अर्जुनधारामा विद्यार्थी लक्षित योग तथा मनोपरामर्श कार्यक्रम सम्पन्न

0
101

अर्जुनधारा ।

मानसिक स्वास्थ्यको लागि योग तथा मनोपरामर्श कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजना र विराटनगरस्थित सुमेरु कला सरोवरको संयोजनमा अर्जुनधारा–३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

विशेष गरि विद्यार्थीहरुलाई लक्षित गरि शनिश्चरे आयुर्वेद औषधालयको पहलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्देश्य योग तथा मनोपरामर्शको माध्यमबाट स्वस्थ जीवनयापन बारे जानकारी दिनु रहेको औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक अनिल ठाकुरले जानकारी दिए ।

सहजकर्ताहरु इटहरी आयुर्वेद औषधालयका वरिष्ठ कविराज निरीक्षक चन्द्रकुमार लालकर्ण, मनोचिकित्सक डा.राकेश मेहता र मनोपरामर्शदाता सुशिल रिजालले सहजिकरण गरेको कार्यक्रममा विद्यार्थी, शिक्षक, महिला स्वयंसेवकहरुसहित एक सय १० जना बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा योगको परिभाषा, योगको प्रकार, अष्टाङ्ग योग, व्यक्तित्व, व्यक्तित्वलाई प्रभावित गर्ने कारक तत्वहरु, व्यक्तित्वका मनोवैज्ञानिक निद्र्धारकहरु, स्वास्थ्य, डिप्रेसन, एनजाईटी डिसअर्डरलगायतका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पराजुलीले कार्यक्रमबाट प्राप्त ज्ञान स्वस्थ जीवनशैलीका लागि आवश्यक भएको हुँदा व्यावहारिक जीवनमा प्रयोग गर्न सुझाइन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा.अनिलकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य शनिश्चरे आयुर्वेद औषधालयका प्रमुख ठाकुरले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन निर्देशनालयका वरिष्ठ कविराज निरीक्षक खगेन्द्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here