गोरखा,

पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिनुभयो ।
पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका विषय सूचना बोर्डमा जानकारी दिइएको उहाँले बताउनुभयो ।
“सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी दिइएको छ”, उहाँले भन्नुभयो, “यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रमाा थप सजिलो हुने विश्वास गरिएको छ ।”
धार्चे मनास्लु पर्यटन विकास समितिले पर्यटकीय पदमार्गको विभिन्न पाँच स्थानमा सूचना बोर्ड राखेको उहाँले बताउनुभयो । “अहिले यामगाउँ, काशीगाउँ, धार्चेडाँडा, माछीखोला र यारुबगरमा सूचना बोर्ड राखिएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “बोर्ड राख्नका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशबाट पाँच लाख र गाउँपालिकाबाट एक लाख बजेट प्राप्त भएको थियो ।”






























