पक्की पुल नहुँदा सवारी साधन आवागमनमा समस्या 

0
147
कामना प्रसाईं,
अर्जुनधारा । 
मदनपुर–बरफल्याङ–शान्तिपुर सडक खण्ड अन्र्तगत झापाको अर्जुनधारा–१ स्थित ठूलो नेते खोलामा पक्की पुल नहुँदा सवारी साधनहरु आवागमनमा समस्या भएको छ ।
अर्जुनधारा–१स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूह, २स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूह र रोङ–२स्थित बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा पाँच वर्ष अगाडि निर्माण भएको काठको पुल जीर्ण भएपछि सवारी साधनहरु आवागमनमा समस्या भएको हो ।
पुल नहुँदा स्थानीयको दैनिक जीवनयापनमा समस्या हुने गरेको रोङ–२ निवासी आयुष घिमिरेले बताए । उनले वर्षाको समयमा बिरामी लिन आउने एम्बुलेन्स, सामग्री ढुवानी गर्ने सवारी साधन, विद्यार्थीहरुलाई आवागमनमा समस्या हुने गरेको बताए ।
मानिसहरु ओहोरदोहोर गर्न तथा दुई पाङग्रे र तीन पाङग्रे सवारी साधनहरुलाई लक्षित गरि बनाइएको उक्त पुल साँघुरो र जीर्ण भएका कारण दुर्घटनाको जोखिम हुने गरेको सचेत युवा समूह अर्जुनधाराकी सदस्य यमुना ढुंगानाले बताइन् ।
बरफल्याङवासीका लागि सबैभन्दा छोटो बाटोको रुपमा रहेको उक्त खोलामा पक्की पुल निर्माण गर्न स्थानीय सरकारले बेवास्ता गरेका कारण स्थानीय र बरफल्याङवासीका लागि सास्ती भएका चालक सुरज मगरले गुनासो गरेका छन् ।
ठूलो नेते खोलामा पक्की पुल निर्माण गर्न संघीय सरकारबाट बहुवर्षे योजना अन्र्तगत बजेट विनियोजन भएको हुँदा पुल निर्माण हुने अर्जुनधारा नगर सभा सदस्य मदन लिमेल मगरले आश्वासन दिएका छन् ।
यता यस विषयमा रोङ–२का वडाध्यक्ष चन्द्रशेखर घिमिरेले पुल निर्माणको लागि बजेट विनियोजन भई ठेक्का प्रक्रियाको अन्तिम चरणमा पुगेको अवस्थामा प्रदेश सरकारको लापरवाहीका कारण ठेक्का नलागेको आरोप लगाए ।
प्रशिक्षार्थी पत्रकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here