बिर्तामोड ।

रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले झापाको अर्जुनधारा जलेश्वर धाममा डस्टबिन वितरण गरेको छ । नवौँ चार्टर डे को अवसरमा धाम क्षेत्रको सरसफाईका लागि भन्दै डस्टबिन वितरण गरिएको हो ।
शरद जोशीको नेतृत्वमा २०१५ जुलाई २२ मा स्थापना भएको क्लबले मन्दिरलाई ९ थान डस्टबिन उपहार दिएर र वृक्षारोपण कार्यक्रम गरी सामुदायिक सेवामा आफ्नो प्रतिबद्धता जनाउँदै मन्दिर क्षेत्रको सुन्दरतामा सहयोग गरेको बताइएको छ ।
सो अवसरमा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती , मोनिका अग्रवाल, बिर्तामोड मिडटाउन इनर व्हील क्लब र देवभूमिको इन्टरेक्ट लगायतको सहभागिता रहेको थियो ।
रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष्य जितेश अग्रवालले कार्यक्रमको मुख्य उद्देश्य मन्दिर परिसरमा साउनको महिनामा ठूलो सङ्ख्यामा तीर्थयात्रीहरूलाई आउने भएकाले त्यसलाई मध्यनजर गर्दै डस्टबिन उपलब्ध गराएर रोटर्याक्ट क्लबले भक्तजन र आगन्तुकहरूका लागि थप सफा र स्वच्छ वातावरण सुनिश्चित गरेको बताए ।

क्लबले मन्दिर वरपर बेलपत्र, जामुन जस्ता विभिन्न रुख रोपेर हरियालि भविष्यतर्फ पाइला चालेको अध्यक्ष अग्रवालको भनाई छ ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सचिव भिष्म घिमिरेले मन्दिरको आवश्यकता पूरा गर्ने र वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस्ता कार्यक्रमको आयोजना गरिएको बताए ।

अर्जुनधारा जलेश्वर धामका मुख्य पुजारी अग्नि सिग्देलले रोटर्याक्ट क्लबको योगदानप्रति हार्दिक आभार व्यक्त गरे । उनले मन्दिरलाई डस्टबिनको आवश्यकता परिरहेका बेला सहयोग गरेको भन्दै धन्यवाद दिए ।
रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले सेवामा आफ्नो समर्पणलाई पुनः पुष्टि गर्दै समाजमा अर्थपूर्ण परिवर्तन ल्याउन अन्य संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताइएको छ ।































