पढाइसँगै पुशपालनदेखि ड्रागनफ्रुट खेतीसम्म

0
65

सुरेन्द्र भण्डारी,
झापा ।

झापाका अधिकांश सामुदायिक विद्यालयको जमिन संरक्षण नहुँदा अतिक्रमणको चपेटामा छन् । कतिपय विद्यालयले आर्थिक अभावका कारण मालपोत समेत बुझाउन सकिरहेका छैनन् ।

तर, झापाको कमल–७मा रहेको सरस्वती माध्यमिक विद्यालयले भएको जमिन संरक्षण गर्दै दिगो आर्थिक व्यवस्थापनका लागि खेती गरिरहेको पाइएको छ । प्राविधिक शिक्षा समेत अध्ययन हुने यो विद्यालयले बिद्यार्थीकै सहयोगमा पशुपालन समेत गरिरहेको छ । जहाँ मुर्रा प्रजातिको राँगोदेखि उन्नत र स्थानीय जातका पशु पालेर मनग्ये आम्दानी गरिरहेको प्रधानाध्यापक रुकमान सुब्बाले जानकारी दिए ।

२०१४ सालमा स्थापना भएको यो विद्यालयले आठ कठ्ठा क्षेत्रफलमा ड्रागनफ्रुट खेती गरेको छ भने १० कठ्ठा क्षेत्रफलमा सुपारी खेती गरेको छ । यो संगै १० कठ्ठा क्षेत्रफलमा आँप लगायतका फलफूल खेती गरेको छ । विद्यालयमा दीगो आम्दानीको स्रोत जुटाउन एक हजार चार सय ड्रागनफ्रुटका विरुवा रोपिएको र अहिले फल दिने अवस्थामा पुगेको प्रधानाध्यापक सुब्बाले बताए । आँप समेत फल्न शुरु गरेको तर सुपारी चाँहि भर्खरै रोपिएकाले त्यसलाई रेखदेखको कार्य भइरहेको उनको भनाइ छ । विद्यालयको जमिन साढे ६ विगाह रहेको र अन्य जमिनमा उन्नत जातको घाँस र अन्य वाली लगाउने गरिएको बताइएको छ । जसका लागि छुट्टै एकजना कर्मचारी सम्झौता गरेर राखिएको प्रधानाध्यापक सुब्बाले बताए ।

त्यस्तै विद्यालयको जमिनमा तरकारी खेती समेत गर्ने गरिएको छ । तरकारी खेतीका लागि कोशी प्रदेश सरकारको सहयोगमा टनेल निर्माण गरिएको र गाउँपालिकाले समेत आर्थिक सहयोग गरेपछि बेर्ना उत्पादन गर्दै बिक्री गर्ने गरिएको छ । जसबाट विद्यालयको आयस्रोत जुटाउन सहयोग पुगेको प्रधानाध्यापक सुब्बाले बताए ।

विद्यालयले पशुपालनतर्फ पाँच माउ उन्नत जातका गाई, तीन माउ भंैसी, बोयर बोका, बाख्रा र मुर्रा प्रजातिको राँगो र अन्य लोकल राँगो समेत पालन गरिएको छ– प्रधानाध्यापक सुब्बाले भने– हामीले पालेको राँगाले यहाँका स्थानीयलाई समेत सहज भएको छ ।

किनकि यहाँका स्थानीयले हामीले पालेको मुर्रा प्रजातिको राँगो र अन्य प्रजातिका भैसीलाई बीऊका रुपमा प्रयोगमा ल्याउने गर्नुहुन्छ । त्यस्तै बोयर बोकाले समेत यस क्षेत्रका स्थानीयलाई सहयोग पुगेको छ । प्राविधिक शिक्षा अध्ययनका लागि आउने विद्यार्थीलाई व्यवहारिक ज्ञानसँगै प्राविधिक ज्ञान सिकाउन विद्यालयले खेतीपाती र पशुपालन गरेको तर त्यसले आयस्रोत जुटाउन अहिले सहयोग पुगेको छ– सुब्बाले भने ।

भेटेरिनरी र बाली विज्ञान अध्ययन अध्यापन हुने यो जिल्लाकै पहिलो सामुदायिक बिद्यालय हो । टेक्निकल एजुकेशन इन कम्युनिटी स्कूलका रुपमा रहेको यो विद्यालयमा प्राविधिक धारतर्फ अध्ययन गर्ने बिद्यार्थीको संख्या १२५ रहेको छ भने माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ८ सय रहेको छ । प्राविधिक धारमा बाली विज्ञानतर्फ १८ महिने प्रि–डिप्लोमा, आईएससीएजी तीन वर्षे डिप्लोमाका कक्षा सञ्चालनमा छन् भने १८ महिने भेटेरिनरी प्रि–डिप्लोमाका कक्षा सञ्चालनमा छन् । प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीका लागि सहज होस् भन्ने अभिप्रायले विद्यालयले खेती र पशुपालन गरेको बताइएको छ ।

इभेन्ट परियोजनाबाट एक करोड ५० लाख आर्थिक सहयोग

नेपाल सरकार व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले विद्यालयलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

परियोजनाका पार्ट टु प्रोग्राम अन्तर्गत विद्यालयलाई इभेन्टले आर्थिक सहयोग गरेको हो । परियोजनाले आर्थिक सहयोग गरेसँगै प्राविधिक शिक्षा अध्ययनका लागि विद्यालयले भौतिक पूर्वाधारसहित आवश्यक उपकरण खरिद गरेको प्रधानाध्यापक सुब्बाले बताए ।

इभेन्टकै सहयोगमा विद्यालयले राष्ट्रिय भैसी अनुसन्धान केन्द्रबाट मुर्रा रागो खरिद गरेको र विद्यालयमा मिल्क एनलाइजरसहितका उपकरण खरिद गरिएको छ । योसँगै ड्रागनफ्रुट खेती, सुपारी खेतीसहित पशुपालनमा लगानी गरिएको छ । त्यस्तै इभेन्टकै सहयोगमा चार थान एक्साइड बैट्री खरिद, इन्भटर, एलजी १५ लिटरको रिफ्रिजेनेरेटर गाईको अंगहरुको नमूना, गाईगोठ निर्माण, वाख्रा खोर निर्माण, कुखुराको खोर निर्माण, ८ थान ल्यापटप खरिद गरिएको छ ।

त्यस्तै इन्भटर खरिद, चार थान कम्प्युटर, मिनी टिलर, चाप कटर खरिद, कृषि औजार खरिद गरिएको छ भने डग क्याचर र औषधि, डिस्प्ले वोर्ड, शैक्षिक सामग्री र खेल सामग्री खरिद गरिएको विद्यालयका प्रधानाध्यापक सुब्बाले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले विभिन्न १८ वटा सूचक पार गर्दै अहिले सरस्वती माध्यमिक विद्यालय नमूना विद्यालयका स्थापित भएको सरस्वती माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयका कार्यक्रम संयोजक रवीन बुढाथोकीले बताए ।

ग्रामीण क्षेत्रमा कृषि विद्यालय सञ्चालन गरेसंगै यहाँका आम नागरिकलाई फाइदा पुगेको उनको भनाइ छ । विद्यालयले वाली विज्ञान र भेटेरिनरीका कक्षा सञ्चालन गर्दा वाली र पशुमा लाग्ने रोगका विषयमा विद्यार्थीलाई बुझाउनका लागि खेती र पशुपालनले मद्दत पुगेको बुढाथोकीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here