राजनीति चटकेको चटक होइन

२७ बैशाख २०८०, बुधबार मा प्रकाशित

राजनीति कुनै पनि देशको मूल नीति हो । सबै नीतिहरुलाई ठीक गर्ने नीति नै राजनीति हो । राजनीति ठीक ढङ्गमा चल्यो भने अरु नीतिहरु ठीक हुँदै जान्छन् । राजनीति बेठिक भएमा सबै गञ्जागोल हुन्छ । अनि राजनीति सधैँ नकारात्मक कुरालाई उचालेर मात्र सफल हुँदैन । राजनीतिमा देश विकासको सैद्धान्तिक, वैचारिक खाकासहित लामो संघर्ष, अनुभव, त्याग, निष्ठा र समर्पण चाहिन्छ । चटकेको जादू खेला जस्तो मान्छे भेला पार्ने र रेला गर्ने क्षणिक मनोरञ्जन स्थल जस्तो बन्नु हुँदैन राजनीति ।

अहिले त राजनीति अनेक थोक, गर्ने/नगर्ने भ्रष्टाचार सबथोक गरेर पैसा कमायो अनि सादगी जीवनको प्रचार ग¥यो÷गरायो । त्यतिमात्र होइन, मौका र अवसर पाउँदा आफ्नो देशको राष्ट्रियता त्याग्ने र विदेशको दलाल मात्र होइन, विदेशी नागरिक हुन राजी–खुशी हुनेहरु सबभन्दा राष्ट्रवादी !?! हुने र जनतामा भ्रमको फसल लगाउने अनि आफ्नो इरादा पूरा गर्ने नयाँ व्यवसाय शुरु भएको छ ।

द्वन्द्वकालमा नक्कली माओवादी पीडित बनेर अमेरिका पुगी शरणको आवेदन गर्ने, मेक्सीकोको जंगल र समुन्द्रको बाटो भएर अनेक जोखिम मोल्दै आफैं दलालसँग बिक्री भएर अमेरिका छिर्ने, नक्कली भूटानी शरणार्थी बनेर भ्रष्ट कर्मचारी, बिचौलिया र राजनीतिक नेताहरुको सेटिङ्गमा मोटो रकम बुझाएर विदेशी हुन तयार हुने, डिभी चिठ्ठा भरेर, डिभी परेर अमेरिका जाने जसरी पनि अमेरिकी हुन तयार हुने । तर, देशमा रहेको अवस्थामा अमेरिकी साम्रज्यवाद मुर्दावादको नारा लगाउन पछि नपर्नेहरु र तीनका मतियार पनि खुब राष्ट्रवादी भइटोपल्छन् । पैसा कमाउनका खातिर देशको राष्ट्रियता त्याग्नेहरु विदेशी नागरिक भएका हुन् वा विदेशबाट पैसा (डलर) कमाएर आएकहरु सबभन्दा राष्ट्रवादी !?! जनताले गम्भीरतापूर्वक मनन् गर्नुपर्ने बेला भएको छ । बहकाउमा आएर, लहै–लहैमा लागेर बरालिएर देशको सुदूरभविश्य निर्माण गर्न सकिँदैन ।

राजनीतिमा देश विकास र जनअधिकारको स्पष्ट लक्षसहितको सहनसिलता, धैर्यता, निरन्तरता अति आवश्यक पर्छ । तर, यहाँ त अनेकखाले चटकेहरुले राजनीतिलाई रमिता बनाउन थालेका छन् । लामो संघर्ष गरेका भनिएका दलका नेताहरुमा निष्ठा, न्याय, नियम, निसाफको हिसाब–किताब गड्बढ हुन थालेपछि नवचटकेहरुको उदय हुनु स्वभाविक हो । जसको नेपालको लोकतान्त्रिक आन्दोलनमा रत्तिभर योगदान छैन, ऊ कहिल्यै लोकतान्त्रिक संगठन र आन्दोलनहरुमा संलग्न नै भएन । ऐसको जिन्दगी बाँच्नका लागि देशको माटोलाई दुत्कार्यौ मात्र होइन, राष्ट्रियता नै बदलेर डलरका लागि राष्ट्रियता नै त्यागी दियो । ऊ नै अहिले भन्दै छ कि मैले जस्तो त्याग अरु कसैले गर्नसक्छ ? मैले फलानो देशको नागरिकता त्यागिदिएँ । म त्यागी हुँ, मलाई जनताले न्याय गर्नुपर्छ अनि जनता पनि चटकेको चटकमा लठ्ठ भएर उसैको पछि लागि दिन्छन् ।

जनतामा अरु लोकतान्त्रिक देशको जस्तै प्रणालीको विकास होस् । जनताका यावत कामहरु छिटोछरितो र बिना झण्झट सम्पादन होस भन्ने चाहनुलाई अन्यथा मान्नु हुँदैन । नेपालको कर्मचारीतन्त्र भ्रष्ट छ, कशिनखोर छ । अनि राजनीतिक नेतृत्व पनि त्यस्तै भइदिएपछि जनताले कहाँबाट सुख–सुविध पाउँछन त ? जनताले हरेक काममा सास्ती खेप्नु परेपछि मस्ती गरेर बसेका नेता र कर्मचारी प्रशासनकाप्रति आक्रोश र वितृष्णा उत्पन्न हुनु अस्वभाविक होइन । पुराना भनिएकाहरुप्रति विश्वास गुम्दै गएपछि जनता नयाँ जोगीको भरमा पर्न थालेका हुन् । राजनीति चटकेको खेल–तमासा होइन, सुझ–बुझपूर्ण निर्णयमा जनताले पनि चनाखो हुनुपर्छ ।

राजनीतिकाप्रति जनताले चासो लिनुपर्छ

कतिपय मानिसहरु मलाई राजनीतिप्रति कुनै चासो छैन, राजनीति मेरो मतलबको बिषय होइन भन्ने गर्छन । कुरा यो होइन कि सबैले राजनीति नै गर्नुपर्छ । कुरा के हो भने राजनीतिमा योग्य र सक्षमले भाग नलिने, चासो नराख्ने हो भने खराब र नालायकहरुले शासन गर्न थाल्नेछन् । राजनीतिमा आम सर्वसाधारणले चासो नलिनु र सहभागिता नजनाउनु भनेको भ्रष्ट, बिचौलिया, डन–गुण्डाहरु, माफियाहरु, धनी पुँजीपति र दलालहरुलाई सत्ताको चावी जिम्मा लगाउनु हो । हाम्रो जस्तो गरीब मुलुकमा देशलाई गरिबीको चपेटाबाट मुक्त राख्ने हो भने गरिबीको पीडा बुझेका, निम्न मध्यम, मध्यम वर्ग र विपन्न वर्गले राजनीतिमा सहभागित जनाउनै पर्दछ ।

जीवनकाप्रति कसैलाई प्रेरणा दिनुपर्दा महान समाजवादी नेता वीपी कोइराला भन्ने गर्नुहुन्थ्यो– कि ‘ठूलो मान्छे होइन, असल मान्छे बन्नु ।’ अनि ‘मन्त्री, प्रधानमन्त्री बर्नौला र ठूला–ठूला कुर्सीमा पुगौंला भनेर राजनीति गरेका होइनौं । खान नपाएको पेटमा अन्न जावोस, सबै बिरामीले ओखतीमूलो पाउन, सबैका छोराछोरीले पढन पाउन, मनमा लागेको कुरा सबैले निर्भयकासाथ बोल्न, भन्न पाउन् भनेर नै हामीहरु राजनीतिमा आएका हौं ।’ भन्ने महामानव वीपी कोइरालाको आदर्श वाणीलाई आजको नेपाली राजनीतिले गिज्याइरहेको छ ।

अहिले त राजनीति भनेको बिना लगानीको फाइदाजनक व्यापार बनाइएको छ । समाजवाद र साम्यवादको नारा लगाएर नथानक्नेहरु नै सबैभन्दा भ्रष्ट, दलाल बनेर नाङ्गीदैछन् । लोकतन्त्रमा आवधिक निर्वाचनले खराबहरुलाई पाखा लगाउने र असलहरुलाई जनताले स्थापित गराउने मान्यता राखिन्छ । तर, पछिल्लो समय ठूला–ठूला भ्रष्टाचारमा मुछिएकाहरुले चुनाव जित्ने र इमान्दारहरुले चुनाव हार्ने स्थिति आएको छ । यो चाहीँ लोकतन्त्रभित्रको अकरिलो पीडिको रुपमा देखा पर्दै गएको छ, जुन कुरा लोकतन्त्र र देशको सुदूर भविष्यका लागि त्यति सुखद् बिषय होइन ।

अहिले यिनै भ्रष्टमति भएका नालायकहरुको काला कत्र्तुतलाई देखाएर लोकतान्त्रिक प्रणाली नै खराब हो भन्ने भाष्य निर्माण गर्न लोकतन्त्र विरोधीहरु, पूर्व दरबारिया षडयन्त्रकारी गिरोह र प्रतिगामी एक दलीय अभिनायकवादीहरु लागीपरेका छन् । उनीहरु जनताले निर्वाध स्वतन्त्रता उपयोग गरेको देख्न, हेर्न सक्दैनन् । चाहँदैनन् । बन्द समाजभित्र हूकूम चलाउनू र हूकूम प्रमाङ्गीबाट शासकले शासन सत्ता चलाउएको हेर्नु, भोग्नु दाश र अनुचरहरुलाई उचित लाग्दछ ।

स्वतन्त्रता प्रेमीहरु २१औं शाताब्दीका विश्व मानवले अवलम्वन गरेको ‘जनताका लागि, जनताद्वरा जनताले नै गर्ने शासन’लाई रुचाउन चाहिरहेका छैनन् । तर, पनि लोकतान्त्रिक प्रणलीमा भने उयोगको रणनीति अन्तर्गत भाग लिइरहेका छन् । कुनै एउटा तानाशाह वा राजा–महाराजा वा कुनै एउटा पार्टी विशेषले मात्र जनताबाट अनुमोदन नभई शासन सत्ता बर्षौं, पुस्तौं चलाउने सोच भएकाहरु नै हुन् प्रतिगामी र अधिनायकवादी । आजको २१औं शताब्दीको आधुनिक सभ्य युगमा पनि यस्ता प्रतिगामी र अधिनायकवादी सोच राख्ने मानिस असभ्य मात्र होइन, मानसिकरुपमा समेत अबिकसित प्राणी हो ।

तसर्थ, राजनीतिमा यस्ता प्राणीहरुको आगमनलाई रोक्न अनि सभ्य र लोकतान्त्रिक संस्कारयुक्त राजनीति मार्फत जनताका मुहारमा हर्ष ल्याउन सुखी र खुशी नेपाली अभियान सञ्चालन गर्न पनि लोकतान्त्रिक सोच भएका असल मानिसहरु राजनीतिमा आउनु पर्दछ । र गन्हाएका भ्रष्टहरु, प्रतिगामी, पुनरुत्थानवादी, अधिनायकवादीहरुलाई राजनीतिको मूलधारबाट जनमतबाटै विस्थापित गरेर असल लोकतान्त्रिक संस्कार, पद्धती र प्रणलीको स्थापनका लागि लोकतन्त्रको आवरणमा देखिएका यावत विकृति, विसंगतिलाई हटाउन पनि राजनीति फोहोरी भयो भनेर मात्र हुँदैन ।

फोहोरबाट मुक्ति दिलाएर राजनीतिलाई रफा राख्ने हो भने हरेक असल मानिस राजनीतिमा आउनु पर्छ । राजनीतिमा चासो राख्नुपर्छ । सबै नीतिहरुको पनि मूल नीति सफा नभई देश बन्न र जनताको जीवनस्तरमा सुधार आउन सक्दैन । त्यसैले राजनीतिकाप्रति जनताको चासो हुनुपर्छ । चासो लिनु भनेको जादूगर वा चटकेलेले हटियामा काला जादू देखाउदा भेला जम्मा भएर रमिता हेर्न भेला भए जस्तो सहभागिताको केही अर्थ छैन । अब राजनीतिमा देशभक्त लोकतन्त्रवादीहरुले विवेकपूर्ण हस्तक्षेप गर्नुपर्छ । राजनीति क्षणिक मनोरञ्जन दिने चटकेको चटक होइन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here