सुनुवार समाजले मनायो ‘स्याँदर पिदार’

0
123

रत्नबहादुर बस्नेत
बिर्तामोड ।

झापाको बिर्तामोड -१०स्थित जहरमान टोलमा सुनुवार समुदायले किरातहरुको महान पर्व उभौली (स्याँदर पिदार) हर्षोल्लासपूर्वक मनाएका छन्।

जहरमान टोलमा रहेको चण्डीथानमा पूजाआजासहित स्याँदर पिदार सम्पन्न भएको हो। सुनुवार सेवा समाज बिर्तामोड -१० वडा समिति अध्यक्ष मनु सुनुवार मुखियाको अध्यक्षता तथा सुनुवार सेवा समाज झापाका अध्यक्ष अविरबहादुर मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जातीय भेषभुषामा चण्डी नाच प्रदर्शन गरिएको थियो।

संस्थाका उपाध्यक्ष प्रभात मुखियाले सहजीकरण गरेको कार्यक्रममा जिल्ला समिति सल्लाहकार दिलकुमार मुखिया, किरात याक्थुङ चुम्लुङ बिर्तामोडका सल्लाहकार रिमानध्वज लोक्ताम, कियाचु वडा समिति सचिव वेदबहादुर लिम्बूलगायतको उपस्थिति रहेको थियो।

वि.सं. २०६१ सालमा स्थापना भएको उक्त चण्डी थानमा आफ्नो धर्म,संस्कार,संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यका साथ वर्षेनी उधौली,उभौली पर्व मनाउने गरिएको संस्थाकी अध्यक्ष मनु मुखियाले बताइन् ।

प्रमुख अतिथि अविरबहादुर मुखियाले कसैलाई पनि रोग,शोक नहोस्,बालीनाली राम्रो होस भन्ने कामना गरेर प्रकृति,पितृ तथा चण्डी भगवतीको पूजा गरिने बताए। सुनुवार जातीको जिल्लामा ४सय र वडामा ३६ घरपरिवार बसोबास रहेको तथा जिल्लाका आठ स्थानमा एकसाथ स्याँदर पिदारको आयोजना गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here