बढ्दो तापक्रम र सजगता

0
82

तराईका जिल्लाहरुमा यसबेला प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित भएको छ । हुन त यो समय गर्मी कै हो र आममानिस गर्मीबाट बच्न सजग नै हुन्छन् । तर, पनि अत्यधिक गर्मीले एकातिर स्वास्थ्य समस्याको चिन्ता छ भने अर्कातिर अनपेक्षित गर्मीले दैनिकी नै अस्तव्यस्त भएको छ । यहीबेला जल तथा मौसम पूर्वानुमान शाखाले विज्ञप्ति नै प्रकाशित गरी केही दिनदेखि तराईमा तापक्रम बढ्दै गएको भन्दै तातो हावा ‘लु’ को जोखिमबाट बच्न सचेत र सजग रहन चेतावनी नै दिएको छ । तातो हावाबाट थकाइ लाग्ने, तिर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाँउडिने, बेहोस हुने जस्ता समस्या आउन सक्ने भएकाले यस्तो बेला घर बाहिर ननिस्कन विभागले आग्रह पनि गरेको छ ।

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव बढी रहेको मौसम विभागको भनाइ छ । अहिले मनसुनको समय पनि नभएकाले गर्मी अत्यधिक भएको भन्दै वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले यो संक्रमणकालीन समयमा सम्भावित स्वास्थ्य जोखिमबाट बच्न सचेत गराएकी छिन् । यो अवस्था अझै केही दिन रहन सक्ने भएकाले गर्मी अझै बढी हुन सक्ने हुँदा घर बाहिर ननिस्कनु नै यसबाट जोगिने सबैभन्दा राम्रो उपाय हुनसक्छ । सामान्यतः जुन महिनाको तेह्र तारिखमा पूर्वी नेपाल भएर मनसुन नेपाल प्रवेश गर्नुपर्ने हो, तर यसपटक असारको पहिलो सातासम्ममा मात्रै प्रवेश हुने विभागको अनुमान छ ।

विगतका केही दिनयता तराईका जिल्लाहरुमा गर्मी बढ्दा यहाँका शिक्षण संस्थाहरु बन्द गरिएका छन् । अहिले तराईको तापक्रम चवालीस डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ । कार्बनडाइ अक्साइड र हरीत गृह ग्यासको बढ्दो उत्सर्जनले पृथ्वीको तापक्रम वृद्धि हुँदै गएको र यसले जलवायु असन्तुलित हुने, जैविक विविधतामा क्षति पुग्ने, पानीको स्रोत सुक्दै जाने, रोगहरु बढ्ने भएकाले यसले कृषि प्रणालीमा पनि असर पु¥याउने विज्ञहरुको भनाइ छ । यद्यपि पृथ्वीको असन्तुलनमा हामी त्यति जिम्मेवार छैनौं तर, त्यसको असरबाट भने छुटकारा पाउन सकिँदैन । त्यसैले तापक्रम वृद्धिको असरबाट सुरक्षित हुनेतर्फ भने हामीले सचेत रहनैपर्छ । अन्यथा यसको असरबाट कोही पनि जोगिन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here