गौरादह नगरपालिकाको एक वर्षे उपलब्धी सार्वजनिक

0
84

शान्ति सुब्बा

गौरादह,  जनप्रतिनिधि निर्वाचित भएको एक बर्षे कार्यकाल पूरा हुँदा गौरादह नगरपालिकाको स्थानीय सरकारले यस अवधिमा गर्नुपर्ने काम पूरा गरेको जनाएको छ ।
नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेका कामको उपलब्धी पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो । मंगलबार नगरपालिकाको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नगेन्द्र भण्डारीले जनप्रतिनिधि निर्वाचित हुँदा जनता समक्ष जाहेर गरेको एक बर्षे कार्ययोजना पूरा गरेको जानकारी गराएका थिए । गौरादह नगरपालिका वडा नं. १का वडाध्यक्ष तथा प्रवक्ता भण्डारीले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले सीमित स्रोत साधनकाबीच एक वर्षको समयमा सोचे अनुसार काम गरेको जानकारी गराएका थिए । कार्यक्रममा गौरादह नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८०को हालसम्मको विवरण सार्वजनिक गरिएको थियो ।
नगर प्रमुख छत्रपति सुवेदीले स्वास्थ्य क्षेत्रमा गौरादह नगर अस्पतालमा १ जना एमडी, २ जना मेडिकल अधिकृत गरी ३ जना डाक्टर, १ जना रेडियोग्राफर, फार्मेसी सहायक १, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा कार्यालय सहयोगी ६ जना र अनमी २ जना नियुक्त गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको जानकारी गराएका थिए । उनले अस्पतालमा आवश्यक पर्ने औषधिको पनि व्यवस्था गरिएको जानकारी गराए ।
नगरभित्रका १० वटा स्वास्थ्य केन्द्रबाट नेपाल सरकारबाट तोकिएका १ सय १० प्रकारका औषधिहरु निःशुल्क वितरण गर्दै आइरहेको कार्यक्रममा जानकारी दिइयो । बिमा कार्यक्रम अन्तर्गत नगरपालिकाले सम्पूर्ण पूर्वाधारहरु तयार गरेको भए तापनि नेपाल सरकारको बिमा बोर्डले अनुगमन कार्यमा ढिलाई गरेका कारण बिमा कार्यक्रमलाई अगाडि बढाउन नसकिएको जानकारी गराए ।
शिक्षाको क्षेत्रमा प्राविधिक शिक्षाको अवधारणालाई अगाडि सारेको बताउँदै उनले दुईवटा विद्यालयबाट प्राविधिक शिक्षाका लागि सीटीइभीटीबाट सम्बन्धन लिएर शुरु गरिएको र त्यसलाई सञ्चालन गर्नका लागि नगरपालिकाले थोरै भए पनि सहयोग गरेको बताए । सीटीइभीटीले तोकेको शुल्कभन्दा ५० प्रतिशत छुटमा विद्यार्थीहरुलाई पढ्ने व्यवस्था मिलाइएको कार्यक्रममा जानकारी दिइयो । दुईवटा विद्यालय अन्तर्गत भद्रकाली माविमा आईटिई तीन वर्षे डिप्लोमा र डोरामारी माविमा कृषि सम्बन्धि तीन वर्षे डिप्लोमा कक्षा सञ्चालन भइरहेका छन् । विद्यालयहरुमा ल्याबको सुविधा, ल्याबका लागि अनुदानको व्यवस्था, विद्यालय सञ्चालनमा सहजताका लागि ५५ लाख अनुदान दिइएको उनले बताए । आवश्यक संख्या भन्दा कम विद्यार्थी भए पनि कक्षा राम्रोसँग सञ्चालन भइरहेको जनाउँदै उनले सीटीइभीटीबाट अब डोरामारी माविमा भेटनरी कक्षा सञ्चालन गरिनेतर्फ पहल भइरहेको बताए ।
गौरादह–७को प्रगति माविमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालनका लागि आवश्यक पहल भइरहेको उनले बताए । सामाजिक विकासका क्षेत्रमा निर्वाचनमा गरिएको घोषणा पत्रमा उल्लेख गरिए अनुसार छोरीबुहारी निःशुल्क शिक्षा अन्तर्गत सामुदायिक कलेज गौरादह बहुमुखी क्याम्पसमा पढ्ने छोरी बुहारीका लागि नगरपालिकाले दरखास्त आव्हान गरेको थियो । जसमा १२ जना बुहारी र ८६ जना छोरी गरी ९८ जनाको दरखास्त परेको थियो ।
तीमध्ये बुहारीको पूर्ण शुल्क ९ हजार ६ सय र छोरीको आधा शुल्क ४ हजार ८ सयका दरले नगरपालिकाले क्याम्पसमा पठाइसकेको नगर प्रमुख सुवेदीले जानकारी दिए । बहुमुखी क्याम्पसको माध्यमिक तहका छात्राहरुलाई हालसम्म सेनेटरी प्याड वितरण गरिँदै आएकोमा अबदेखि गौरादह बहुमुखी क्याम्पसमा पढ्ने छात्राहरुलाई समेत सेनेटरी प्याड उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए । आर्थिक क्षेत्रको विकासका लागि कृषि क्षेत्रमा तालिमको व्यवस्था गरिएको, मल बनाउने कारखाना निर्माणको लागि प्रदेश सरकारको सहयोगमा मेसिन ल्याउने तयारीमा रहेको, सिञ्चाईको लागि भूमिगत सिञ्चाइ योजना अन्तर्गत ५८ वटा मोटर बोरिंङको कार्य सम्पन्न भइसकेको, डिप बोरिङ ५ वटा अन्तर्गत नगरपालिका भित्रका वडा नं. ३मा ३ वटा, वडा नं. ४मा १ वटा र वडा नं. १मा १ वटा डिप बोरिंङ नगरपालिकाको पहलमा भइसकेको जनाइएको छ ।
वडा नं. ७मा मोटर बोरिङ सिञ्चाइका लागि प्रदेश सरकारबाट ७ लाखको सर्शत अनुदान–पत्र आइसकेको प्रमुख सुवेदीले जानकारी दिए । बालबालिका तथा ज्येष्ठ नागरिकहरुका लागि वडाहरुबाट सपोर्ट सामग्रीहरु बाँड्ने कार्य भइरहेको जनाइएको छ । यस्तैगरी, नेपाल सरकारको सहयोगमा फुसको छाना अन्त्य गर्ने योजना रहेकोमा नगरपालिकाले १ देखि ८ नं. वार्डका ४ सय ५० परिवारलाई नेपाल सरकारको सहयोगमा छाना परिवर्तन गर्ने योजना सिफारिस गरेर पठाइसकेको बताउँदै स्वीकृति पश्चात यही आर्थिक वर्ष भित्रमा सम्झौता गरेर गौरादह नगरपालिकाभित्र फुसको छानो भएको घर लगभग ९० देखि ९५ प्रतिशतसम्म सकिने जनाइएको छ ।
यो वर्ष नगरपालिकाले आफूले पनि ९६ वण्डल टिन खरिद गरिसकेको बताउँदै उक्त टिन विपन्न परिवारहरु, असिना पानिले खराब बनाएका टिनको छानाहरुको अनुगमन गरेर वितरण गरिने बताए । गौरादह–२ का वडाध्यक्ष गोपालप्रसाद कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here