भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला भारतीय नोटको प्रचलनमा रोक लगाएपछि त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । नेपालमा भारतीय रुपैयाँको कारोबार गर्ने वैध व्यवसायी रहेकाले उनीहरुसँग रहेको ठूला दरका भारु नोट संकलन तथा व्यवसाय जोखिममा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । खासगरी सीमावर्ती बजारमा सरकारसँग अनुमति लिएर नोट सटहीको कारोबार गर्दै आएका ‘मनी चेन्जरहरु’ समस्यामा परेका हुन् । त्यस बाहेक पनि भारतीय रुपैयाँको कारोबार गर्दै आएका व्यवसायीहरु छन् र उनीहरु एक हजार र पाँच सयसम्मका भारतीय नोट संकलन गर्न समय लाग्ने बताउँदै आएका छन् ।

नेपाल र भारतका बीच आर्थिक, व्यवसायिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको छ । शदीयौंदेखिको यस्तो सम्बन्ध र विगतका सन्धि सम्झौताका आधारमा पनि अति निकट सम्बन्ध रहेको समाज र सरकारको सम्बन्धमा ‘तलमाथि’ नहोस् त्यसतर्फ नेपाल सरकारले विशेष ध्यान दिन जरुरी छ । त्यसका लागि नेपाल सरकारले भारत सरकार र सम्बद्ध पक्षसँग कुटनीतिक एवम् राजनीतिक पहल गर्नुपर्छ । भारतले प्रचलनमा रोक लगाएका नोटहरु संकलन गर्न आफ्ना व्यवसायीलाई समय दिए जस्तै नेपालका वैध व्यवसायी तथा वित्तीय कारोबार गर्नेहरुलाई संकलन गर्ने समय दिनु पर्दछ । त्यसो भयो भने वित्तीय संस्था लगायत वैध कारोबार गर्नेहरुको पुँजी सुरक्षित हुन सक्छ ।
नेपालबाट रोजगारीमा जाने नेपालीको संख्या पनि उल्लेख्य छ । उनीहरुले त्यहाँबाट ल्याउने ठूला नोट नै हुन् । त्यस्ता नोट प्रचलनबाट हटाइँदा उनीहरुको जीवनभरको कमाइ नष्ट हुन्छ । उनीहरुको खुन–पसिनाबाट आर्जित नोट कागजको खोस्टो नहोस् भन्नेतर्फ नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्र बैंक लगायत वित्तीय संस्थाले गम्भीर हुनुपर्छ । कालो धनलाई नियन्त्रण गर्न भारत सरकारले थालेको यो पहल उसका लागि फलदायी होला । तर, हाम्रो सरकारले पनि त्यसतर्फ सोच्नु पर्छ । अर्काको नोट सकंलन गर्नु नहुने सन्देश दिन सकियो भने हाम्रा लागि पनि यो सकारात्मक हुनेछ । नेपालीले उपचार, धार्मिक यात्रा, व्यापार तथा भ्रमणमा जान भारतीय नोट साट्ने भएकाले त्यसबाट बचेको पैसाको सुरक्षा गर्न नेपाल सरकारले सटहीको व्यवस्था मिलाउनुपर्छ । यसो हुन सक्यो भने नेपालीसँग भएको सक्कली र आयस्रोत खुलेको ठूला दरका भारतीय नोट र नेपालीको सुरक्षा हुन्छ । नक्कली नोटको अवैध कारोबार पनि निस्तेज भएर जान्छ ।




























