आज निर्जला एकादशी: व्रतमा पानी समेत पिउन वर्जित छ

१७ जेष्ठ २०८०, बुधबार मा प्रकाशित

आज निर्जला एकादशी । एक बर्षमा हुने २४ वटा एकादशीमध्ये यस एकादशीको विशेष महत्व रहने गरेको छ । हुन त हिन्दू धर्ममा सबै एकादशीको व्रतले महत्वपूर्ण स्थान राख्दछ । तर, निर्जला एकादशीको व्रतले विशेष महत्व राख्ने गर्दछ । हुन त, अधिकमास अथवा मलमास परेको वर्ष यो एकादशीको संख्या बढेर २६ हुन जान्छ । ती एकादशीलाई पद्मिनि विशुद्ध एकादशी र परमाशुद्ध एकादशी पनि भनिन्छ । तर, ज्येष्ठ महिनाको शुक्लपक्ष तिथीको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिन हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर यसलाई मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउन वर्जित छ । त्यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।
निर्जला एकादशीको कथा
एक पटक महर्षि व्यास पाण्डवहरूकोमा आए । त्यहाँ सर्वज्ञ वेदव्यासले पाण्डवहरूलाई चारै पुरुषार्थ–धर्म, अर्थ, काम र मोक्ष दिने एकादशी व्रतको संकल्प गराए । त्यस क्रममा महाबली भीमले महर्षि व्यासलाई निवेदन गरे– हे पितामह ! तपाईले त, प्रति पक्ष एकदिनको उपवासको कुरा भन्नुभयो । युधिष्ठिर, अर्जुन, नकुल, सहदेव, माता कुन्ती र द्रौपदी सबै एकादशीको व्रत गर्दछन् र मलाई पनि व्रत राख्न भन्दछन् । परन्तु म नखाई रहन सक्दिनँ । म त एकदिन त के एक समय पनि भोजन बिना रहन सक्दिनँ–मेरो पेटमा वृक नामक अग्नि छ, त्यसलाई शान्त राख्न मैले कैयौं मान्छेको बराबर अथवा कैयौं पटक भोजन गर्नु पर्दछ । यस्तोमा के म आफ्नो यस भोकका कारण म एकादशी जस्तो पुण्य व्रतबाट बाँच्न सकुँला महाबली भीमको कुरा सुन्दै पितामहले समस्याको समाधान स्वरुप उनको मनोबल बढाउँदै भने– हे कुन्तीनन्दन, धर्मको यही त विशेषता छ कि यो सबैलाई धारण नै गर्दैन, सबैलाई योग्य साधन व्रत–नियमहरूको निकै सहज र लचिलो व्यवस्था पनि उपलब्ध गराउँछ । अतः तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एकमात्र एकादशीको व्रत गर र तिमीलाई वर्षका समस्त एकादशीहरूको फल प्राप्त हुनेछ । निःसन्देह तिमी यस लोकमा सुख, यश र प्राप्तव्य प्राप्त गरी मोक्ष लाभ प्राप्त गर्नेछौ । महर्षिले भीमलाई भने– ज्येष्ठ शुक्ल एकादशीको व्रतमा स्नान आचमनमा पानी पिउनुमा दोष हुँदैन, यस व्रतबाट अन्य तेइस एकादशीहरूको पुण्यको लाभ पनि मिल्नेछ । तिमी जीवनपर्यन्त यस व्रतको पालना गर । यति आश्वासनमा त वृकोदर भीमसेन पनि यस एकादशीको विधिवत व्रत गर्नलाई सहमत भए । भीमले ठूलो साहसका साथ निर्जला एकादशी व्रत गरे, जसको परिणामस्वरूप प्रातः हुँदै उनी संज्ञाहीन भए तब पाण्डवहरूले गङ्गाजल, तुलसी, चरणामृत प्रसाद दिएर उनलाई ब्युँताए । यस एकादशीले वर्षभरीका एकादशीहरूको पुण्य लाभ दिने धार्मिक विश्वास छ । यस श्रेष्ठ निर्जला एकादशीलाई पाण्डव एकादशी या भीमसेनी एकादशी पनि भनिन्छ । यसदिन जो स्वयम् निर्जल रहेर ब्राह्मण वा आवश्यकता भएकाहरुलाई शुद्ध पानीले भरेको घडा साथ दान गर्दछ त्यसले यस लोकमा सम्पूर्ण सुख प्राप्त गरेर परलोकमा स्वर्गको आनन्द भोग्दछ ।

व्रतको विधान

यो व्रतलाई नरनारी दुबैले गर्नु पर्दछ । जलपानको निषेध भए पनि फलहारको साथमा दूध लिन सकिन्छ । यस दिन निर्जल व्रत गर्दै शेषशायी रूपमा भगवान विष्णुको आराधनाको विशेष महत्व छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ । एकादशीको रातमा जाग्राम बस्ने चलन छ । मार्कण्डेय पुराण र बिष्णु पुराणमा यस एकादशीको पवित्र चित्तका साथ व्रत बस्नाले सम्पूर्ण पापमोचन हुने र सोझै बैकुण्ठ प्राप्त हुने लेखिएको छ । साथै निर्जला एकादशीको व्रत पश्चात द्वादशीका दिनमा बिहान उठेर, चोखो भएर दानपुण्य गरेर मात्र भोजन लिने चलन छ । यस एकादशीमा माटोको भाँडो, बाँसले बनाएको हाते पंखा लगायतका कुरा दान गर्ने चलन छ । निर्जला एकादशीभन्दा एकदिन अगावै सन्ध्या वन्दनम गर्ने चलन रहन्छ । यसो गर्दा अचामनीबाट पवित्र पानी लिएर हत्केलामा राखी पवित्रताका साथ आरती र वन्दना गरिन्छ । एकदशीकै दिनमा आफ्ना विचार र सोचमा बिष्णुलाई राख्न सुझाव दिइन्छ, बिष्णुको शालीग्राम स्वरुपलाई स्नान गराउने, अभिषेक गराउने, पञ्चामृत अर्पण गर्ने र पवित्र कपडामा बेरेर राख्ने चलन छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here