पुनर्जीवित हुँदै महेन्द्र पार्क

0
47

तत्कालीन मेची अञ्चलको हेर्न लायकको ठाउँ थियो, झापाको चन्द्रगढीस्थित महेन्द्र पार्क । राजा महेन्द्रको शालीकसहित अनेक सुन्दर पुष्पहरुले सुसज्जित उक्त पार्क दोस्रो जनआन्दोलनपछि झण्डै–झण्डै अस्तित्वविहीन बनाइयो । पर्यटकीय गन्तव्य बन्न नसके पनि स्थानीयलाई बिहान–बेलुकाको समयमा प्राकृतिक सौन्दर्य र सुगन्धसहित मनमस्तिष्कलाई तरोताजा र ऊर्जा दिने पार्क खण्डहर जस्तै बनियो । स्वर्गीय राजा महेन्द्रको नाम जोडिएकै कारण पूर्वाग्रही मानसिकताले झापा त्यसमा पनि चन्द्रगढी–भद्रपुरको सौन्दर्यका रुपमा रहेको पार्क ओझेलमा प¥यो । इतिहासप्रति गर्व र सम्मान गर्न नसक्ने जाति जीवन्त रहन सक्दैन । त्यहीकारण संसारका कतिपय ऐतिहासिक महत्व बोकेका सम्पदाहरु मासिएका छन् र इतिहासकै गर्भमा पुगेका छन् ।

झापाको भद्रपुर–चन्द्रगढी सदरमुकाम भएकै कारण पूर्वी नेपालको चर्चित स्थल हो । प्रशासनिक इकाइहरु रहने कारण र सरकारी कामकाजका लागि सदरमुकाम पुग्नै पर्ने बाध्यताले पनि चन्द्रगढी र पछि संरचना फेरबदल भएपछिको भद्रपुर एउटै संरचनामा गाभिए । महेन्द्र पार्क महाकालीसम्म परिचित थियो, अहिले नेपालकै पुरानो नगरपालिका भद्रपुर यसको स्वामित्व ग्रहण गर्दै पार्कको जीर्णोद्धार र सौन्दर्यीकरणमा लागेको छ । विगत चार वर्षदेखि नगरपालिकाले महेन्द्र पार्कलाई पुनर्जीवन दिँदै थप व्यवस्थित बनाउन लागेको सन्दर्भ जिल्लाबासीकै निम्ति सुखद् र सुसमाचार हो ।

यही समय स्थानीयबासी तथा भद्रपुर नपा वडा नं. ८ का अध्यक्ष गौरव सुब्बा मनोजले आफ्ना स्वर्गबासी पिता वीरहाङ लिम्बू र सासूआमा भूमिमाया लिम्बूको स्मृतिमा निजी खर्चमा वृक्षरोपण गरेका छन् । भारतको कोलकाताबाट एक लाख रुपैयाँभन्दा बढीका विभिन्न जातका बाह्र सयभन्दा बढी बिरुवा रोपेर महेन्द्र पार्कलाई परिस्कृत गर्न थालेको समाचार छ । जनप्रतिनिधिकै अगुवाई र लगानीमा वैलिएको र उगाल आएको पार्कले नयाँ जीवन पाउनु साँच्चै नै खुशीको खबर हुनसक्छ सबैलाई । भत्किएको पर्खाल, बत्ती, पानीको फोहोरा लगायतका संरचनाको पुनर्निर्माण गर्न पालिका एक्लैले नसक्ने भएकाले प्रदेश तथा संघीय सरकारलाई पनि घच्घच्याउन जरुरी छ । सबैको प्रयास र अग्रसरताले चन्द्रगढीको सौन्दर्य निखारिने छ र पार्कलाई पर्यकटीय स्थलका रुपमा पुनस्र्थाापित गर्न सहज पनि हुनेछ । यसका लागि नगरपालिकाको निरन्तर खबरदारी तत्कालको आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here