0
153

नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि र पर्यटन नै हो । तर, दुर्भाग्यबस हाम्रा यी दुबै अर्थतन्त्रका प्रमुख आधारहरु संकटग्रस्त छन् । कृषिमा धेरै समस्याहरु छन् । वर्षांै अगाडिदेखिका यस्ता समस्याहरु अहिलेसम्म सम्बोधन हुन सकेको छैन । हामी हाम्रो देशको अर्थतन्त्रलाई कृषिमा आधारित अर्थतन्त्र भन्छौं अथवा हामी हाम्रो देशलाई कृषिप्रधान देश भनेर सम्बोधन गर्छौं, तर देशमा धेरै कृषि उपजहरुको आयात हुने गर्ने गर्दछन् । यदि तपाईले आजभन्दा चालिस÷पचास वर्ष अगाडिको कुनै पुस्तक हेर्नुभयो भने कृषिका समस्याहरु भनेर तिनै समस्याहरुको उल्लेख गरिएको भेट्नुहुन्छ ।

जुन आजका पुस्तकहरुमा पनि तपाईले तिनै समस्याहरु भेट्नुहुन्छ, उदाहरणका लागि कृषिका समस्याहरु भनेर परम्परागत खेती प्रणाली, सिँचाईको सुविधाको अभाव, संस्थागत ऋणको अभाव, बजारको समस्या आदि पाइन्छ । यसरी बर्षांै समय फेरिँदा पनि राजनीति परिवर्तन हुँदा पनि हाम्रा केही समस्याहरु कहिले फेरिन सकेनन् । यस्ता विडम्बना हामीले सधैँ भोग्नुपर्ने बाध्यता रहेको छ । आज कृषिमा भन्दा पनि पर्यटनको विषयमा छोटो चर्चा गर्दै पर्यटनका समस्याहरु तथा तिनका समाधानका उपायहरुका बारेमा छोटकरीमा चर्चा गर्ने प्रयास गर्दछु ।

नेपालमा पर्यटनको उच्च सम्भावना छ । विश्वका धेरै राष्ट्रहरुले पर्यटन व्यवसाय अपनाएर आफ्नो राष्ट्रलाई समृद्धि बनाएका उदाहरणहरू हामीसामु थुप्रै छन् । नेपालको पनि पर्यटन व्यवसाय गर्नका लागि सम्भावित क्षेत्रहरू पर्याप्त देखिन्छन्, तर पर्यटन विकासको लागि राज्यस्तरबाट जति सहयोग हुनुपर्ने हो । त्यति मात्रामा भएको जस्तो लाग्दैन । उदाहरणका लागि नेपाल संघीयतामा गइसकेपछि नेपालमा तीन वटा सरकारहरू छन् । तीन वटै सरकारहरूको पर्यटन क्षेत्रमा पहल हुन जरुरी छ । एकीकृत योजनाहरु निर्माण गरेर अघि बढ्न जरुरी देखिन्छ । तीन वटै सरकारहरुले छुट्टाछुट्टै आ–आफ्ना क्षेत्रभित्रका पर्यटन विकास गर्नका लागि लगायत पर्यटकहरुलाई आकर्षण गर्नका लागि योजना तथा कार्यक्रमहरु निर्माण गरेर अघि बढ्न जरुरी देखिन्छ । समय धेरै परिवर्तन भइसकेको छ । मानिसहरूको सोचमा पनि ठूलो परिवर्तन आइसकेको छ ।

आजभोलि नेपालीहरु पनि पुनर्ताजगी तथा मनोरञ्जनका लागि विभिन्न सुन्दर ठाउँहरु, धार्मिक आस्थाका ठाउँहरुमा घुम्ने चलन उल्लेख्यरुपमा वृद्धि भएको हामी पाउँछौं । आन्तरिक पर्यटनलाई पनि व्यवस्थित गर्नसके पर्यटन व्यवसाय फस्टाउन सक्ने देखिन्छ । आन्तरिक पर्यटनले पनि पर्यटकीय क्षेत्रहरुमा आर्थिक चलायमान ल्याउन मद्दत पु¥याउने गर्छन् । आन्तरिक पर्यटकलाई हेर्ने छुट्टै प्रकारका योजनाहरु तर्जुमा गरिनुपर्छ, यो स्थानीय निकायहरुले गर्न सके उपयुक्त हुनसक्छ । केन्द्रीय सरकारले आवश्यक स्रोत र साधन जुटाइदिने तथा समुन्द्र पारका पर्यटन क्षेत्रहरुलाई व्यवस्थित गर्ने, आकर्षण गर्ने जस्ता योजनाहरु बनाउनुपर्छ । आन्तरिक पर्यटकहरु लगायत छिमेकी राष्ट्रका पर्यटकहरुलाई स्थानीय निकायहरुले तथा प्रदेश सरकारले योजनाहरुको तर्जुमा गरेर विकास गर्नतर्फ लाग्नुपर्ने देखिन्छ ।

हामी हाम्रो देशमा सगरमाथा छ, बुद्ध जन्मिएको देश हो भनेर गौरव मात्र गरिरहन्छौं । हाम्रो देश सुन्दर छ भनेर चिच्याई मात्र रहन्छौं, तर यसलाई व्यवस्थित ढङ्गले पर्यटन उद्योगको विकास गरेर आम्दानीको स्रोत बनाउनेतर्फ लागीपर्ने गर्दैनौं । यसो भनिरहेको बेला धेरैलाई लाग्ला कि स्थानीय निकायहरुले पनि पर्यटन व्यवसायको लागि केही गरिरहेकै छन् । तर, वास्तवमा भन्ने हो भने पर्यटन उद्योगलाई विकास गर्नकालागि यति मात्र प्रयास पर्याप्त छैन साथै भइरहेका कामहरु पुराना ढाँचाका मात्रै देखिन्छन् । आवश्यक परे दुई वा दुईभन्दा बढी स्थानीय सरकारहरू मिलेर, एक ठाउँ बसेर योजनाहरु निर्माण गर्न जरुरी देखिन्छ । एउटा कुनै स्थानीय क्षेत्रमा पर्यटनको सम्भावना धेरै देखिन्छ भने वरिपरिका अरु स्थानीय सरकारहरुले पनि पर्याप्त मात्रामा सहयोग गरिदिने गर्नुपर्छ । पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्छ र स्थानीय निकायहरुले आफूलाई आवश्यक पर्ने सहयोग माग्न कति पनि पछि पर्नु हुँदैन ।

जुनसुकै स्थानीय क्षेत्रको विकास भए पनि यसले नेपालको विकास हुने हो । त्यसैले एउटा क्षेत्रमा कुनै स्थानीय निकायले विकास गर्न चाहेको खण्डमा अरु स्थान वरिपरिका स्थानीय सरकारहरुले पनि सहयोग गर्ने नीति हुनुपर्छ । यहाँ हाम्रा वरिपरि भएका स्थानीय अनि क्षेत्रहरुका उदाहरणहरू दिन सकिन्छ । पर्यटन विकासका लागि रोङ गाउँपालिका, सूर्याेदय नगरपालिका, मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिकाले संयुक्तरुपमा काम गरे पर्यटनको विकासले गति लिन सक्छ । यस्तै यी चार वटै स्थानीय सरकारहरू मिलेर योजनाहरु तर्जुमा गर्ने, योजनाहरुको निर्माण गर्ने, छलफलहरु गर्ने जस्ता कार्यहरुले स्थानीय पर्यटन विकासको क्षेत्रमा पर्याप्त योगदान पुग्ने सम्भावना देखिन्छ । यसरी एकीकृत ढंगले स्थानीय निकायहरु अघि बढे आन्तरिक पर्यटनले उद्योगको क्षेत्रमा धेरै विकास हुन सक्ने सम्भावना देखिन्छ र यसले अन्तत्वगत्वा वाह्य पर्यटकलाई पनि बिस्तारै–बिस्तारै आकर्षण गर्न सक्छ र समग्र पर्यटन उद्योगलाई नै टेवा पु¥याउन सक्छ । यो त एउटा साधारण उदाहरण मात्र हो । यसरी स्थानीय सरकारहरू मिलेर पर्यटनको क्षेत्रलाई महत्व दिएर अगाडि बढ्नलाई धेरै योजनाहरु निर्माण गर्न सकिन्छ ।

पर्यटन व्यवसायको सबैभन्दा पहिलो शर्त भनेको यातायात क्षेत्र नै हो । यातायात को सुबिधा भएको ठाउँमा मानिसहरु जान चाहन्छन् । पर्यटक भनेका हामीले धेरै पैसा भएकालाई मात्र सम्झनुहुँदैन, हरेक साना ठूला व्यवसाय हुनेहरु सबैलाई पुनः र्ताजगी, मनोरञ्जन जस्ता कुराहरूको उत्तिकै जरुरी पर्छ । त्यसकारणले पर्यटन क्षेत्रको विकास गर्दा साना पुँजी भएका मानिसहरुलाई पनि हितमा राख्दै योजना निर्माण गर्नु वाञ्छनीय देखिन्छ ।

यातायातको सुविधा भए सम्बन्धित पर्यटकीय स्थलमा धेरै मानिसहरु पुग्न सक्ने सम्भावना रहन्छ । त्यसकारणले पर्यटकीय स्थलको विकास र विविधिकरणका लागि यातायातको उपयुक्त विकास हुनु पहिलो शर्त हो । शुरुमा निजी क्षेत्रको संलग्नताको सम्भावना कम देखिन्छ । त्यसकारणले स्थानीय सरकारहरुले केही समयका लागि निश्चित आचारसंहिताहरुको निर्माण गर्दै यातायातलाई अनुदानको पनि व्यवस्था गर्नुपर्छ । उदाहरणका लागि बिर्तामोड नगरपालिकाले रोङ गाउँपालिका तथा सूर्याेदय नगरपालिका अथवा इलाम नगरपालिकाको कुनै पनि पर्यटकीय स्थलमा जानका लागि उपयुक्त सार्वजनिक यातायातहरूको व्यवस्था गर्ने र आवश्यक भए अनुदानको व्यवस्था गर्ने हो भने थुप्रै मानिसहरु घुम्न, रमाइलो गर्न सम्बन्धित ठाउँमा जान सक्ने अवस्था रहने छ । तर, हाल त्यस्तो सार्वजनिक यातायातको विकास भएको पाइँदैन । यसो भए एउटा कुनै क्षेत्रमा मात्र पर्यटकहरुको चाप बढी हुने समस्यालाई पनि व्यवस्थापन गर्न सकिन्छ ।

यसरी हाम्रो देशमा राजनीतिक क्षेत्रमा संघीयताको आवश्यकताका बारेमा बहस चलिरहेका बेला पर्यटन उद्योगलाई भने संघीयता आवश्यक भएको देखिन्छ र पर्यटन उद्योगको संघीयताले भने पर्यटन उद्योगको विकासलाई धेरै ठूलो टेवा पु¥याउन सक्छ भन्ने मेरो विचार छ ।

(निरौला विपद् व्यवस्थापन, पर्यटन साथै समसामयिक गतिविधिका बारेमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here