शान्ति र अहिंसाको मार्गमा लागौं

0
41

भगवान विष्णुका दश अवतारमध्ये भगवान बुद्ध एक हुन् । उनै भगवान बुद्धको यस धराधाममा प्रकट भएको दिनलाई बुद्ध जयन्तीका रुपमा मनाउने गरिन्छ । आज त्यहीकारण विश्वभर उनका अनुयायीहरुले विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाउँदैछन् । नेपाल, भारत, चीन, श्रीलंका, बर्मा, जापान, भुटान, क्याम्बोडिया, लाओस, कोरिया लगायत विश्वका पैंतीस करोड मानिसका लागि यस दिनको विशेष महत्व रहेको छ । बैशाख पूर्णिमाका दिन प्रकट भएर त्यही तिथिमा बुद्धत्व प्राप्त गरेको र त्यही तिथिमा अस्सी वर्षको उमेर महापरिनिर्वाण अर्थात् समाधी लिएका भगवान बुद्धको ज्ञान आज बौद्ध धर्मका नाममा विश्वको चौथो ठूलो धर्मका रुपमा रहेको छ ।

आजभन्दा पच्चीस सय वर्षभन्दा अघि लुम्बिनीको कपिलवस्तुमा जन्मिएका उनी जन्मिने बित्तिकै सात पाइला हिँडेका थिए भनिन्छ । आमा मायादेवीको प्रशवको सात दिनमै निधन भएकोले उनको लालनपालन पिता शुद्धोधन स्वयम्ले गरेको मानिन्छ । सानैदेखि अलौकिक स्वभाव भएका उनै सिद्धार्थ गौतमको विवाह सोह्र वर्षको उमेरमा यशोधरासँग भएको थियो । ग्रहस्थ जीवनमा बाँधिएर पनि सांसारिकताप्रति विरत उनी उनन्तीस वर्षको उमेरमा परिवार र दरवारको सुखशयल त्यागेर ज्ञानको खोजीमा हिँडेका थिए । सांसारिक दुःखको मुक्तिको उपायको खोजीमा अनेक कष्टको सामना गर्दै उनले आखिरमा बोधगयाको एउटा वृक्षमुनि बसेर तपस्या गरे । त्यही क्रममा प्राप्त गरेको ज्ञान शिष्यहरु मार्फत जन–जनमा पुग्यो । उनका तिनै उपदेश र ज्ञानहरुको संग्रह आज बौद्धधर्मको महान ग्रन्थ ‘त्रिपिटक’का रुपमा विश्व प्रशिद्ध छ ।

सत्य बोल्नु, हिंसा नगर्नु, न्यायको बाटोमा हिँड्नु, धर्मको अनुशरण गर्नु भगवान बुद्धको मूल उपदेश हो । आजको विश्व शक्ति आर्जन गर्न होड गरिरहेको छ । यस्तो बेला मानिस–मानिसका बीच बन्धुत्व, प्रेम, सद्भाव र हार्दिकताको अझ बढी खाँचो छ । यस्तोमा मानिस मात्र होइन सम्पूर्ण प्राणीहरुको रक्षा गर्नुपर्छ भन्ने भगवान बुद्धको उपदेश झनै सान्दर्भिक हुन्छ । उनका उपदेशकै आधारमा एसियाको ताराका रुपमा सम्मानित भगवान बुद्धको जन्मभूमि लुम्बिनी आज विश्वको आकर्षणको केन्द्र बनेको छ । आउनुहोस् हामी पनि शान्ति, सत्य, सरलता र अहिंसाको यात्राका सहयात्री बनौं । यही संकल्प र व्यवहार उनीप्रतिको श्रद्धा र समर्पण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here