अमेरिकासँगको साझेदारी जसले चीनविरुद्ध लड्न ताइवानलाई सक्षम बनाउने

0
47

काठमाण्डौं ।

अमेरिका र ताइवानका रक्षा उद्योग प्रतिनिधिहरूबीच बुधबारको भेटवार्ता निकै उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन् ।

आज ताइवान–अमेरिका रक्षा उद्योग फोरम आयोजना भएको थियो जहाँ आफ्नो देशमा हतियार विकास गर्ने विज्ञहरूले शक्तिशाली हतियार विकासबारे ताइवानको राजधानी ताइपेईमा वृहत छलफल गरे । अमेरिकी प्रतिनिधिको नेतृत्व पूर्व अमेरिकी नौसेनाका कमाण्डर स्टिभन रडरले गरेका थिए भने ताइवानतर्फ धेरै रक्षा विज्ञहरू सहभागी थिए ।

सो क्रममा रडरले भने, ‘हामी ताइवानलाई आफ्नो रक्षा आफैंले गर्नका लागि समक्ष बनाउन प्रतिबद्ध छौं । किनभने हामी यस क्षेत्रका हाम्रा अन्य समान विचारधाराका साझेदारहरूको शान्ति र सुरक्षा चाहन्छौं ।’

सन् २०२० मा साई इङ–वेन दोस्रोपटक ताइवानको राष्ट्रपति बनेपछि चीनले यस स्वशासित टापुलाई कब्जा गर्ने बताउँदै आएको छ । चीनले ताइवानलाई आफ्नो टापु भएको बताउने गर्छ । यद्यपि साईले ताइवान एक सार्वभौम राष्ट्र भएको बताउँदा सो क्षेत्रमा तनाव उत्पन्न भएको हो । पछिल्ला दिनहरूमा ताइवानको हवाई क्षेत्रमा चीनका लडाकु विमानहरू घुस्ने गरेका छन् ।

अमेरिकी पूर्व कमाण्डर स्टिभन रडर यस विषयमा भन्छन्,‘हामी ताइवानको आत्मरक्षा क्षमताको हिस्सा बन्न चाहन्छौं । हामी ताइवानलाई सक्दो सहयोग गर्न तयार छौं ।’ रडर पहिले प्रशान्त क्षेत्रमा अमेरिकी नौसेनाका प्रमुख थिए, उनले जहिल्यै पनि खुला हिन्द–प्रशान्त क्षेत्रको वकालत गर्दै आएका छन् ।

उनका अनुसार अमेरिकाको सन् १९७९ को ‘ताइवान सम्बन्ध अधिनियम’ले ताइवानले आफ्नो रक्षा गर्नसक्नुपर्ने अमेरिकाले सुनिश्चित गर्न आवश्यक छ । त्यसबेला अमेरिकाले चीनको पक्षमा उभिँदै ताइवानसँगको कूटनीतिक सम्बन्ध त तोडेको थियो तर कानुनी आधारमा ताइवानलाई आत्मरक्षाका लागि सहयोग गर्न वासिङ्टन बाध्य छ ।

अमेरिकाले एक चीन नीतिको पालना गर्ने बताउँछ तर हतियार दिएर ताइवानलाई चीनविरुद्ध अघोषित रुपमा सहयोग गरिरहेको छ । विश्वका अधिकाँश देश ताइवानलाई हतियार बेच्न चाहँदैनन् किनभने उसलाई हतियार दिनु भनेको चीनसँग पौठेजोरी खोज्नु सरह हो ।

अमेरिका आफैंले ताइवानलाई एफ–२२ र एफ–३५ जस्ता अत्याधुनिक र शक्तिशाली लडाकु विमान बेच्दैन जसले चीनको जे–२० युद्धक विमानलाई टक्कर दिन सकोस् । हाल सम्पन्न ताइवान–अमेरिका रक्षा फोरमले ताइवानलाई शक्तिशाली हतियार, रक्षा प्रणाली, मिसाइलजस्ता रणनीतिक हतियार आफैंले विकास गर्न सक्षम बनाउने निर्णय गरेको रोयटर्सले जनाएको छ । अमेरिकाले आफ्नो हतियार प्रविधि ताइवानलाई हस्तान्तरण गर्ने अनुमान छ ।

तर ताइवान सरकारका विज्ञ सेन मिङ–सीले भने अमेरिकी हतियार प्रविधि ताइवान आइपुग्दा त्यो चीनको हातमा जाने खतरा उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसो भएमा चीन झनै शक्तिशाली बन्ने उनको ठम्याई छ । गत महिना अप्रिलको सुरुवातमा चीनले ताइवानवरपर युद्ध अभ्यास गरेको थियो । चिनियाँ युद्ध अभ्यासमा ताइवान कब्जा गर्ने दृढता देखिन्थ्यो ।

चिनियाँ सेनाले एनिमेसन भिडियो सार्वजनिक गर्दै ताइवानलाई कसरी आक्रमण गर्ने भनेर आफ्नो रणनीति नै सार्वजनिक गरेको थियो । सो भिडियोअनुसार ताइवानलाई जल, थल र हवाई क्षेत्रबाट आक्रमण गर्दै कब्जा गर्ने चिनियाँ योजना छ । हिजो मंगलबार र बुधबार बिहानसम्म मात्र चीनका २७ लडाकु विमानहरू ताइवानको हवाई क्षेत्रमा घुसेका छन् ।

चिनियाँ चेतावनी बाबजुद ताइवानकी राष्ट्रपति साई इङ वेनले हालै अमेरिकी सभामुख केभिन म्याकर्थीलाई भेटेकी थिइन् । सो भेटका क्रममा साईले ताइवान र अमेरिकाबीच ‘बलियो र अद्वितीय साझेदारी’ भएको बताएकी थिइन् । म्याकार्थीले भने अमेरिकाले ताइवानलाई हतियार बेच्न जारी राख्ने प्रतिक्रिया दिएका थिए । रोयटर्सको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here