समृद्ध नेपाल आजको आवश्यकता

0
53

मुलुकमा अभाव, विकृति र विसंगतिहरु बढ्दै गएपछि नेपाली समाजमा निराशा, असन्तुष्टि र आक्रोश बढिरहेको छ । आम नागरिकको यस्तो आक्रोश र असन्तुष्टिलाई सम्बोधन गर्न कुनै राजनीतिक दल वा नेतृत्वको खाँचो हुन्छ । त्यस्तो नेतृत्व जसले नागरिकका चरम असन्तुष्टिलाई सम्बोधन गर्दै सुशासन र भ्रष्टाचारमुक्त व्यवस्थाको स्थापना गर्न सकोस् । आफ्ना असीमित आवश्यकताका माझको कष्टकर जीवन भोगाइलाई सहज बनाउन सकियोस् । त्यसका लागि फेरि पनि राजनीतिक दल र नेताहरुकै भूमिका प्रमुख रहन्छ, तर नागरिकले त्यस्तो भरोसायोग्य, आशा गर्न सकिने र संरक्षण गर्न सक्ने नेता र नेतृत्व पाइरहेका छैनन् । देश र जनताका लागि भन्दै राजनीतिक प्रणाली परिवर्तन गराएको दाबी गर्ने दलहरु जनताप्रति गैरजिम्मेवार देखिएपछि जन्मिएका एक–दुई अनुहारमा आज केही आशा, भरोसा र विश्वास बढ्दै गएको छ ।

वैदिक सनातनी मान्यता अनुसार नायक एक युगमा एकपटक मात्रै जन्मिन्छ । शायद मुलुक र मुलुकबासी त्यही पात्रको प्रतिक्षामा छन् जसले विद्यमान विकृति र विसंगतिको अन्त्य गर्दै सुन्दर, शान्त, विशाल, समृद्ध नेपाल निर्माणको श्रीगणेश गर्न सकून् । गएको निर्वाचनले स्थानीय तहमै भए पनि केही पात्रहरु जन्माएको छ, जसमाथि अजेय शक्तिको स्रोत भनिने नागरिकले आशा र भरोसा गरेका छन् । त्यस्ता पात्रहरुमा काठमाडौं महानगरका प्रमुख बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ यसबेला सर्वाधिक चर्चामा छन् ।

जिम्मेवारी पूरा गर्दै समाज रुपान्तरण गर्ने हुट्हुटीका बीच शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता पूर्वाधारहरुको सुनिश्चितता उनीहरुको लक्ष्य देखिएको छ । सँगै माटोप्रतिको माया, देशभक्ति, इतिहासप्रति गौरवबोध गर्दै सुधारात्मक अग्रसरता देखाएका उनीहरुलाई आमूल परिवर्तन गर्ने दाबी गरेका राजनीतिक दल तथा व्यवस्थामा हालीमुहाली गरेका व्यक्तिहरुको बक्रदृष्टि परेको छ । जनताले अनुभूत गर्ने खालका, जनताका जीवन र दैनिकीसँग गाँसिएका विषयलाई स्थापित गरी छाड्ने उनीहरुको साहसलाई निरपेक्ष नागरिकको ‘हैंसे’ले बलियो बनाउन सक्यो भने अबको केही वर्षपछि हुने निर्वाचनले नव नेतृत्व चयन गर्ने आधार तय गर्नेछ । गएकै संसदीय निर्वाचनले पनि परम्परागत र मूलधारका दलहरुको विकल्पका रुपमा नयाँ अनुहारलाई संसदमा प्रवेश गराइसकेको सन्दर्भले पनि केही आशा जगाएको छ । मर्न थालेको विश्वासलाई पुनर्जाग्रत गर्दै इतिहास, मौलिकता, पुर्खाहरुप्रति गौरवबोध गर्दै स्वाधीन, स्वतन्त्र र सबल राष्ट्रको रुपमा स्थापित गर्न सक्ने अराजकता र अस्थिरता हटाइ सुशासनको प्रत्याभूतिसहितको समृद्ध राष्ट्र निर्माण वर्तमानको पहिलो आवश्यकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here