नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

२३ जेष्ठ २०८०, मंगलवार मा प्रकाशित

काठमाडौँ,

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे ।

‘सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ । लगानीमैत्री वातावरण बनाउन र लगानी भित्रयाउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ’ प्रधानमन्त्री दाहालले भने ।भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुस गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा मात्र सीमित नरहेको बताए । ‘हामीसँग गहिरो साँस्कृतिक आत्मीयता र बलियो मित्रता छ’ उनले भने ‘यो साझेदारी र मित्रता मात्रै होइन, यो एक परिवार हो । भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं ।’

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासले अहिले नेपालमा लगानी गर्न उपयुक्त समय रहेको बताए । नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त दिँदै ढकालले ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए ।

महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र उनको भनाइ छ । भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर छोप्न समेत उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज छ भन्ने स्पष्ट सन्देश दिएको बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here