नागरिकतासम्बन्धी कार्यविधिमा एनआरएनका सुझाव समेटिन्छन् : प्रधानमन्त्री

२२ जेष्ठ २०८०, सोमबार मा प्रकाशित

काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको जानकारी गराउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको भेटमा उहाँले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘एक पटकको नेपाली, सधैँ नेपाली’ भइरहने र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिन थप सशक्तरुपमा अघि बढ्न सङ्घका प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रममार्फत सम्बोधन भइसकेको र केही प्राविधिक विषयमा गृहकार्य भइरहेको जानकारी दिँदै छिट्टै कार्यान्वयनमा आउने विश्वास दिलाउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली सङ्घमार्फत धन्यवाद व्यक्त गरेकामा खुसी व्यक्त गर्दै लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणीकरण भएको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली नागरिकताको वितरणको शुभारम्भ एक भव्य कार्यक्रमकाबीच गरिने जानकारी दिनुभयो ।

सङ्घीय संसद्ले दुई पटक पारित गरेर गत भदौमा प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी छाड्नुभएको थियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गर्नुभएको थियो ।

भेटमा उपाध्यक्ष शर्माले नागरिकता विधेयक प्रमाणीकरणबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले विश्वभर रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्याउन थप दायित्वबोध भएको उल्लेख गर्दै ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्र सार्थक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीका लागि समेत वातावरण तयार भएको र यथाशीघ्र नागरिकतासम्बन्धी कार्यविधि बनाई कार्यान्वयनको चरणमा पु¥याउन आग्रह गर्नुभयो ।

सङ्घले गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिका लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेकामा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानका लागि समेत अनुरोध गरेको छ । सानासाना विप्रेषणलाई एकीकृत गरेर एक स्वायत्त प्राधिकरण गठन गरी स्वच्छ ऊर्जा तथा राष्ट्रिय गौरवका आयोजनामा सुनिश्चित प्रतिफलसहितको लगानीको वातावरण बनाउन सङ्घको आग्रह छ ।

सो क्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले नागरिकता नियमावली तर्जुमाको चरणमा रहेको जानकारी दिँदै पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्रीको हातबाट प्रदान गर्ने योजना रहेको बताउनुभयो । सो अवसरमा महान्यायाधिवक्ता डा दीनमणि पोखरेलकोसमेत उपस्थिति थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here